नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आकांक्षीहरूले टिकट नपाउनेबित्तिकै उम्मेदवारलाई असहयोग गर्ने र कतिपय नेताले विपक्षीसँगै साँठगाँठ गर्दा निर्वाचनमा पहिलो पार्टी बन्न नसकेको बताएका छन्।
बिहीबारदेखि पार्टी कार्यालयमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले सत्तापक्षले प्रतिपक्षविरूद्ध गठबन्धन गर्नेजस्तो अलोकतान्त्रिक काम गरेको बताएका छन्।
‘सत्ता गठबन्धनले नेकपा एमालेलाई समाप्त पार्ने धम्की दियो। निर्वाचनमा साधन स्रोतको चरम दुरूपयोग, हत्या–हिंसा र बुथ कब्जाका लज्जास्पद घटनाहरू घटायो,’ अध्यक्ष ओलीले प्रतिवेदनमार्फत् भनेका छन्।
प्रतिगमनको भाष्य गलत भयो
नागरिकले मतमार्फत् प्रतिगमनको भाष्यलाई गलत साविक गरेको ओलीले जिकिर गरेका छन्।
‘विगत डेढ वर्षदेखि स्थापित गर्न खोजिएको कथित प्रतिगमनको भाष्य र गठबन्धनका क्रियाकलापलाई जनताले धेरै हदसम्म विफल पारिदिएका छन्,’ ओलीले प्रतिवेदनमा भनेका छन्, ‘निर्वाचनमा हाम्रो पार्टीले पनि अपेक्षित सफलता हासिल गर्न सकेन। राजनीतिक स्थायित्व, राष्ट्रिय हितको रक्षा एवं समृद्धिका लागि नेकपा (एमाले) को बहुमत आवश्यक थियो। कम्तीमा पनि सबैभन्दा ठूलो दलको रूपमा सरकारको नेतृत्व गर्दै मुलुकलाई सही दिशा दिने हाम्रो अपेक्षा थियो। तर, परिणाम त्यसअनुरूप आउन सकेन। यसमा तत्कालीन सत्ता गठबन्धनले खडा गरेको घेराबन्दी, षड्यन्त्र, दुष्प्रचार र आक्रमणको भूमिका त छ नै, पार्टीभित्र देखापरेका व्यक्तिवादी प्रवृत्ति, विकृति, संगठनात्मक शिथिलता र अराजकता महत्त्वपूर्ण कारणका रूपमा रहेका छन्।’
सामाजिक असन्तुष्टिको लाभ राप्रपाले लियो
नवोदित पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई लोकरिझ्याइँको राजनीति गरेको, विचारविहीनको संज्ञा दिएका ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीको मत बढ्नुको कारण सामाजिक असन्तुष्टिको लाभ उठाएको रूपमा बुझेका छन्।
‘निर्वाचनबाट परम्परावादी–दक्षिणपन्थी शक्तिले पनि संसदमा आफ्नो उपस्थितिलाई उल्लेख्य ढंगले बढाएका छन्। पछिल्ला दिनमा जबर्जस्ती धर्मान्तरणले सिर्जना गरिरहेको सामाजिक असन्तुष्टि, प्रदेशहरूमा देखिएको बेथिति र राजनीतिक अस्थिरताको विषयलाई मुद्दा बनाएर यो शक्ति हिन्दू राज्य, संघीयताको खारेजी र राजसंस्था पुनःस्थापनाका मागमा अघि बढिरहेको छ,’ ओलीले प्रतिवेदनमा भनेका छन्।
वर्तमान सत्ताको विकल्प एमाले रहेन
उपनिर्वाचन परिणामले वर्तमान सत्ताको विकल्प एमाले हो भन्ने तथ्य खण्डित हुन पुगेको ओलीको निचोड छ।
उनले राजनीतिक प्रतिवेदनमा बारा २, चितवन २ र तनहुँ १ मा भएको निर्वाचनमा एमालेले संख्यात्मक क्षति नब्यहोरे पनि वर्तमान सत्ताको विकल्प एमाले हो भन्ने ‘निर्विवाद तथ्य’मा प्रश्न उठेको बताएका हुन्।
उपनिर्वाचनमा एमालेको मत घट्नुको कारणको खोजी गर्न पनि उनले मातहतका कमिटीलाई निर्देशन दिएका छन्।