राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय समितिको पूर्ण बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेश गर्नेछन्।
साथै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समितिले तयार पारेको पार्टीको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजनासमेत बैठकमा पेश गर्ने तयारी छ।
सचिवालय प्रमुख हेमजङ गुरूङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ।
बैठकमा पेश हुने सबै प्रतिवेदनमाथि खुला छलफल हुने श्रेष्ठले बताए।