धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडाध्यक्षहरूबीचको विवाद साम्य भएसँगै आइतबार दुई महिनापछि कार्यपालिका बैठक बसेको छ।
मेयर साम्पाङ अरू बेलाभन्दा नरम रूपमा प्रस्तुत हुँदै आफूबाट भएको 'प्रशासनिक त्रुटि' सच्याउन तयार भएपछि दुई महिनाभन्दा लामो समयदेखि चलेको मेयर-वडाध्यक्ष द्वन्द्व तत्काललाई साम्य भएको हो।
आइतबार बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङले वडाध्यक्षहरूलाई आफ्ना स्वकीय सचिवले पठाएको पत्रमा प्रशासनिक त्रुटि भएको र आगामी दिनमा त्यस खालको पत्र नपठाउने प्रतिबद्धता जनाए। यसपछि मेयर र वडाध्यक्षबीचको विवाद साम्य भएको वडाध्यक्षहरूले बताएका छन्।
बैठकमा वडाध्यक्षहरूको पाँच बुँदे मागको विषयमा वडा नम्बर १७ का अध्यक्ष तथा कार्यपालिका प्रवक्ता सूर्यबहादुर भट्टराई (मनोज) ले आफ्ना कुरा सुरूमै राखेका थिए।
पाँचबुँदे मागमध्ये उनले तीन वटा माग महत्वपूर्ण भएकाले मेयर साम्पाङले सम्बोधन गर्नुपर्ने बताएका थिए। त्यसपछि बैठकलाई सम्बोधन गर्दै मेयर साम्पाङले तीन वटै मागलाई सम्बोधन गरेको बताए।
मेयर साम्पाङले आफ्नो स्वकीय सचिवले पत्र पठाउनु प्रशासनिक त्रुटि भएको स्वीकार गर्दै तत्कालीन वरिष्ठ प्रशासकीय अधिकृतलाई पत्राचार गर्न निर्देशन दिँदा उनले पत्र नपठाएको र सचिवालयमार्फत पठाउँदा हुने भनेपछि उक्त त्रुटि हुन पुगेको बताए। आगामी दिनमा स्वकीय सचिवमार्फत त्यस खालको पत्र नआउने प्रतिबद्धता पनि उनले जनाए।
वडा नम्बर १० का अध्यक्ष विवेक राईलाई स्पष्टीकरण सोधेको पत्रको विषयमा भने उनले उक्त पत्र फिर्ता लिने तर कार्यपालिका बैठकमा असहमति जनाउँदा विधिसम्मत रूपमा जनाउनुपर्ने शर्त राखेका थिए।
यस्तै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यको राजीनामा माग पनि मेयर साम्पाङले फिर्ता लिएका थिए।
उनले तीन-चार पटक बैठक बोलाउँदा पनि नआएपछि मात्र राजीनामा मागेको बताए।
'बैठकमा बोलाउँदा नआएपछि मागेको हो। आज आउनुभयो त्यो अब सकियो,' मेयर साम्पाङले भनेका थिए।