भर्खरै सुनसरीको देवानगन्जमा भएको साम्प्रदायिक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धेरैले प्रतिक्रिया दिए — नेपालमा पहिलो पटक यस्तो घटना भयो!
मधेसमा साम्प्रदायिक द्वन्द्वको इतिहासबारे चर्चा गर्दा पनि धेरैजसो मानिसको धारणा देखिन्छ — यहाँ मुख्यतः जातीय वा क्षेत्रीय पहिचानका आधारमा, अर्थात् मधेसी र पहाडी समुदायबीच मात्र द्वन्द्व हुँदै आएका छन्।
तर गहिरिएर इतिहास हेर्दा यस्तो निष्कर्ष पूर्णतः सही देखिँदैन। इतिहासप्रति अपरिचित मानसिकताको परिणामले यस्ता धारणा जन्मिएका हुन्।
वास्तवमा पहाडी र मधेसी समुदायबीच प्रत्यक्ष द्वन्द्वका घटना तुलनात्मक रूपमा निकै कम छन्। ती पनि मुख्यतः पछिल्ला केही दशकमा फाट्टफुट्ट देखिएका हुन्।
यसको विपरीत, पूर्वदेखि पश्चिमसम्म फैलिएको मधेसमा हिन्दु र मुसलमान समुदायबीच समय समयमा धार्मिक तनाव र साम्प्रदायिक द्वन्द्वका घटना दोहोरिँदै आएका छन्।
नेपालमा हिन्दु–मुसलमान सम्बन्ध सधैं पूर्णतः द्वन्द्वरहित थियो भन्ने बुझाइ तथ्यसँग मेल खाँदैन। यस्ता घटना विगतमा पनि भएका छन्, तर तिनको व्यवस्थित अभिलेख, अध्ययन र सार्वजनिक बहसको अभावका कारण नयाँ पुस्ताले तिनबारे पर्याप्त जानकारी पाएको छैन।
यही ऐतिहासिक रिक्तता केही हदसम्म पूर्ति गर्ने उद्देश्यले यो लेख तयार गरिएको हो।
मधेसको सामाजिक इतिहास बुझ्न जातीय सम्बन्धसँगै धार्मिक सम्बन्धको इतिहास पनि समान गम्भीरतासाथ अध्ययन गर्न आवश्यक छ। त्यसैले यो लेखको सुरूमा म यी साम्प्रदायिक घटनाक्रम र तिनको पृष्ठभूमिबारे कुरा गर्नेछु।
त्यसपछि, बढ्दो क्रममा देखिन थालेका यी घटनाहरूसँग जोडिएका राजनीतिक, सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारण विश्लेषण गर्नेछु।
ऐतिहासिक रूपमा हेर्दा मधेस लामो समयसम्म तुलनात्मक रूपमा धार्मिक सहअस्तित्व भएको क्षेत्र रह्यो। राजाको सक्रिय नेतृत्व रहेको पञ्चायती व्यवस्था (वि.सं. २०१७–२०४६) को समयमा मधेसी समुदायले नागरिकता, राज्यको प्रतिनिधित्व र सांस्कृतिक विभेदका अनेक पीडा भोग्यो। त्यसबाट क्षेत्रीय असन्तुष्टि र राजनीतिक आक्रोश जन्मियो। तर अपवादबाहेक व्यापक हिन्दु–मुसलमान साम्प्रदायिक हिंसामा त्यो रूपान्तरण भएन।
तर दोस्रो जनआन्दोलन, शान्ति प्रक्रिया, मधेस आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमसँगै परिस्थिति क्रमशः बदलिँदै गयो।
मेरो बुझाइमा, यही अवधिदेखि राज्यसत्ता र विभिन्न राजनीतिक शक्तिहरूले आ–आफ्ना स्वार्थ अनुसार समाजभित्र नयाँ प्रकारका विभाजनका रेखा कोर्ने प्रयास गरे। 'चुरे–भावर', 'मधेसी विरूद्ध मुसलमान' र 'मधेसी विरूद्ध थारू' जस्ता विभाजनकारी राजनीतिक विमर्शहरू क्रमशः अगाडि सारिए।
यस प्रक्रियामा विशेषतः केही कम्युनिस्ट दलहरूको भूमिका बढी कुटिल देखिन्छ। यस विषयमा प्रमाण र सन्दर्भसहित छुट्टै विस्तृत बहस गर्न सकिन्छ। त्यसमा प्रवेश गर्नु यो लेखको उद्देश्य होइन।
यो लेखको उद्देश्य कुनै समुदायप्रति पूर्वाग्रह सिर्जना गर्नु वा कसैलाई दोषी ठहर गर्नु पनि होइन। बरू मधेसमा भएका साम्प्रदायिक घटनालाई ऐतिहासिक क्रम, राजनीतिक पृष्ठभूमि र सामाजिक यथार्थका आधारमा अभिलेखीकरण गर्नु हो — ताकि नयाँ राजनीतिक पुस्ता, विशेषगरी आजको जेनजीले विगतका घटनालाई तथ्यका आधारमा बुझ्न सकोस्।
इतिहास बिर्सिएर वर्तमान बुझ्न सकिँदैन। र, इतिहास विकृत बनाएर भविष्य सुरक्षित गर्न सकिँदैन।
यो लेखमा उल्लिखित घटनाहरू कुनै समुदायलाई दोषी ठहर गर्न वा कुनै पक्षको पक्षपोषण गर्न प्रस्तुत गरिएको होइन। इतिहासको अभिलेखलाई यथासम्भव तथ्यका आधारमा स्मरण गराउने र घटनाहरूलाई उनीहरूको राजनीतिक तथा सामाजिक सन्दर्भसहित बुझ्ने प्रयास मात्र गरिएको हो।
१. पहिलो दंगा– रौतहटको 'गाई काण्ड' (सन् १९७१/वि.सं. २०२७–२८)
अहिलेसम्म उपलब्ध स्रोत–साधन, मौखिक इतिहास तथा मेरो आफ्नै अध्ययनका आधारमा हेर्दा नेपालमा हिन्दु–मुसलमान समुदायबीच भएको पहिलो ठूलो साम्प्रदायिक दंगा पञ्चायती व्यवस्थाको समयमा, सन् १९७१ (वि.सं. २०२७–२८) तिर रौतहट जिल्लामा भएको देखिन्छ। स्थानीय रूपमा यो घटना 'गाई काण्ड' का नामले परिचित छ।
घटनाको मूल कारण 'मुसलमान समुदायले गाई काटेको हल्ला तीव्र फैलिएको' भन्ने उल्लेख पाइन्छ। उक्त हल्लाले हिन्दु समुदायमा व्यापक आक्रोश उत्पन्न गरायो। त्यसपछि दुवै समुदायबीच तनाव, झडप तथा साम्प्रदायिक द्वन्द्वको अवस्था सिर्जना भयो।
उपलब्ध विवरण सीमित भएकाले घटनाका सबै पक्षबारे निश्चित निष्कर्षमा पुग्न कठिन छ। तैपनि यो घटनाले मधेसमा धार्मिक सम्बन्धको इतिहासमा एउटा नयाँ मोड ल्याएको देखिन्छ।
दुर्भाग्यवश, 'गाई काण्ड' सम्बन्धी विस्तृत सरकारी अभिलेख, तत्कालीन अनुसन्धान प्रतिवेदन वा त्यस समय प्रकाशित समाचार सामग्री आज सार्वजनिक रूपमा सहजै उपलब्ध छैनन्। यही कारण पनि यो घटना नेपालको सार्वजनिक इतिहासमा अपेक्षाकृत ओझेलमा परेको छ।
तर मेरो अध्ययन, विभिन्न ऐतिहासिक सन्दर्भ र स्थानीय स्मृतिका आधारमा हेर्दा, नेपालमा हिन्दु–मुसलमान समुदायबीच संगठित रूपमा साम्प्रदायिक तनाव र हिंसात्मक झडप देखिएको पहिलो ठूलो घटना यही नै हो भन्ने लाग्छ।
यो घटनाअघि हिन्दु–मुसलमान समुदायबीच सम्बन्ध सामान्यतः शान्तिपूर्ण, सहअस्तित्वमा आधारित र भाइचारापूर्ण भएको पाइन्छ। स्थानीय स्तरमा सानातिना विवाद समय समयमा हुन सक्थे, तर ती संगठित साम्प्रदायिक हिंसामा परिणत भएका प्रमाण अहिलेसम्म भेटिएका छैनन्। त्यस अर्थमा रौतहटको 'गाई काण्ड' नेपालमा धार्मिक सम्बन्धको इतिहासमा एउटा महत्त्वपूर्ण मोडका रूपमा स्मरण गर्नुपर्ने घटना हो।
त्यसपछि करिब दुई दशकसम्म ठूलो स्तरको हिन्दु–मुसलमान साम्प्रदायिक दंगा भएको उल्लेखनीय अभिलेख भेटिँदैन। यद्यपि सन् १९९० दशकमा बाँकेको नेपालगन्जमा हिन्दु–मुसलमानबीच तनावका केही छिटफुट घटना भए। विशेषतः भारतमा बाबरी मस्जिद विध्वंसपछिको क्षेत्रीय प्रभाव नेपालसम्म पनि पुगेको देखिन्छ। सन् १९९४–९५ तिर देखिएका ती घटनाले ठूलो स्तरको साम्प्रदायिक हिंसा वा व्यापक भौतिक क्षतिको रूप भने लिन पाएनन्।
यो घटनासँग सम्बन्धित थप ऐतिहासिक सामग्री, प्रत्यक्षदर्शीका विवरण र सरकारी अभिलेख भविष्यमा अझ सार्वजनिक हुँदै गए भने थप गहिरो अध्ययन सम्भव हुँदै जानेछ।
२. संक्रमणकालका दुई ठूला दंगाहरू
नेपालगन्ज दंगा (पुस १०–११, २०६३ / डिसेम्बर २५, २००६)
दोस्रो जनआन्दोलनपछि देश संक्रमणकालीन राजनीतिक अवस्थाबाट गुज्रिरहेको थियो। अन्तरिम संविधान निर्माण, शान्ति प्रक्रिया र मधेसमा बढ्दो असन्तुष्टिबीच राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको थियो।
त्यही संवेदनशील पृष्ठभूमिमा नेपालगन्जमा २०६३ पुस १०–११ गते नेपालकै चर्चित साम्प्रदायिक दंगामध्ये एक घटना भयो। यो दंगा मधेस आन्दोलनको औपचारिक विस्फोट हुनुभन्दा ठिकअघिको राजनीतिक उथलपुथलसँग प्रत्यक्ष रूपमा जोडिएको थियो।
घटनाको प्रारम्भ नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) ले अन्तरिम संविधानको विरोधमा गरेको तराई बन्दबाट भएको थियो। बन्द क्रममा केही सवारी साधन तोडफोड भएपछि स्थानीय रूपमा पहाडी र मधेसी समुदायबीच तनाव बढ्न थाल्यो। मेरो बुझाइमा, प्रारम्भिक विवादको स्वरूप मूलतः पहाडी र मधेसी समुदायबीचको राजनीतिक तथा क्षेत्रीय तनावसँग सम्बन्धित थियो। तर त्यसपछि घटनाक्रमले अप्रत्यासित मोड लियो।
मेरो अध्ययन र विश्लेषण अनुसार, केही प्रभावशाली तथा संगठित तत्वहरूले यो राजनीतिक तथा जातीय तनावलाई योजनाबद्ध रूपमा हिन्दु–मुसलमान साम्प्रदायिक द्वन्द्वतर्फ मोड्ने काम गरे। परिणामतः प्रारम्भिक विवादको चरित्र परिवर्तन भयो र हिंसाले धार्मिक स्वरूप ग्रहण गर्न थाल्यो।
पुस १० गतेदेखि नेपालगन्जका विभिन्न क्षेत्रमा हिंसा फैलियो। तोडफोड, आगजनी र लुटपाटका घटना बढ्दै गए। प्रशासनले कर्फ्यु लगाए पनि स्थिति तत्काल नियन्त्रणमा आउन सकेन। प्रहरीको गोली लागेर कमल गिरी नामका एक युवकको मृत्यु भयो, २६ जना घाइते भए र २११ वटा घर तथा पसलमा क्षति पुगेको विवरण सार्वजनिक भएका छन्। आक्रमणको मुख्य निशानामा मुस्लिम समुदायका बजार, पसल र मस्जिदहरू परे।
यही घटनाबाट एउटा गम्भीर राजनीतिक प्रवृत्ति स्पष्ट देखिन्छ। मधेस आन्दोलनको पृष्ठभूमिमा विकसित मधेसी–पहाडी तनाव बिस्तारै हिन्दु–मुसलमान साम्प्रदायिक द्वन्द्वको रूपमा पुनः परिभाषित गरियो। यसले वास्तविक राजनीतिक प्रश्नहरू ओझेलमा परे भने धार्मिक ध्रुवीकरणले तीव्रता पायो।
त्यसैले नेपालगन्ज दंगालाई केवल साम्प्रदायिक घटना भनेर बुझ्नु पर्याप्त हुँदैन। यसको राजनीतिक पृष्ठभूमि र प्रारम्भिक कारण पनि सँगसँगै हेर्न आवश्यक छ। नेपालगन्ज दंगा मधेसको राजनीतिक इतिहासमा पनि एउटा निर्णायक मोडका रूपमा अध्ययन गरिनुपर्छ।
दुःखको कुरा, यो घटनामाथि गम्भीर सार्वजनिक बहस हुन सकेन।
आज राज्यसत्तामा रहेका धेरै राजनीतिक शक्ति र नीति–निर्माताहरू पनि यस घटनाको वास्तविक राजनीतिक पृष्ठभूमिबारे खुला छलफल गर्न रूचाउँदैनन्। अझ गम्भीर कुरा, यस घटनासँग सम्बन्धित सरकारी छानबिन प्रतिवेदन आज सहज रूपमा उपलब्ध छैन। ती अभिलेख सार्वजनिक गरिए भने नेपालगन्ज दंगाको वास्तविक प्रकृति र त्यसको राजनीतिक पृष्ठभूमिबारे अझ वस्तुनिष्ठ अध्ययन सम्भव हुने थियो।
(ख) कपिलवस्तुको चन्द्रौटा दंगा (वि.सं. २०६४ भदौ ३०–असोज ४/ सेप्टेम्बर १६–२१, २००७)
नेपालगन्ज दंगाको करिब ९ महिनापछि कपिलवस्तु जिल्लाको चन्द्रौटा, कृष्णनगर र आसपासका क्षेत्रमा अर्को ठूलो साम्प्रदायिक हिंसा भड्कियो। २०६४ भदौ ३० देखि असोज ४ (सेप्टेम्बर १६–२१, २००७) सम्म फैलिएको यो घटना नेपालको संक्रमणकालीन इतिहासकै सबभन्दा गम्भीर साम्प्रदायिक दंगामध्ये एक मानिन्छ। यसको प्रभाव कपिलवस्तुमा मात्र सीमित रहेन; दाङ र रूपन्देहीसम्म फैलियो।
यो घटनाको तत्कालीन कारण स्थानीय मुस्लिम नेता तथा पुराना जमिनदार मोहित खानको हत्या थियो। उनी नेपाली कांग्रेससँग आबद्ध थिए र तत्कालीन माओवादीविरूद्ध गठित प्रतिकार समितिसँग पनि जोडिएका थिए। भदौ ३० गते बालपुरमा अज्ञात बन्दुकधारी समूहले उनलाई गोली हानी हत्या गर्यो।
घटनाको जिम्मेवारी कसैले सार्वजनिक रूपमा लिएन। तर स्थानीय स्तरमा मोहित खान र माओवादीबीच लामो समयदेखि राजनीतिक तथा सशस्त्र द्वन्द्व रहेको चर्चा व्यापक थियो। त्यसैले हत्या माओवादीसँगको पुरानो द्वन्द्वको निरन्तरता हुन सक्ने बलियो आशंका थियो।
मोहित खानको हत्याको खबर फैलिनासाथ चन्द्रौटा, कृष्णनगर र आसपासका गाउँमा हिंसा भड्कियो। घर, पसल, सवारी साधन र सार्वजनिक सम्पत्तिमाथि आगजनी तथा लुटपाटका घटना सुरू भए। हिंसा बिस्तारै दाङ र रूपन्देहीका केही क्षेत्रमा पनि फैलियो।
प्रारम्भिक चरणमा मोहित खानका समर्थकले आक्रोशमा पर्वते समुदायसँग सम्बन्धित सम्पत्तिमाथि आक्रमण गरेका थिए। तर त्यसपछि प्रतिशोधको चक्र अझ उग्र बन्दै गयो र हिंसाको स्वरूप व्यापक साम्प्रदायिक द्वन्द्वमा परिणत भयो।
उक्त घटनामा १४ जनाले ज्यान गुमाए। प्रारम्भिक दिनमा मारिनेमध्ये धेरैजसो पर्वते समुदायका थिए। त्यसपछि भएको प्रतिशोधात्मक हिंसामा मुसलमान र अन्य मधेसी समुदायका मानिस पनि मारिए।
त्यस चरणमा माओवादी समूहसँग जोडिएका तत्वहरूको संलग्नताबारे गम्भीर प्रश्न उठेका थिए। तीन सयभन्दा बढी घर तथा पसल जलेर नष्ट भए, पाँचवटा मस्जिदमा तोडफोड गरियो र हजारौं मानिस आफ्नै घर छाडेर विस्थापित हुन बाध्य भए।
त्यो घटनालाई सतही रूपमा हेर्दा हिन्दु–मुसलमान साम्प्रदायिक दंगाका रूपमा मात्र बुझ्न सकिन्छ। तर यसको जरो त्यति सरल थिएन। यसको प्रारम्भ एउटा राजनीतिक हत्याबाट भएको थियो, जसमा स्थानीय शक्ति–सन्तुलन, माओवादी सशस्त्र द्वन्द्वको पृष्ठभूमि, मधेस आन्दोलनको प्रभाव र संक्रमणकालीन अस्थिरता सबै गाँसिएका थिए। त्यसपछि प्रतिशोध, अफवाह, भीडको मनोविज्ञान र राजनीतिक ध्रुवीकरणले घटनालाई धार्मिक रूप दिँदै गयो।
नेपालगन्ज दंगाजस्तै कपिलवस्तुको चन्द्रौटा घटनाले पनि एउटा गम्भीर प्रश्न उठाउँछ — के यी घटनाको वास्तविक जरो केवल धार्मिक थियो, वा राजनीतिक द्वन्द्वलाई क्रमशः साम्प्रदायिक रूप दिइयो?
मेरो अध्ययनले दोस्रो पक्षतर्फ बढी संकेत गर्छ।
यही कारण नेपालगन्ज र चन्द्रौटा दुवै घटनालाई एउटै ऐतिहासिक शृंखलाका रूपमा अध्ययन गर्नु आवश्यक छ। दुवै घटनाले संक्रमणकालीन नेपालको राजनीति, मधेसको बदलिँदो सामाजिक संरचना र साम्प्रदायिक सम्बन्धमा परेको प्रभावलाई बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्छन्।
३. नयाँ संविधान (२०७२) पछाडिको स्थिति
नेपालको नयाँ संविधान जारी भएपछि (वि.सं. २०७२) मधेस आन्दोलनको तीव्रता क्रमशः घट्दै गयो। तर त्यससँगै तराई–मधेसमा अर्को प्रकारको सामाजिक तनाव सतहमा देखिन थाल्यो।
पहिले मुख्यतः राजनीतिक, क्षेत्रीय र जातीय असन्तुष्टिका रूपमा देखिने विवाद बिस्तारै धार्मिक पहिचानसँग गाँसिन थाले। स्थानीय स्तरका सानातिना विवादले पनि हिन्दु–मुसलमान सम्बन्धलाई प्रभावित गर्ने प्रवृत्ति बढ्दै गयो।
यस अवधिको प्रारम्भिक उल्लेखनीय घटनामध्ये कपिलवस्तुको बसबरियामा दुर्गा पूजाको मूर्ति विसर्जन क्रममा भएको हिन्दु–मुसलमान झडप पनि एक हो। उक्त घटनामा एक जनाको ज्यान गयो भने एक सयभन्दा बढी मुस्लिम परिवार गाउँ छाडेर विस्थापित हुन बाध्य भए।
यसले धार्मिक विवादले स्थानीय समाजलाई कति गहिरो असर पार्न सक्छ भन्ने देखायो।
सन् २०१९ देखि २०२४ सम्म रौतहट, सर्लाही, धनुषा, महोत्तरी, बारा, वीरगन्ज, सप्तरी र सुनसरी लगायत जिल्लामा धार्मिक चाडपर्वका अवसरमा पटक पटक तनाव उत्पन्न भएको देखिएको छ। सरस्वती पूजा, रामनवमी, छठ, विश्वकर्मा पूजा, मोहर्रम लगायत अवसरमा धार्मिक झन्डा, जुलुस, अबिर, डिजे तथा लाउडस्पिकर प्रयोगलाई लिएर विवाद उत्पन्न भएका छन्। कतिपय स्थानमा ती विवाद सामान्य झडपमै सीमित रहे। कतै हिंसात्मक रूप लिए।
यी घटनालाई एक–एकवटा छुट्टाछुट्टै स्थानीय विवादका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। यिनलाई समग्र रूपमा हेर्दा, तराई–मधेसमा धार्मिक ध्रुवीकरण क्रमशः बढ्दै गएको एउटा नयाँ सामाजिक प्रवृत्ति देखिन्छ। पहिले अपवाद मानिने साम्प्रदायिक तनाव अब विभिन्न जिल्लामा दोहोरिने क्रम देखिन थालेको छ।
विशेषतः सन् २०२४ देखि २०२६ सम्म आइपुग्दा धार्मिक विद्वेषसँग सम्बन्धित घटना उल्लेखनीय बढेका छन्। सन् २०२२ मा यस्तो एउटा मात्र उल्लेखनीय घटना भएको थियो। सन् २०२४ मा यस्ता घटनाको संख्या आठ पुगेको छ। सन् २०२५ मा तीनवटा र सन् २०२६ का प्रारम्भिक महिनामै दर्जनौं घटना सार्वजनिक भइसकेका छन्। सुनसरी घटना यही क्रमको पछिल्लो र गम्भीर उदाहरणका रूपमा देखिन्छ।
आज तराई–मधेसका धेरै स्थानमा धार्मिक झन्डा, जुलुस, डिजे, लाउडस्पिकर र धार्मिक स्थलसँग सम्बन्धित विवाद सामान्य सामाजिक असहमतिमा सीमित नरही साम्प्रदायिक तनावमा रूपान्तरण हुने जोखिम बढ्दै गएको छ। यसको पछाडि सीमापारको प्रभाव, सामाजिक सञ्जालमार्फत फैलिने उत्तेजक प्रचार तथा स्थानीय धार्मिक–सामाजिक संगठनहरूको बढ्दो सक्रियता नजरअन्दाज गर्न सकिँदैन।
तराई–मधेसको साम्प्रदायिक इतिहासलाई दुई फरक चरणमा बुझ्नुपर्छ।
पहिलो चरणमा यहाँका अधिकांश द्वन्द्व राजनीतिक, क्षेत्रीय र जातीय स्वरूपका थिए। दोस्रो चरणमा धार्मिक पहिचान क्रमशः मुख्य विमर्श बन्दै गएको देखिन्छ।
हिन्दू–मुसलमान बीचको तनाव पछिल्लो एक–डेढ दशकमा तीव्र बढ्दै गएको छ। यो परिवर्तन आकस्मिक होइन; यसका पछाडि सामाजिक, आर्थिक, राजनीतिक र सीमापार प्रभावहरू एकअर्कासँग गाँसिएका छन्।
अब प्रश्न उठ्छ — यो परिवर्तन किन भयो? आर्थिक अभाव, बेरोजगारी, सामाजिक असन्तुष्टि, बाह्य प्रभाव, सामाजिक सञ्जाल, राजनीतिक स्वार्थ र राज्यका कमजोरीहरू कसरी एकअर्कासँग गाँसिएर साम्प्रदायिक तनावको आधार बने?
हिंसा भड्किनुका कारणहरू
कुनै पनि साम्प्रदायिक हिंसा आकस्मिक रूपमा जन्मिँदैन। त्यसका पछाडि लामो समयदेखि थुप्रिँदै आएका आर्थिक, सामाजिक, राजनीतिक र मनोवैज्ञानिक कारण हुन्छन्। एउटा सानो घटना वा अफवाह त्यसको तात्कालिक बहाना मात्र बन्छ; वास्तविक कारण धेरै गहिराइमा लुकेका हुन्छन्।
तराई–मधेसको साम्प्रदायिक इतिहास हेर्दा पनि यही निष्कर्षमा पुग्न सकिन्छ।
लामो समयसम्म यहाँका अधिकांश द्वन्द्व जातीय, क्षेत्रीय वा राजनीतिक प्रकृतिका थिए। हिन्दु–मुसलमानबीचको धार्मिक तनाव पछिल्लो एक–डेढ दशकमा मात्र तीव्र रूपमा सतहमा आएको देखिन्छ। यो परिवर्तन कुनै एउटा कारणले मात्र भएको होइन। स्थानीय असन्तुष्टि, सीमापारको प्रभाव, सामाजिक सञ्जाल, राजनीतिक स्वार्थ र राज्यको कमजोर उपस्थितिले एकअर्कालाई बल पुर्याउँदै अहिलेको अवस्था निर्माण गरेको देखिन्छ।
क) आर्थिक असन्तुष्टि, बेरोजगारी र प्रशासनिक उपेक्षा
तराई–मधेसका धेरै जिल्लामा आर्थिक अभाव, बेरोजगारी, जमिन सम्बन्धी विवाद, सीमित स्रोत–साधनमाथिको प्रतिस्पर्धा तथा राज्यको प्रशासनिक उपेक्षाले लामो समयदेखि असन्तुष्टि जन्माइरहेको छ।
यस्ता समस्याले विशेषतः युवा पुस्तामा निराशा, आक्रोश र भविष्यप्रतिको अन्योल बढाएको छ। सामान्य अवस्थामा यो असन्तुष्टि छरिएर रहेको हुन्छ। त्यसलाई कुनै निश्चित दिशा वा लक्ष्य दिइयो भने त्यही असन्तुष्टि सामूहिक आक्रोशमा रूपान्तरण हुन सक्छ।
२) बाह्य भ्रामक प्रचार (न्यारेटिभ) र धार्मिक ध्रुवीकरण
जब आर्थिक र सामाजिक असन्तुष्टि 'हामी' र 'उनीहरू' भन्ने धार्मिक भाष्यसँग जोडिन्छ, तब सामान्य असन्तुष्टि साम्प्रदायिक वैमनश्यमा बदलिन थाल्छ।
'हाम्रो धर्ममाथि आक्रमण भयो', 'हाम्रो अस्तित्व संकटमा छ', 'हामीलाई योजनाबद्ध रूपमा कमजोर बनाइँदैछ' जस्ता सन्देशहरू सामाजिक सञ्जाल, धार्मिक अभियान, संगठित प्रचार तथा सीमापारका वैचारिक प्रभावमार्फत तीव्र रूपमा फैलाइन्छन्। त्यसपछि वास्तविक समस्या आर्थिक वा प्रशासनिक रहे पनि मानिसहरूको ध्यान धार्मिक पहिचानतर्फ मोडिन्छ।
३) साना स्थानीय विवादको साम्प्रदायिक रूपान्तरण
धेरैजसो घटनाको सुरूआत सामान्य विवादबाट हुन्छ। जुलुस कुन बाटोबाट जाने, धार्मिक झन्डा कहाँ राख्ने, लाउडस्पिकरको आवाज, डिजेको प्रयोग, अबिर छर्किने वा मूर्ति विसर्जन गर्ने जस्ता स्थानीय विवादहरू सामान्य प्रशासनिक समन्वयबाट समाधान हुन सक्ने विषय हुन्।
तर जब यिनलाई धार्मिक पहिचानसँग जोडिन्छ, तब एउटा सामान्य विवाद सम्पूर्ण समुदायको प्रतिष्ठा र अस्तित्वको प्रश्नका रूपमा प्रस्तुत गरिन्छ। त्यसपछि भीड छिट्टै उत्तेजित हुन्छ, अफवाह फैलिन्छ र सानो झडपले पनि ठूलो साम्प्रदायिक हिंसाको रूप लिन सक्छ।
४) धार्मिक भावनाको राजनीतिक उपयोग
पछिल्ला वर्षहरूमा पदबाट हटाइएका राजा तथा राजावादी शक्तिहरूले हिन्दु धर्मलाई राजनीतिक रूपमा पुनः संगठित हुने एउटा प्रमुख आधारका रूपमा प्रयोग गर्ने प्रयास गरेका छन्। यसले विशेषतः मधेसमा हिन्दु धार्मिक पहिचानलाई थप राजनीतिक बनाएको देखिन्छ।
यो पक्षसँग सबै सहमत नहुन सक्छन्, तर पछिल्ला राजनीतिक गतिविधि विश्लेषण गर्दा यो सम्भावना पूर्ण अस्वीकार गर्न सकिँदैन। लोकतान्त्रिक प्रतिस्पर्धामा धार्मिक पहिचानलाई राजनीतिक औजार बनाउने प्रवृत्ति बढ्दा साम्प्रदायिक संवेदनशीलता अझ तीव्र बन्ने जोखिम रहन्छ।
५) सुरक्षा निकायको कमजोरी र बल प्रयोगको प्रश्न
साम्प्रदायिक हिंसाका घटनामा सुरक्षा निकायको भूमिका अत्यन्त निर्णायक हुन्छ। समयमै प्रभावकारी हस्तक्षेप गर्न नसक्दा सामान्य विवादले उग्र रूप लिन सक्छ। कतिपय अवस्थामा अत्यधिक वा असन्तुलित बल प्रयोगले पनि हिंसा नियन्त्रण गर्नुको सट्टा थप फैलाएको देखिन्छ।
देवानगन्ज घटनामा बोलबम यात्रा क्रममा डिजे र धार्मिक झन्डा सम्बन्धी विवादबाट ढुंगामुढा सुरू भयो। प्रारम्भिक अवस्था नियन्त्रण गर्न नसकेपछि प्रहरीले हवाई फायर गर्यो र त्यसपछि गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भयो। त्यसपछि जनआक्रोश झन् बढ्दै गएर हिंसा छिमेकी जिल्लासम्म फैलियो।
त्यसैगरी सिराहाको गोलबजारमा कर्फ्यु जारी रहेकै अवस्थामा प्रदर्शन नियन्त्रण क्रममा सुरक्षाकर्मीको गोली लागेर किशोर गणेश यादवको मृत्यु भयो। त्यसपछि आन्दोलन, तोडफोड र तनाव अझ चर्कियो।
यी दुवै घटनाले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछन् — साम्प्रदायिक रूपमा संवेदनशील परिस्थितिमा सुरक्षा रणनीति कस्तो हुनुपर्छ? समयमै संवाद, संयमित हस्तक्षेप र परिस्थिति नियन्त्रणका वैकल्पिक उपाय पर्याप्त नहुँदा बल प्रयोगले कहिलेकाहीँ हिंसा थप उग्र बनाउने जोखिम देखिन्छ।
समग्रमा हेर्दा, तराई–मधेसमा साम्प्रदायिक हिंसाको मूल कारण धर्म मात्र होइन। आर्थिक असमानता, बेरोजगारी, प्रशासनिक कमजोरी, राजनीतिक स्वार्थ, सीमापारको प्रभाव, सामाजिक सञ्जालबाट फैलिने उत्तेजक प्रचार र संवेदनशील अवस्थाको कमजोर व्यवस्थापन — यी सबै तत्व एकअर्कासँग गाँसिएपछि हिंसाको वातावरण तयार हुन्छ। धर्म त्यसको मूल कारणभन्दा पनि धेरै अवस्थामा एउटा प्रभावकारी माध्यम वा आवरण बन्न पुग्छ।
यही कारण साम्प्रदायिक हिंसाको समाधान प्रहरी परिचालन वा कानुनी कारबाहीबाट मात्र सम्भव हुँदैन। राज्यले सामाजिक न्याय, आर्थिक अवसर, निष्पक्ष प्रशासन, जिम्मेवार राजनीतिक व्यवहार र अन्तर–समुदायबीचको विश्वास निर्माणलाई समान प्राथमिकता दिन सकेन भने यस्ता घटना भविष्यमा पनि दोहोरिने जोखिम रहन्छ।
निष्कर्ष
मधेसको साम्प्रदायिक इतिहास सतही रूपमा हेर्दा धेरै घटना हिन्दु–मुसलमान धार्मिक द्वन्द्वजस्ता देखिन सक्छन्। तर तिनको पृष्ठभूमिमा पुगेर हेर्दा चित्र धेरै जटिल देखिन्छ। अधिकांश घटनाको जरोमा राजनीतिक अस्थिरता, सामाजिक असन्तुष्टि, आर्थिक अभाव, प्रशासनिक कमजोरी, क्षेत्रीय तनाव, अफवाह, बाह्य प्रभाव र धार्मिक भावनाको राजनीतिक उपयोग एकअर्कासँग गाँसिएको पाइन्छ। धर्म धेरै अवस्थामा कारणभन्दा बढी माध्यम बनेको देखिन्छ।
इतिहासको सबभन्दा ठूलो शिक्षा यही हो — जब वास्तविक समस्याहरू समाधान हुँदैनन्, तब तिनलाई नयाँ नयाँ पहिचानको आवरण दिइन्छ। कहिले जातिका नाममा, कहिले क्षेत्रका नाममा, कहिले धर्मका नाममा, अनि अन्ततः त्यसको मूल्य निर्दोष नागरिकले चुकाउनुपर्छ।
मधेस शताब्दियौंदेखि विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा बसोबास भएको भूमि हो। यही विविधता यसको शक्ति पनि हो। त्यसैले कुनै पनि राजनीतिक शक्ति, धार्मिक समूह वा संगठित स्वार्थले अल्पकालीन लाभका लागि समुदायबीच अविश्वास र वैमनश्यको बीउ रोप्न खोज्छ भने त्यसको क्षति अन्ततः सम्पूर्ण राष्ट्रले बेहोर्नुपर्छ।
आज सबभन्दा ठूलो आवश्यकता इतिहास बिर्सिने होइन, इतिहासबाट सिक्ने हो। इतिहास लुकाएर, विकृत बनाएर वा सुविधा अनुसार व्याख्या गरेर राष्ट्रिय एकता बलियो हुँदैन। बरू सत्य स्वीकार गर्दै, त्यसका कारणको निष्पक्ष समीक्षा गर्दै र विगतका कमजोरी दोहोरिन नदिने सामूहिक संकल्पबाट मात्र दिगो सामाजिक सद्भाव निर्माण हुन सक्छ।
विशेषगरी नयाँ राजनीतिक पुस्ता र आजको जेनजीले घटनाहरूलाई सामाजिक सञ्जालका क्षणिक प्रतिक्रिया वा राजनीतिक नाराका आधारमा होइन, इतिहासका तथ्य, प्रमाण र व्यापक सन्दर्भका आधारमा बुझ्न आवश्यक छ। कुनै पनि समाजको भविष्य त्यसले आफ्नो इतिहास कति इमानदारीपूर्वक सम्झिन्छ भन्ने कुराले निर्धारण गर्छ।
अन्ततः, मधेसमा शान्ति, सद्भाव र सहअस्तित्वको रक्षा कुनै एक समुदायको मात्र होइन, सम्पूर्ण नेपाली समाजको साझा जिम्मेवारी हो। राजनीतिक प्रतिस्पर्धा लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो, तर साम्प्रदायिक द्वेष त्यसको विकल्प हुन सक्दैन।
हामीले इतिहासका चेतावनीहरू समयमै बुझ्न सकेनौं भने विगतका त्रासदीहरू नयाँ स्वरूपमा पुनः दोहोरिन सक्छन्। तर इतिहासबाट शिक्षा लिएर न्यायपूर्ण, समावेशी र उत्तरदायी राज्य निर्माण गर्न सकियो भने मधेस विगतका घाउ बोकेर होइन, सहअस्तित्व र आपसी विश्वासको नयाँ आधारमा भविष्यतर्फ अघि बढ्न सक्छ।
(जयप्रकाश आनन्द (जेपी गुप्ता) पूर्वमन्त्री तथा राजनीतिक विश्लेषक हुन्।)