अमेरिकी सेनाले अनुमति पाउनेबित्तिकै इरानमा भीषण हमला गर्ने तयारी गरिरहेको छ।
उसले मध्यपूर्वतर्फ नौसेना र मरिन सेनाको विशाल फौजदेखि युद्धपोत र लडाकू विमानहरूको तैनाथी बढाउने क्रम जारी राखेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिल्यै इरानमा हमला गर्न निर्देशन दिएका छैनन्। तर सेनालाई तयारी अवस्थामा रहनू भनेका छन्।
अमेरिकी सेनाले सोही अनुसारको तयारी गरिरहेको छ।
यसबीच सेनाले इरानमा हान्न शक्तिशाली बम तयार गरिरहेको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
जिबियू-४३/बी नामको उक्त गैरआणविक बमलाई 'मदर अफ अल बम' अर्थात् 'सबै बमकी आमा' भनेर चिनिने सिएनएनले लेखेको छ।
यो अमेरिकासँग भएको सबैभन्दा शक्तिशाली गैरआणविक बम हो। ट्रम्पले आदेश दिए सोही बम इरानमा खसाल्ने गरी सेनाले तयारी गरिरहेको सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ।
यो बमको तौल करिब ९ हजार ८०० किलो छ। यो बम जमिनमा ठोक्किनुभन्दा अगाडि हावामै विस्फोट भएर ठूलो क्षेत्रमा क्षति पुर्याउने गरी बनाइएको हुन्छ। सिएनएनका अनुसार अमेरिकाले इरानसँगको युद्धमा अहिलेसम्म यो बम प्रयोग गरेको छैन।
सो बमले इरानका ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण गर्ने र बाँकी रहेका आणविक संरचनालाई पनि निशाना बनाउने गरी सेनाले रणनीति बनाइरहेको छ।
इरानको पिकएक्स माउन्टेनमा रहेको भनिएको आणविक संरचनामाथि आक्रमण गर्ने योजनामा पनि यो बम समावेश छ।
आक्रमण गरिहाल्न ट्रम्पले निर्देशन नदिए पनि सेनाको तयारीले इरानमा पुनः ठूलो सैन्य हमला हुने सम्भावना बढाएको छ।
पछिल्ला केही सातादेखि अमेरिकी अधिकारी र सैन्य योजनाकारहरूले आक्रमणका विकल्पबारे छलफल गरिरहेका छन्। त्यही क्रममा मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति थप्ने तयारी पनि भइरहेको छ।
अक्टोबरको सुरुतिर अमेरिकाले तेस्रो विमानवाहक युद्धपोत समूह मध्यपूर्वतर्फ पठाउने निर्णय गरेको थियो।
त्यसमा यूएसएस थियोडोर रुजवेल्ट विमानवाहक युद्धपोत समूह र दुई हजारभन्दा बढी मरिन सैनिक बोकेको यूएसएस माकिन आइल्यान्ड नेतृत्वको जलथल सैन्य समूह छन्।
ती युद्धपोत र सैनिक मध्यपूर्वमा तैनाथ अमेरिकी सैन्य शक्तिलाई थप बलियो बनाउन पठाइएका हुन्।
त्यतिबेला अमेरिकी अधिकारीहरूले अक्टोबरको अन्त्यसम्ममा क्षेत्रमा तीनवटा विमानवाहक युद्धपोत समूह पुग्न सक्ने बताएका थिए।
युद्धपोतसँगै ठूलो संख्यामा सैनिक, लडाकु विमान र अन्य सैन्य सामग्री परिचालन गर्ने तयारीले पनि अमेरिकाले सम्भावित अर्को चरणको युद्धका लागि विकल्प खुला राखेको देखाउँछ।
यसअघि अमेरिकी सेनाले इरानका मिसाइल तथा ड्रोन भण्डार, सैन्य अखडा र हर्मुज जलडमरूमध्य आसपासका सैन्य क्षमतालाई निशाना बनाउने योजनासमेत तयार पारेको थियो।
तर, यति ठूलो सैन्य तयारी भइरहे पनि ट्रम्पले तत्काल आक्रमणको आदेश दिएका छैनन्। उनले नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि थप आक्रमण नगर्ने सार्वजनिक घोषणा गरेका छन्।
यद्यपि, सिएनएनसँग कुरा गरेका केही अमेरिकी अधिकारीहरूले ट्रम्पको यो भनाइ अन्तिम निर्णय हो कि होइन भन्नेमा प्रशासनभित्रै स्पष्टता नरहेको बताएका छन्।
ह्वाइट हाउसले भने इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सबै विकल्प खुला रहेको जनाएको छ।
जिबियू-४३/बी प्रयोग गर्ने योजनामा भने अमेरिकी अधिकारीहरूकै प्रश्न छन्।
यो बमले ठूलो क्षेत्रमा विनाश गर्न सक्छ, तर जमिनभित्र गहिराइमा रहेका बलिया संरचना भत्काउन बनाइएको होइन।
पिकएक्स माउन्टेनमा रहेका भनिएका आणविक संरचना ग्रेनाइटका तहले सुरक्षित पारिएको अमेरिकी आकलन छ।
त्यस्ता संरचना नष्ट गर्न यो बम पर्याप्त नहुन सक्ने अधिकारीहरूको भनाइ छ।
बम प्रयोग भए सतहमा ठूलो क्षति पुग्न सक्छ, तर भूमिगत संरचना सुरक्षित रहन सक्छन्। ऊर्जा पूर्वाधारजस्ता लक्ष्य बस्ती नजिक भए सर्वसाधारणको ज्यान जाने जोखिमसमेत छ।
गत वर्षको जुनमा इरानका आणविक केन्द्रमा आक्रमण गर्दा अमेरिकाले फरक प्रकृतिको बम प्रयोग गरेको थियो।
त्यतिबेला फर्दो र नतान्जका भूमिगत आणविक संरचनामा प्रहार गर्न अमेरिकाले जीबीयू–५७ नामको बंकरभेदी बम प्रयोग गरेको थियो।
करिब १३ हजार ६०० किलोग्राम तौलको यो बमले जमिन र बलिया संरचना छेडेर गहिराइमा रहेका लक्ष्य ध्वस्त पारेको दाबी अमेरिकाको थियो। तर पछि इरानको आणविक कार्यक्रम उक्त बमले नष्ट नपारेको रिपोर्टहरू सार्वजनिक भएका थिए।
तौलको हिसाबमा जिबियू-४३/बी कम जिबियू-५७ भन्दा कम भए पनि क्षतिको हिसाबमा यो शक्तिशाली रहेको बताइएको छ।
नयाँ आक्रमणको तयारीसँगै अमेरिकाले इरानको सम्भावित जवाफी कारबाहीको सामना गर्ने तयारी पनि गरिरहेको छ।
युद्ध सुरु भएयता अमेरिकी सेनाले इरानका ड्रोन र क्रुज मिसाइल रोक्न ठूलो संख्यामा प्रतिरक्षात्मक मिसाइल प्रयोग गरेको छ।
त्यसको भण्डारमा परेको दबाब कम गर्न अमेरिकाले युरोप र एसियामा रहेका केही हतियार मध्यपूर्वतर्फ सारेको विवरण यसअघि सार्वजनिक भएको थियो।
युद्ध फेरि चर्किए प्रतिरक्षात्मक हतियारको भण्डार थप घट्ने र अमेरिकी सैन्य क्षमतामै असर पर्न सक्ने चिन्ता अधिकारीहरूले व्यक्त गरेका छन्।
हर्मुज जलमार्गमा जारी तनाव पनि अर्को आक्रमणको तयारीसँग जोडिएको छ।
इरानले त्यहाँबाट गुज्रने जहाजलाई निशाना बनाउँदै आएको छ भने अमेरिकाले इरानमाथि दबाब बढाउन आर्थिक नाकाबन्दी र सैन्य परिचालनलाई निरन्तरता दिएको छ।
हर्मुज हुँदै विश्वको ठूलो हिस्सा तेल तथा तरलीकृत प्राकृतिक ग्यास ओसारपसार हुने भएकाले त्यहाँको तनावले विश्व ऊर्जा बजारमा समेत असर पार्न सक्छ।
तर, जलमार्ग खुलाउने र इरानको आणविक कार्यक्रमबारे सहमति जुटाउने विषयमा जारी कूटनीतिक प्रयासले अहिलेसम्म ठोस निष्कर्ष निकालेको छैन।
इरानको आणविक कार्यक्रमलाई लिएर इसराइलले पनि अमेरिकामाथि दबाब दिइरहेको छ। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानले आणविक कार्यक्रम फेरि अघि बढाएको गुप्तचर सूचना रहेको भन्दै संयुक्त सैन्य कारबाहीको पक्षमा जोड दिँदै आएका छन्।
यस विषयमा ट्रम्प र नेतन्याहूबीच टेलिफोन संवादसमेत भएका छन्।
तर, इरानमाथि फेरि ठूलो आक्रमण गर्दा युद्ध लम्बिन सक्ने र त्यसको राजनीतिक मूल्य चुकाउनुपर्ने चिन्ता अमेरिकी प्रशासनमा छ।
अमेरिकामा नोभेम्बर ३ मा मध्यावधि निर्वाचन हुँदैछ।
युद्धप्रति अमेरिकी जनतामा असन्तुष्टि बढिरहेको र महँगी तथा इन्धनको मूल्यले पनि सरकारमाथि दबाब थपेको छ। युद्ध चाँडै अन्त्य गर्न नसके ट्रम्पको रिपब्लिकन पार्टीले चुनावमा राजनीतिक असर बेहोर्न सक्ने चिन्ता छ।
इसराइलमा पनि अक्टोबर २७ मा चुनाव हुँदैछ।
त्यसैले दुवै देशका नेतृत्वका लागि युद्धलाई थप चर्काउने निर्णय राजनीतिक रूपमा संवेदनशील बनेको छ।
सिएनएनका अनुसार, अमेरिकी सैन्य योजनाकारहरूले आक्रमणका विभिन्न विकल्प तयार पार्नुका साथै आक्रमणपछि सेना फिर्ता गर्ने सम्भावनाबारे पनि विचार गरिरहेका छन्।