जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उपेन्द्र यादवसँग कुम्हार समाजले अल्पसंख्यक जातिमा सूचीकृत गराउन विशेष पहल गरिदिन आग्रह गरेको छ।
चुनाव प्रचार अभियानको क्रममा आइतबार करैयामाई पालिकाको नरही बजार पुगेका अध्यक्ष यादवसँगको छलफलमा कुम्हार समाजले गलत जातिको सूचिमा राखेकोले आफूहरूमाथि सरकारले अन्याय गरेको गुनासो गरेको छ।
‘हामी अल्पसंख्यक जातिभित्र पर्दछौं तर सरकारले अन्य जातिको सूचीमा राखिदिएको छ, यसले गर्दा हामी राजनीतिक, प्रशासनिक र आरक्षणको अधिकारबाट बञ्चित भएका छौं’, कुम्हार समाजका अध्यक्ष रामानन्द पण्डितले भने।
अन्य जातिबाट हटाएर अल्पसंख्यक सूचीमा राख्न आफूहरूले धेरै संघर्ष गरेको र थुप्रै पार्टी नेतासँग पहलका लागि आग्रह गरेको तर कसैबाट सहयोग नपाएको समाजका अध्यक्ष पण्डितको गुनासो छ।
जसपा अध्यक्ष यादवले कुम्हार समाजको माग र समस्या सम्बोधनका लागि पूर्णरूपमा आश्वस्त हुन समाजलाई आश्वासन दिएका छन्।
समाजको समस्याहरूलाई प्राथमिकतामा राखेर चुनावलगत्तै समाधानको लागि पहल गर्ने अध्यक्ष यादवले बचन दिए।
‘केही अल्पसंख्यक जातजातिलाई अन्य सूचीमा राखेर राज्यले विभेद गरेको छ, यसलाई तत्काल सच्याउनु पर्छ, समाजको माग सम्बोधनका लागि मेरो पूर्णरूपमा साथ र सहयोग रहन्छ,’ जसपा अध्यक्ष यादवले भने।
अल्पसंख्यक जातजाति जो सामाजिक, राजनीतिक, प्रशासनिक, आर्थिक र शैक्षिक रूपमा पछाडि पारिएका छन्, उनीहरुको आर्थिक स्तर उकास्न राज्यले विशेष प्राथमिकता दिनुपर्ने अध्यक्ष यादवले बताए।
कुम्हार जातजाति सभ्यता र सीपका सर्जक रहेकोले हाल हरेक क्षेत्रमा यान्त्रिकीकरणले गर्दा यो समुदायको पेशा नै संकटमा पर्न थालेकोले यिनको संरक्षणमा राज्यले पहल गर्नुपर्ने बताए।