भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा प्रहरीको नियन्त्रणमा परेका सांसद टोपबहादुर रायमाझीको पद तत्काल निलम्बन नहुने भएको छ।
प्रतिनिधिसभा नियमावलीमा न्यायिक हिरासतमा रहे मात्रै संसद पद निलम्बन हुने प्रावधान छ।
मंसिरमा भएको निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट निर्वाचित भएका हुन्।
कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी प्रहरीले संसदलाई जानकारी दिने प्रावधान छ।
भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार भएका थिए।
वैशाख २० गते प्रहरीले पक्राउ पुर्जी जारी गर्दा अर्घाखाँचीमा रहेका रायमाझी त्यसयता फरार थिए। वैशाख ३१ गते रायमाझीलाई बुढानिलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो।
प्रतिनिधि सभाका पूर्व सचिव गोपाल योगीले कुनै पनि सांसद पक्राउ परेर न्यायिक हिरासतमा रहेपछि पद निलम्बन हुने बताए।
'कुनै पनि सांसद प्रहरीको नियन्त्रणमा परेपछि त्यसको जानकारी संसदलाई दिनुपर्छ। त्यसपछि मात्रै अरू निलम्बनको प्रक्रिया अघि बढ्ने हो,' उनले भने, 'संसदको अधिवेशन चलिरहेको अवस्थामा सभामुखले बैठकमा जानकारी गराउने प्रावधान छ भने अधिवेशन नरहेको अवस्थामा सूचना टाँसेर जानकारी गराउने प्रावधान छ।'
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद रायमाझी पक्राउ परेको जानकारी अहिलेसम्म संसदलाई नगराइएको बताए।