बडादसैंको सातौं दिन शनिबार बिहान गोरखा दरबारबाट एउटा डोली काठमाडौंका लागि हिँड्यो।
डोलीमा कुनै राजाको चिठी थिएन। न कुनै सरकारी आदेश थियो।
थियो त फूलपाती — दसैंमा देवीको पूजाका लागि संकलन गरिएका विभिन्न वनस्पति।
गोरखा दरबारको दसैंघरमा पूजाआजा सकेर बिहान ९ बजे फूलपातीको डोली बिदाइ गरिएको हो। सुसारेहरूले बाजागाजासहित दरबारबाट बोकेर ल्याएको डोली सरकारी गाडीमा राखेर काठमाडौं पठाइएको थियो।
उक्त फूलपाती शनिबार साँझ काठमाडौंको हनुमानढोका दरबारमा भित्र्याउने परम्परा सम्पन्न भइसकेको छ।
गोरखाबाट काठमाडौं फूलपाती आउने कुनै नौलो घटना होइन। सयौं वर्षदेखि यही परम्परा चल्दै आएको मानिन्छ।
तर यहाँ एउटा प्रश्न उठ्छ।
काठमाडौंमै केरा फल्छ। धान पाक्छ। हलेदो, बेल र अरू वनस्पति पनि पाइन्छन्। देवीको पूजाका लागि चाहिने फूलपाती काठमाडौंमै संकलन गर्न सकिन्छ भने हरेक वर्ष गोरखाबाट किन ल्याउनुपर्यो?
अनि अर्को प्रश्न — पृथ्वीनारायण शाहले काठमाडौं विजय गर्नुअघि यहाँका मल्ल राजाहरूले दसैं कसरी मनाउँथे? उनीहरूको दरबारमा फूलपाती कहाँबाट आउँथ्यो?
यी प्रश्नको उत्तर खोज्दा हामी एउटा रोचक इतिहासमा पुग्छौं।
यो केवल गोरखाबाट काठमाडौं आउने डोलीको कथा होइन। खेतबारीमा उम्रिएका वनस्पति कसरी देवीका प्रतीक बने, ती प्रतीक कसरी राजदरबार पुगे, अनि एउटा राज्यले अर्को राज्य विजय गरेपछि फूलपातीको यात्रा कसरी फेरियो भन्ने कथा पनि हो।
यसका लागि हामी गोरखाबाट हिँडेको र हनुमानढोका दरबारमा भित्र्याइएको डोलीलाई एकछिन त्यतै छाडौं।
पहिले डोलीभित्र के छ, हेरौं।
गोरखा दरबारबाट शनिबार बिहान फूलपाती बिदाइ गरिँदै।
फूलपाती भन्नेबित्तिकै हामी फूल र पात सम्झिन्छौं। तर दसैंको फूलपाती केवल फूल र पातको गुच्छा होइन।
यसको शास्त्रीय नाम हो — नवपत्रिका।
नव भनेको नौ। पत्रिका भनेको पात वा वनस्पतिसँग सम्बन्धित समूह। अर्थात् नौ प्रकारका वनस्पति।
शास्त्रीय परम्परा अनुसार केरा, दारिम अर्थात् अनार, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्तीका पात वा वनस्पति नवपत्रिकामा समावेश गरिन्छन्। ठाउँ र पूजा पद्धति अनुसार यसमा केही भिन्नता पनि पाइन्छ। नेपालका कतिपय विधिमा कर्चुरको सट्टा उखु प्रयोग गरिन्छ।
यी नौ वनस्पतिमा नौ देवीको उपस्थिति मानेर विधिपूर्वक पूजा गर्ने चलन छ।
जस्तै — केरामा ब्राह्मणी, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानेमा चामुण्डा र कर्चुरमा कालिका देवीको उपस्थिति मानेर पूजा गरिन्छ। त्यसैगरी अनारमा रक्तदन्तिका, बेलमा शिवा, अशोकमा शोकहारिणी र जयन्तीमा कार्तिकी देवीको पूजा हुन्छ।
अब प्रश्न आउँछ — देवीको पूजामा यिनै बिरूवा किन चाहियो?
एकछिन यी वनस्पतिको धार्मिक नाम बिर्सेर तिनको सामान्य उपयोग सम्झौं।
धान मानिसको अन्न हो। केरा फल हो। हलेदो भान्सामा प्रयोग हुन्छ। धेरैजसो वनस्पति खेतबारी र वनजंगलमा पाइन्छन्।
यही कारण देवीपूजामा वनस्पतिको प्रयोगलाई केही अध्येताले कृषि संस्कृति र प्रकृतिको उर्वर शक्तिसँग जोडेर व्याख्या गरेका छन्।
यसको अर्थ दसैं सुरूमा किसानको चाड थियो र पछि राजाको चाड बन्यो भन्न खोजेको होइन। तर मानिसले आफूलाई अन्न दिने प्रकृतिलाई पवित्र मानेर पूजा गर्ने पुरानो परम्परासँग नवपत्रिकाको सम्बन्ध हुन सक्ने यसले बुझाउँछ।
संस्कृत धार्मिक साहित्यका अध्येता आरसी हाजराले सन् १९५८ मा प्रकाशित आफ्नो पुस्तक 'स्टडिज इन द उपपुराणज्' मा बृहन्नन्दिकेश्वर पुराणको चर्चा गरेका छन्। त्यससँग सम्बन्धित धार्मिक ग्रन्थहरूमा आश्विन शुक्ल सप्तमीका दिन नवपत्रिकाको पूजा गर्ने विधि पाइन्छ।
बंगालको दुर्गापूजामा पनि नौ वनस्पति प्रयोग गर्ने परम्परा छ। त्यहाँ नवपत्रिकालाई केराको बोटसँग बाँधेर स्नान गराउने र देवीको प्रतिमा नजिक स्थापना गर्ने चलन छ।
नेपालमा यसको विधि केही फरक छ। तर नौ वनस्पतिमा देवीको उपस्थिति मानेर पूजा गर्ने धार्मिक आधार मिल्दोजुल्दो छ।
नवपत्रिकाको यो व्यापक शास्त्रीय परम्परा पहिलो पटक कहाँ र कहिले सुरू भयो भन्ने ठ्याक्कै ऐतिहासिक प्रमाण भने उपलब्ध छैन।
अब यही नवपत्रिका बोकेर हामी काठमाडौं फर्किऔं।
तर आजको काठमाडौं होइन।
करिब चार सय वर्षअघिको काठमाडौं।
तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा पर्ने पुरानो गुह्येश्वरी मन्दिर
त्यति बेला काठमाडौंमा पृथ्वीनारायण शाहको शासन थिएन।
उपत्यकामा मल्ल राजाहरू शासन गर्थे। कान्तिपुर, ललितपुर र भक्तपुर अलग अलग राजनीतिक केन्द्र थिए। तिनका आफ्नै दरबार, देवता र धार्मिक परम्परा थिए।
दसैं भने त्यति बेला पनि मनाइन्थ्यो।
नेपालको राजकीय देवीपूजाबारे अनुसन्धान गरेकी जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयकी अध्येता डा. आस्ट्रिड जोटरका अनुसार नेपालका राजाहरूले कम्तिमा चौधौं शताब्दीदेखि शरद नवरात्रमा देवीको विशेष पूजा गर्दै आएको प्रमाण भेटिन्छ।
काठमाडौंका मल्ल राज्यहरूमा दसैं मोहनीका रूपमा धार्मिक जीवनको महत्त्वपूर्ण हिस्सा थियो। मल्ल राजाहरूका लागि तलेजु भवानी विशेष राजकीय देवी थिइन्।
उनीहरूको दसैंमा अर्को रोचक परम्परा पनि थियो।
काठमाडौं र भक्तपुर अलग राज्य भए पनि दसैं बेला तिनको धार्मिक सम्बन्ध कायम रहन्थ्यो।
जोटरले सन् २०१८ मा प्रकाशित आफ्नो अनुसन्धान 'ह्विच दुर्गा? ह्वाट नवरात्र?' मा मल्लकालीन राजकीय डायरी र पूजाविधिका पुस्तकहरूको अध्ययन गरेकी छन्।
उनका अनुसार काठमाडौं दरबारबाट नवरात्रभर भक्तपुर दरबारका विभिन्न देवीका लागि दैनिक पूजा सामग्री पठाइन्थ्यो।
किन त?
भक्तपुर मल्ल राजाहरूको पुरानो राजकीय केन्द्र थियो। काठमाडौं अलग राज्य बनेपछि पनि त्यसको धार्मिक महत्त्व समाप्त भएको थिएन।
जोटरले त काठमाडौं दरबारलाई धार्मिक दृष्टिले भक्तपुरको शाखाजस्तै रहेको व्याख्या गरेकी छन्।
ध्यान दिनुहोस्, काठमाडौंका मल्ल राजाहरूले आफ्नो पुरानो राजकीय केन्द्र भक्तपुरसँग दसैंमा धार्मिक सम्बन्ध कायम राखेका थिए।
पछि गोरखाका शाह राजाहरूले काठमाडौं विजय गरेपछि गोरखासँग त्यस्तै प्रकारको धार्मिक सम्बन्ध स्थापित भयो।
तर यी दुई अभ्यास एउटै थिएनन्। मल्लकालमा काठमाडौंले भक्तपुरमा पूजा सामग्री पठाउँथ्यो। शाहकालमा गोरखाबाट काठमाडौं फूलपाती ल्याउन थालियो।
अब फेरि मल्लकालको फूलपाती हेरौं।
इतिहासकार महेशराज पन्तले आफ्नो लेख 'दसैंबारे जान्नैपर्ने पाँच तथ्य' मा नेपाल संवत् ७८९ अर्थात् विक्रम संवत् १७२६ मा आश्विन शुक्ल सप्तमीका दिन 'पत्रिकास्थापन' अर्थात् फूलपातीको विधि गरिएको एउटा टिपोट रहेको उल्लेख गरेका छन्।
'अक्सर दसैं मनाउँदा नेवारहरूले फूलपाती गर्दैनन् भन्ने कुरा चल्दै आएको छ। तर काठमाडौं खाल्डोमा उनीहरूले फूलपाती मनाएका केही तथ्य र प्रमाण भेटिएका छन्,' उनी लेख्छन्।
पन्तले उल्लेख गरेको उक्त टिपोट इस्वी संवत् सन् १६६९ को हो।
ध्यान दिनुहोस्, पृथ्वीनारायण शाहले काठमाडौं विजय गर्नुभन्दा झन्डै एक सय वर्षअघिको कुरा गर्दैछौं हामी।
पन्तले मल्लकालमा लेखिएको 'वर्षक्रिया' नामक कर्मकाण्डसम्बन्धी पुस्तकमा पनि फूलपातीको उल्लेख भएको बताएका छन्। यसका लागि उनले गौतमवज्र वज्राचार्यको 'हनुमानढोका राजदरबार' पुस्तकलाई स्रोत मानेका छन्।
यसबाट कम्तिमा एउटा कुरा स्पष्ट हुन्छ।
पृथ्वीनारायण शाहले काठमाडौं विजय गरेपछि यहाँ फूलपातीको विधि सुरू भएको होइन। त्योभन्दा पहिलेदेखि फूलपाती गर्ने धार्मिक अभ्यास थियो।
त्यति बेला फूलपाती कहाँबाट ल्याइन्थ्यो त?
यो प्रश्नले हामीलाई काठमाडौंको उत्तरतर्फ लैजान्छ।
बालाजुभन्दा माथि, गोलढुंगा क्षेत्रतिर।
त्यहाँ एउटा पुरानो धार्मिक स्थल छ — पुरानो गुह्येश्वरी।
हाल तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा पर्ने पुरानो गुह्येश्वरी मन्दिरलाई फूलपातीसँग जोडिन्छ।
तारकेश्वर नगरपालिकाले प्रकाशित गरेको सांस्कृतिक सम्पदासम्बन्धी पुस्तकमा यही पुरानो गुह्येश्वरीबाट काठमाडौंको राजदरबारमा फूलपाती ल्याउने परम्परालाई मल्लकालीन भनिएको छ।
विसं १८२५ मा इन्द्रजात्राका दिन पृथ्वीनारायण शाहले कान्तिपुर विजय प्राप्त गरेपछि फूलपाती, फागुपर्व आदिमा उनले आफ्नो प्रभुत्व दर्साउन प्रयास गरेको उल्लेख छ। यसको एउटा उदाहरणका रूपमा गोलढुंगाको फूलपाती परम्परालाई लिइएको छ।
'त्यसै सालदेखि नै गोरखाबाट धादिङको जीवनपुर हुँदै ल्याइने फूलपाती हनुमानढोका दसैंघरमा भित्र्याउन थालियो,' उक्त पुस्तकमा लेखिएको छ, 'तर पृथ्वीनारायण शाहले कान्तिपुर विजय गर्नुपूर्व हनुमानढोका दसैंघरमा पुरानो गुह्येश्वरीबाट फूलपाती भित्र्याइन्थ्यो। पृथ्वीनारायणको कान्तिपुर विजयपश्चात् पुरानो गुह्येश्वरीबाट हनुमानढोका दसैंघरमा भित्र्याइने फूलपाती परम्परा हिजोआज आझेलेमा पर्न पुगेको देखिन्छ।'
स्थानीय सम्पदा अध्येता देवेन्द्र अर्याल 'आँसु' ले आफ्नो एक लेख 'पुरानो गुह्येश्वरीको मल्लकालीन फूलपाती परम्परा' मा यही ठाउँबाट हनुमानढोका फूलपाती ल्याउने चलनबारे लेखेका छन्।
उनका अनुसार पुरानो गुह्येश्वरीबाट फूलपाती ल्याएर सोह्रखुट्टे, क्षेत्रपाटी र इखापोखरी हुँदै हनुमानढोकाको कडेलचोक भगवतीमा भित्र्याउने परम्परा थियो।
अर्यालले यसलाई मल्लकालीन परम्परा बताएका छन्।
उनको भनाइलाई कडेलचोक भगवतीका तत्कालीन पुजारी बैकुण्ठमान राजलवटको पुरानो बयानले पनि समर्थन गर्छ। राजलवटले पनि पुरानो गुह्येश्वरीबाट धोबीचौर र क्षेत्रपाटी हुँदै ल्याइने फूलपातीलाई मल्लकालीन बताएका छन्।
तर यहाँ इतिहासको एउटा गाँठो छ।
जोटरको अर्को अनुसन्धान अनुसार अहिले कडेलचोकमा रहेकी भगवतीलाई पृथ्वीनारायण शाहले नुवाकोटबाट काठमाडौं ल्याएको मानिन्छ।
अर्थात्, मल्लकालीन भनिएको फूलपाती यात्राको वर्तमान गन्तव्यसँग आफै शाहकालीन इतिहास जोडिएको छ।
त्यसैले पुरानो गुह्येश्वरीबाट आजकै कडेलचोकसम्म, आजकै बाटो र विधिले मल्लकालदेखि फूलपाती ल्याइन्थ्यो भनेर ठोकुवा गर्न मिल्दैन।
मल्लकालमा पत्रिकास्थापन भएको लिखित प्रमाण छ। पुरानो गुह्येश्वरीको फूलपाती यात्रालाई मल्लकालीन मान्ने स्थानीय विवरण पनि छन्। तर वर्तमान यात्राका सबै विधि त्यसै बेलादेखि अपरिवर्तित रहेको समकालीन प्रमाण भेटिएको छैन।
अब गोरखा जाऔं।
त्यहाँ पनि फूलपातीसँग जोडिएको अर्को रोचक कथा छ।
-1792236237.jpg)
गोरखामा शाह राजाहरूको शासन पृथ्वीनारायण शाहभन्दा धेरै पहिलेदेखि थियो।
विसं १६१६ मा द्रव्य शाह गोरखाका राजा भएका थिए। त्यसपछि पूर्ण शाह, छत्र शाह र राम शाह हुँदै राजवंश अगाडि बढ्यो।
इतिहासकार बाबुराम आचार्यको 'नेपालको संक्षिप्त वृत्तान्त' मा गोरखाको राजवंश र फूलपातीसँग जोडिएको रोचक कथा भेटिन्छ।
आचार्यका अनुसार राजा पूर्ण शाहकी कान्छी रानी अम्बावती राजासँग असन्तुष्ट भएर धादिङको सल्यान गाउँमा बस्न गएकी थिइन्।
उनी त्यति बेला गर्भवती थिइन्।
सल्यानमै उनले छोरालाई जन्म दिइन्। नाम राखियो — राम शाह।
पछि गोरखाका राजा छत्र शाहको निधन भएपछि उत्तराधिकारीको प्रश्न उठ्यो।
कसलाई राजा बनाउने?
भारदारहरूको ध्यान सल्यानमा रहेका राजकुमार राम शाहतर्फ गयो।
राम शाहलाई सल्यानबाट गोरखा ल्याइयो। उनी राजसिंहासनमा बसे।
आचार्यका अनुसार यही घटनाको सम्झनामा सल्यानकोटलाई गोरखा राज्यको मूलकोट मानेर त्यहाँबाट फूलपाती ल्याएपछि मात्रै गोरखामा फूलपाती भित्र्याउने चलन बसेको भन्ने अनुश्रुति प्रचलित छ।
यो प्रमाणित इतिहास होइन, जनश्रुति हो। त्यसैले गोरखामा फूलपाती राम शाहले नै सुरू गरेका थिए भन्ने निष्कर्ष निकाल्न मिल्दैन।
यसले फूलपातीको एउटा अर्को अर्थ देखाउँछ — राजाको पुर्ख्यौली सम्बन्ध र पुरानो राजकीय केन्द्रलाई धार्मिक विधिले सम्झिने परम्परा।
अब हाम्रो यात्रामा झन्डै डेढ सय वर्ष अगाडि बढौं।
विसं १८२५।
पृथ्वीनारायण शाहले इन्द्रजात्राका दिन कान्तिपुर विजय गरे। काठमाडौंमा मल्ल राजाको सत्ता समाप्त भयो। गोरखाका शाह राजा नयाँ शासक बने।
पृथ्वीनारायण शाहले काठमाडौं विजय गर्दा यहाँ मल्लकालदेखि चल्दै आएका देवीमन्दिर थिए। पुजारी थिए। तलेजुको पूजा पद्धति थियो। दसैंका राजकीय अनुष्ठान पनि थिए।
अब नयाँ राजाले के गर्ने?
पुराना परम्परा हटाएर सबै नयाँ बनाउने? कि पुरानामाथि आफ्नो राजकीय अभ्यास थप्ने?
यही प्रश्नको उत्तर खोज्न जोटरले मल्ल र शाहकालीन धार्मिक ग्रन्थ तथा अभिलेखहरूको तुलनात्मक अध्ययन गरेकी छन्।
उनका अनुसार शाह राजाहरूले काठमाडौं विजयपछि पुराना मल्लकालीन अनुष्ठानहरू धेरै हदसम्म कायम राखे। त्यसैमा आफ्ना देवी, पुजारी र विधि पनि थपे।
यस अनुसार हनुमानढोकामै दुई फरक धार्मिक अभ्यास सँगसँगै चल्न थाले।
नेवार पुजारीहरूले तलेजु मन्दिर र मूलचोकमा पुरानो परम्परा अनुसार पूजा गर्थे। शाह राजाहरूसँग सम्बन्धित पर्वते ब्राह्मणहरूले दसैंघरमा अर्को विधिबाट पूजा गर्थे।
सप्तमीका दिन गोरखाबाट ल्याइएको फूलपाती नासलचोकमा स्वागत गरिन्थ्यो।
जोटरले यो फूलपाती यात्रालाई काठमाडौंमाथि शाहहरूको विजयको प्रतीकात्मक स्मरणका रूपमा पनि व्याख्या गरेकी छन्।
उनका अनुसार भव्य फूलपाती शोभायात्राले मल्लकालीन तलेजुको राजकीय महत्त्वलाई तुलनात्मक रूपमा छायामा पारेको हुन सक्छ।
तर यो इतिहासकारको व्याख्या हो। पृथ्वीनारायण शाहले त्यही उद्देश्य राखेर फूलपाती ल्याउन आदेश दिएका थिए भन्ने प्रत्यक्ष प्रमाण होइन।
शाहकालमा काठमाडौंको दसैंघरमा नयाँ संरचना पनि थपियो। त्यसको एउटा अनौठो प्रमाण विसं १८४९ को लालमोहर हो।
राजा रणबहादुर शाहले काठमाडौंको मूलचोकमा दसैंघर बनाएको भन्दै लक्ष्मीनारायण पुतुवारलाई सम्मान गरेका थिए।
लालमोहर अनुसार उनलाई ४०१ महेन्द्रमल्ली रूपैयाँ, सिरोपाउ र आठ बन्दुकको सलामी दिइएको थियो। साथै, धार्मिक दानका लागि गुठी स्थापना गर्न कीर्तिपुरको काडोलमा ७५ रोपनी खेत बिर्ता दिइएको थियो।
उक्त लालमोहरलाई पनि जोटरले सम्पादन र अनुवाद गरेर प्रकाशित गरेकी छन्।
यसले शाहकालमा नयाँ दसैं विधि सञ्चालन गर्न दरबारको संरचना र संस्थागत व्यवस्था थपिएको देखाउँछ।
फूलपातीका लागि वनस्पति जुटाउने र नगरा बजाउने मानिसहरूको कथा अझ रोचक छ।
हाइडेलबर्गको 'डकुमेन्टा नेपालिका' अभिलेख संग्रहमा विसं १८६३ को एउटा लालमोहर भेटिन्छ। राजा गीर्वाणयुद्धविक्रम शाहको पालाको त्यो आदेश सर्वजीत नाउ नामका व्यक्तिलाई दिइएको थियो।
उनलाई गोरखामा बडादसैं र चैते दसैंका लागि आवश्यक फूल तथा वनस्पति जुटाउने जिम्मेवारीसहित जग्गा उपभोगको व्यवस्था गरिएको थियो।
त्यही सालको अर्को लालमोहरमा गजभार्या दमाईलाई गोरखा दरबारकी कालिका देवीको नगरा बजाउने जिम्मेवारी दिइएको छ।
अर्थात्, दरबारमा नगरा बजाउनु केवल चाडपर्वमा मन लागेर बाजा बजाउने काम थिएन। त्यो सुविधासहितको संस्थागत जिम्मेवारी थियो।
यसरी दसैंको राजकीय समारोहमा पुजारी, वनस्पति संकलक, बाजा बजाउने व्यक्ति र डोली बोक्ने विभिन्न समुदायको सहभागिता हुन्थ्यो।
त्यति बेला गोरखाबाट काठमाडौं फूलपाती पनि बोकेरै ल्याइन्थ्यो।
पुराना विवरण अनुसार गोरखाबाट मगर समुदायका व्यक्तिहरूले धादिङको जीवनपुर क्षेत्रसम्म फूलपाती ल्याउँथे। त्यहाँबाट काठमाडौंका पुजारी र सम्बन्धित व्यक्तिहरूको टोलीले जिम्मा लिएर काठमाडौं पुर्याउँथ्यो।
अहिले सडक यातायात विस्तार भएपछि त्यो यात्रा गाडीबाट हुन्छ।
यसको राजकीय तामझाम भने अझै कायम छ।
-1792236236.jpg)
अब फेरि कडेलचोक भगवतीमा फर्कौं।
जोटरले सम्पादन गरेको विसं १८६७ को अर्को रूक्का (लिखित आदेश) ले त्यहाँको दसैं पूजाको आर्थिक व्यवस्था कसरी चल्थ्यो भन्ने देखाउँछ।
राजा गीर्वाणयुद्धविक्रम शाहको आदेश अनुसार पहिले नवरात्रमा पूजाका सामग्री दरबारबाट ल्याइन्थ्यो। विसं १८६८ देखि भने मन्दिरकै आम्दानीबाट ती सामग्री जुटाउनुपर्ने भयो।
यसका लागि नौवटा पसलको भाडा, जग्गासँग सम्बन्धित आम्दानी र दर्शनभेटसमेत गरी ४५ रूपैयाँ ३ पैसाको हिसाब उल्लेख छ।
अर्थात्, दसैंमा देवीलाई के चढाउने भन्ने धार्मिक विधि मात्रै थिएन। त्यसको खर्च कसले तिर्ने भन्नेसमेत राजकीय आदेशबाट व्यवस्थित गरिन्थ्यो।
समयसँगै यस्ता आर्थिक व्यवस्था फेरिए।
यता गोरखाबाट ल्याइने फूलपातीले राजकीय सम्मान पाउँदै गएपछि पुरानो गुह्येश्वरीबाट फूलपाती ल्याउने चलन ओझेलमा पर्दै गएको देखिन्छ।
गोरखाबाट फूलपातीको डोली आउँदा त्यसको स्वागतमा बाजागाजा बज्न थाले। सैनिक टोली र सरकारी अधिकारीहरू सहभागी हुन थाले। हनुमानढोकामा फूलपाती भित्र्याउनु एउटा भव्य राजकीय समारोह बन्यो।
पुरानो गुह्येश्वरीको फूलपाती भने त्यो तामझामको छायामा पर्दै गयो।
यसको अर्थ पुरानो परम्परा समाप्त भयो भन्ने होइन। स्थानीय पुजारी र समुदायले त्यसलाई निरन्तरता दिइरहे। तर गोरखाबाट आउने फूलपातीको तुलनामा त्यसले सार्वजनिक चर्चा र राजकीय प्राथमिकता पाउन सकेन।
यसरी एउटै हनुमानढोकामा भित्रिने दुई फूलपातीको इतिहास फरक छ। एउटा पुरानो स्थानीय धार्मिक परम्परासँग जोडिएको छ, अर्को गोरखाबाट काठमाडौंसम्म फैलिएको शाह राजाहरूको सत्तासँग।
इतिहासकार आस्ट्रिड जोटरको अनुसन्धानले पनि शाहकालमा मल्ल राजाहरूका पुराना धार्मिक अभ्यास पूरै हटाइएनन् भन्ने देखाउँछ। तर नयाँ राजाहरूले आफ्ना देवी, पुजारी र पूजा विधि थपेपछि पुराना अनुष्ठानको राजकीय महत्त्व र प्राथमिकतामा परिवर्तन आयो।
पुरानो गुह्येश्वरीको फूलपाती ओझेलमा पर्नुलाई यही व्यापक ऐतिहासिक परिवर्तनसँग जोडेर बुझ्न सकिन्छ।
-1792236237.jpg)
समय अझै अगाडि बढ्यो।
विसं २०६५ सालमा नेपालबाट राजतन्त्र नै समाप्त भयो।
गोरखाबाट काठमाडौं शासन गर्न आएको शाहवंशको राजकीय सत्ता इतिहास बन्यो।
राजाको उपस्थितिमा हुने कतिपय धार्मिक अनुष्ठानको स्वरूप फेरियो। बजेट र जनशक्तिको व्यवस्थामा पनि परिवर्तन आयो।
तर गोरखाबाट फूलपाती ल्याउने चलन रोकिएन।
राजा रहेनन्। हनुमानढोकाबाट शासन सञ्चालन हुन छाडेको पनि धेरै भइसकेको थियो। तैपनि हरेक वर्ष दसैंको सातौं दिन गोरखाबाट फूलपातीको डोली काठमाडौं आउँछ।
यसले एउटा रोचक कुरा देखाउँछ।
कुनै बेला राजाको सत्ता र धार्मिक वैधतासँग जोडिएको अभ्यास समयसँगै सांस्कृतिक परम्पराका रूपमा जीवित रहन सक्छ।
त्यसैले आज गोरखाबाट फूलपाती किन ल्याइन्छ भन्ने प्रश्नको उत्तर केवल धर्ममा खोजेर पुग्दैन।
त्यसमा गोरखाको पुर्ख्यौली राजकीय केन्द्र र काठमाडौंको नयाँ शासन केन्द्रबीचको सम्बन्ध छ। पृथ्वीनारायण शाहको विजयपछि स्थापित नयाँ राजकीय परम्परा छ। अनि त्यसअघि नै काठमाडौंमा चल्दै आएका धार्मिक अभ्यासको इतिहास पनि छ।
यो केवल फूलपातीको कथा होइन। एउटा राज्यले अर्को राज्य विजय गर्दा राजाका साथसाथै धार्मिक परम्पराको महत्त्व र स्थान कसरी फेरिन्छ भन्ने कथा पनि हो।
आज गोरखाबाट काठमाडौं राजा आउँदैनन्।
तर फूलपाती आउँछ।
अनि हरेक वर्ष त्यससँगै नेपालको इतिहासको एउटा पुरानो अध्याय पनि हनुमानढोकामा भित्रिन्छ।
***