प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी प्रशासनकै संलग्नतामा अवैध नदी उत्खनन्, चुरेको दोहन, वन विनाश लगायतका काम भइरहेको आरोप लगाएका छन्।
मंगलबार कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने,‘ बालुवा गिट्टी क्रसर धेरै ‘पावर फुल’ भइरहेका छन् किनकी प्रहरी प्रशासनले नै उनीहरूलाई साथ दिइरहेका छन्।’
‘प्रहरी प्रशासनको मिलेमतोमा अवैध उत्खनन् भइरहेका छन्,’ उनले थप भने।
होटलमा ठूलो ठूलो कार्यक्रम गरेर,ठूलो ठूलो भाषण गरेर, विदेशीलाई बोलाएर यहाँको समस्या समाधान नहुने उनले औंल्याए।
एउटा मन्त्रालयले अवैध उत्खनन् रोक्न निर्देशन दिए पनि अर्को मन्त्रालयले प्रश्रय दिने उनको आरोप छ।
उनले भने, ‘कुनै मन्त्रालय यस्ता कामलाई रोक्छ भने अर्को मन्त्रालयले त्यसै कामलाई स्वीकृति दिन्छ,’ उनले भने,‘गोष्ठी गरेर, पेपर प्रिजेन्टेसन गरेर समस्या समाधान हुँदैन।'
‘बालुवा गिट्टीको उत्खनन् रोक्न जाँदा निहत्थाको हत्या गरिन्छ। यो हाम्रो लागि दुर्भाग्य हो,’ उनले थप भने।
मुख्यमन्त्री राउतले दिलीपका हत्यारालाई कुनै हालतमा नछाड्नको लागि मुख्यन्यायाधीवक्तामार्फत् यसलाई ज्यान मार्ने उद्योगमा नभई हत्याको मुद्दा दर्ता गराएको बताए।
उनले अनुगमन गर्ने निकाय जिल्ला प्रशासन, प्रहरी प्रशासन यसलाई नियन्त्रण नगर्नुको मुख्य कारण यसमा सबैको मिलोमतो रहेको आरोपसमेत लगाए ।