आजबाट संसदको बजेट अधिवेशन सुरू भएको छ।
तर अधिवेशन सुरू भएकै दिन प्रतिनिधि सभा बैठकमा सांसदहरूले बोल्न समय माग्दै हानाथाप गरेपछि सभामुख देवराज घिमिरेलाई बैठक चलाउनसमेत धौधौ परेको छ।
सभामुख घिमिरेले आज प्रतिनिधि सभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका थिए। उक्त बैठकमा आज शून्य समयमात्र सञ्चालन गर्ने र त्यसपछि बैठक सिधै कार्यसूचीमा प्रवेश गराउने समझदारी दलका प्रमुख सचेतकहरूबीच भएको थियो। साँझ ४ बजेका लागि राष्ट्रपतिबाट संसदको अधिवेशन आह्वान भएकाले विशेष समय र आकस्मिक समय चलाउँदा साँझ ढिला हुने भएकाले दलहरू पनि कार्यसूचीमा अघि बढ्न तयार भएका थिए।
तर प्रतिनिधि सभाको बैठक सुरू भएलगत्तै सांसदहरू आफू बसेको ठाउँबाट जर्याकजुरूक उठे र बोल्नका लागि सभामुखसँग समय मागे।
जबकी त्यतिबेलासम्म सभामुखले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएको पत्रसमेत पढेका थिएनन्। नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरी, रघुजी पन्तसँगै नेमकिपाका सांसद प्रेम सुवाल र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समय मागे।
सांसदहरू बस्दै नबसी समय मागेको मागेकै गरेपछि सभामुख देवराज घिमिरे समय दिन बाध्य भए। उनलाई पहिलो बैठक चलाउन समेत धौधौ पर्यो।
हेर्नुहोस् भिडिओ:
त्यसपछि सांसदहरूले प्रतिनिधि सभा बैठकमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह र राजनीतिक संलग्नतामा सरकारको जवाफ मागे। उनीहरूले यस्ता प्रकरणमा संलग्नलाई कारबाही मात्र माग गरेनन् एक अर्काप्रति भ्रष्टाचार प्रकरणमा कारवाही गरेर देखाउन चुनौती दिए। बैठकमा केहीबेर जुहारी समेत चल्यो।
सत्तारूढ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेकपा एमालेलाई पार्टी सचिव एवम् सांसद टोपबहादुर रायमाझीलाई बुझाउन चुनौती दिए। नेकपा एमालेका सांसदहरूले लडाकु शिविरमा भएको भनिएको भ्रष्टाचारदेखि वाइडबडीसम्मको विषयमा छानबिनको माग गरे। कांग्रेसका सांसदहरू आरजु राणा र रामहरि खतिवडाले शरणार्थी प्रकरणमा आफूहरू मुछिएको भन्दै प्रचार भएको भन्दै आपत्ति जनाए।
प्रतिनिधि सभाको पहिलो बैठकमा सभामुखले सांसदहरूलाई समय दिए पनि अन्य कतिपय सांसदहरूले बोल्नका लागि समय मागिरहे। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले उभिएरै समय मागे। तर सभामुखले दिएनन्। रास्वपाबाट समय पाएका हरि ढकालले ३३ वर्षमा भएका ३३ सय भ्रष्टाचार प्रकरण छानविनको माग गरे।
प्रतिनिधि सभाको बजेट अधिवेशनको पहिलो बैठक सभामुखले होहल्लाबीच धौधौसँग चलाए।