नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान लिने तयारी गरिएको छ।
बिहीबार उनलाई सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिने तयारी भएको प्रमुख अच्यूतमणि न्यौपानेले जानकारी दिए।
‘आज उहाँको म्याद थप गर्ने काम भयो। अब भोलि उहाँलाई बयानको लागि ल्याउने तयारी छ,’ उनले भने।
प्रहरीले उनलाई बुधबार बिहान काठमाडौंको मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो। आजै उनका पिए नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको हो।
अब उनीहरूलाई आइतबार अदालतमा पेस गर्ने तयारी छ।
खाण र केसीलाई दुवैलाई टेकुस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ। परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उनीहरू दुवैलाई सामान्य तरिकाले नै हिरासतमा राखिएको छ।
'उहाँहरूलाई अरूलाई जस्तै सामान्य तरिकामा राखिएको छ। विशेष केही छैन। यो भवनमा अलग्गै ठाउँ पनि छैन। सुरक्षा चुनौती वा अरू केही आवश्यक परेको खन्डमा भने व्यवस्था गर्नेछौं,' कार्कीले भने।
प्रहरीले अहिलेसम्म यस प्रकरणमा १२ जनालाई पक्राउ गरेको छ।
प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। रामशरण केसी र गोविन्द चौधरीलाई मंगलबार पक्राउ गरेको हो।
उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले ठगी तथा संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ। प्रहरीले अब १४ दिनभित्र अनुसन्धान बुझाउनुपर्ने कानुनी व्यवस्था छ।