महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दातृ निकायको सहयोग देशका कुनाकन्दरा र लक्षित वर्गमा पुर्याउनु पर्ने बताएका छन्।
समाज कल्याण परिषदमा बुधबार आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री आचार्यले समाज कल्याण परिषदमार्फत राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले खर्च गर्ने वैदेशिक सहयोग रकमलाई देशको कुनाकन्दरा र लक्षित समुदाय एवम् वर्गसम्म पुर्याउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।
उनले राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कामलाई व्यवस्थित बनाउने पनि बताए।
मन्त्री आचार्यले समाज कल्याण ऐन २०४९, संस्था दर्ता ऐन २०३४ लगायतका सम्बन्धित कानुनलाई समय सापेक्ष संशोधन गरी समयानुकुल बनाइने पनि उल्लेख गरे। उनले समाज कल्याण परिषदको काम, कारबाहीलाई प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन पनि आफूले पहल गर्ने बताए।
परिषदका पदाधिकारी/कर्मचारीलाई सेवामुखी भई आफ्नो दायित्व र जिम्मेवारी बुझेर कार्य गर्न उनले निर्देशन दिए। आगमी दिनमा समाज कल्याण परिषदमा धेरै कार्य गर्नु पर्ने भएकोले सोमा आफूले ध्यान दिने मन्त्री आचार्यको भनाइ छ।