नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे जेठ ४ गते संसदमा सबै कुरा राख्ने बताएका छन्।
बिहीबारदेखि सुरू भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे चार कुरा राखेका छन्।
यो प्रकरणबारे आफूलाई सुरूदेखि थाहा भएकाले तथ्य र प्रमाणसहित संसदमा बोल्ने उनले बताए।
‘सुरूदेखि नै मलाई थाहा छ। सम्भवत: जेठ ४ गते म संसदमा बोल्छु। संसदमा बोल्दा मैले कसले कहिले कसलाई नक्कली शरणार्थी बनाएर पठायो भन्ने सबै कुरा तथ्य प्रमाणसहित राख्छु,’ ओलीले भने।
ओलीले यस विषयमा अहिलेसम्म संसदमा बोलेका छैनन्। अहिले यस विषयमा आफूले प्रमाण संकलनको काम गरिरहेको ओलीले बताए।
ओलीले सम्बोधनका क्रममा भुटानी शरणार्थी समस्या, भुटान सरकारसँग भएका वार्ता र अमेरिका पठाउने विषयमा भएका सहमतिबारे लामो व्याख्या गरेका थिए।
उनले सन् २०१२ पछि तीन सयभन्दा बढी मानिसलाई नक्कली भुटानी शरणार्थी बनाएर बाहिर पठाइएको पनि दाबी गरे।
‘सन् २०१२ पछि विभिन्न गिरोहहरू नक्कली भुटानी शरणार्थीलाई बाहिर पठाउन सक्रिय रहेको देखिन्छ,’ ओलीले भने,‘ त्यसबेला तीन/साढे तीन सय मानिस बाहिर पठाएको बुझिन्छ। यो काम जोइन्ट भेरिफिकेसन टिममा लागेका मान्छेबाट तलतलै भरहेको थियो। तर त्यो कुरा गोप्य रह्यो।’
बैठकमा एमाले अध्यक्ष ओलीले यही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पार्टी सचिव टोपबहादुर रायमाझीका निकटहरू आफूलाई सम्पर्क गरेको पनि जानकारी दिएका छन्।
‘मलाई उहाँनिकटका मानिसले फोन गरेका थिए- के गर्ने भनेर,’ ओलीले भने,‘मैले प्रहरीकोमा हाजिर हुनुस् भनेको थिएँ। उहाँ हिजो प्रहरीकोमा आउने कुरा सरकारी स्रोतबाट पनि सुनेको थिएँ तर उहाँ आउनु भएन, किन आउनुभएन थाहा भएन।’
बैठकमा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अहिले राज्यसत्ता चलाइरहेकाहरूले चाहेको जसरी मात्र अघि नबढेको पनि बताए। यो प्रकरणको अनुसन्धान अब राज्यसत्तामा बस्ने इच्छामा मात्र निर्भर नहुने उनले उल्लेख गरे।
‘अब राज्यको इच्छामा सबै कुरा रहेन। हामीलाई थाहा छ राज्यको स्थिति के छ भनेर। राज्यको इच्छामा सबै कुरा चल्ने अवस्था छैन, रहेन अब,’ ओलीले भने,‘राज्य आफैंले पनि चाहेको हुन्थ्यो भने अहिलेको परिस्थिति पनि आउने थिएन, बेग्लै परस्थिति आउँथ्यो।’