नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा आशंका उब्जिएको बताएका छन्।
शनिबार काठमाडौंको नक्सालमा आयोजित भ्रष्टाचारविरूद्धको आन्दोलनमा सहभागी हुँदा उनले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आधारित भई कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने भन्दै स्थिर सरकार नहुनाले निष्पक्ष रूपमा भूटानी शरणार्थी प्रकरणबारे छानबिन हुने कुरामा शंका रहेको बताए।
जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरू बच्न नसक्ने बताए।
‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठीक भयो। सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ। हामीले खबरदारी गरिरहे भ्रष्टहरू छुट्दैनन्। हामीले यो गर्नसके राजनीतिक शुद्धिकरण र सुशासनको दिशामा जान सकिन्छ,’ उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन, अस्थिर सरकार त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दरोसँग कमद चाल्न सक्दैन। आशंका छ। राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा त्रुटी छ।’