प्राचीन सभ्यतामा आधारित सामाजिक र सांस्कृतिक जीवन काठमाडौं पर्यटनको महत्वपूर्ण सूचक भएको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छिन्।
चीनको छाङ्सामा चलिरहेको तीन दिने 'फ्राग्रान्ट टुरिजम समिट' मा बोल्दै उपप्रमुख डंगोलले उक्त कुरा बताएकी हुन्।
‘पर्यटन पूर्वाधारका लागि भूगोल, मानवीय सभ्यता, प्राकृतिक सम्पदा लगायत विभिन्न आधार र सूचक हुन सक्छन्,' उनले भनिन्, 'काठमाडौं कला, साहित्य, सिर्जना र सभ्यतासँग सम्बन्धित रोचक तथ्य भएको ठाउँ हो। यसको विशेषतालाई हामी पर्यटन व्यवस्थापनसँग जोड्दैछौं।’
सम्मेलनमा पर्यटनका आपसी हित र सीप, क्षमता विकास, सिकाइ तथा अनुभव आदान प्रदान हुने महानगरपालिका कार्यालयले जनाएको छ। यो कार्यक्रम सहरी पर्यटन, कोभिडपछिको पर्यटन पुनः स्थापना, मेयर्स डाइलग, पर्यटन विकासका नयाँ सूचक, सांस्कृतिक पर्यटन लगायतका विषयमा प्रस्तुतीकरण, छलफल, स्थलगत अवलोकन भ्रमणसहितको हुनेछ।
उपप्रमुख डंगोल शनिबार नेपाल फर्किने तालिका छ।