नेपाली कांग्रेसको पदाधिकारी बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाण पक्राउ परेपछिको अवस्थाबारे कुरा उठेको छ।
खाणलाई आज बिहान प्रहरीले घरबाटै पक्राउ गरेको थियो। उनलाई ४ दिन म्याद थपेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका खाण मुछिएका हुन्।
खाणलाई प्रहरीले पक्राउ गरेपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक राखेका थिए।
देउवा निवास धुम्बाराहीमा आज अपराह्न ५ बजेदेखि ८ बजेसम्म चलेको छलफलमा खाणले अनुसन्धानलाई सहयोग गरिरहेकोले उनीबारे थप निर्णय अनुसन्धान परिपक्क भएपछि गर्ने समझदारीसमेत बनेको छ।
खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने आवाज पनि उठेको थियो।
प्रवक्ता प्रकाशशरण महतले खाणले अनुसन्धानलाई सहयोग गरिरहेको प्रतिक्रिया दिए।
महतका अनुसार मुख्यगरी भ्रातृ संघसंगठन र विभागलाई पूर्णता दिने विषयमा पदाधिकारी बैठकमा छलफल भएको थियो। यद्यपी खाण पक्राउबारे पनि छलफल भएको उनले बताए।
‘खाणले अनुसन्धानलाई सहयोग गरिरहनु भएको छ। भाग्नु भएको छैन,’ उनले भने, ‘अझै अनुसन्धान परिपक्क होस्। बालकृष्णजीले आफैँले अनुसन्धानलाई सहयोग गर्छु भन्नुभएको छ। अनुसन्धान परिपक्क होस्, पार्टीले कुनै निर्णय गर्नुपरे त्यसैबेला गर्छ।’
अनुसन्धान परिपक्क भएपछि यसका आधारमा थप निर्णय हुने उनले बताए।
‘खाणबारे अहिले थप छलफल गर्नुपर्ने छैन। पार्टीको आधिकारिक धारणा उहाँले अनुसन्धानलाई सहयोग गरिरहनुभएको छ। अनुसन्धान परिपक्क होस्। अहिले नै दोषी करार जसरी पार्टीले निर्णय गर्दैन,’ उनले भने।
कांग्रेसले बिहीबार दिउँसो २ बजेका लागि पदाधिकारी र पूर्वपदाधिकारीलाई बैठकमा बोलाएको छ। भ्रातृ संस्था, विभाग र समसमायिक राजनीतिक घटनाक्रमबारे उक्त बैठकमा छलफल हुनेछ।