प्रतिनिधि सभाका दश वटै विषयगत समितिको बैठक मंगलबार बस्ने भएको छ।
संघीय संसद सचिवालयका सचिव रोजनाथ पाण्डेका अनुसार सबै समितिको बैठक ९ बजे सुरू हुनेछ।
'यसरी १० वटै समितिको एकै दिन एकैपटक बैठक बस्न लागेको पहिलो पटक हो', पाण्डेले भने, 'त्यसपछि समितिहरूले आफ्ना काम अघि बढाउन सक्नेछन्।’
समितिको बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्नेछन्। समिति सभापति चयनका लागि अब सभामुखले निर्वाचनको मिति तोक्नेछन्।
प्रतिनिधि सभा नियमावलीले सभापति रिक्त भएको अवस्थामा पन्ध्र दिनभित्र चुनाव गर्नुपर्ने व्यवस्था छ। तर पहिलोपटक समिति गठन हुन लागेकाले सभामुखले निर्वाचनको मिति तोक्नुपर्नेछ।
प्रतिनिधि सभाका समितिहरु बढीमा २७ सदस्यीय हुने प्रतिनिधि सभा नियमावलीको व्यवस्था छ।
सभामुखले संसदको अघिल्लो अधिवेशनको अन्तिम दिन संसदीय समिति गठन गरेका थिए।
संसदीय समितिले काम सुरू गरेसँगै अब कानून निर्माणका लागि समितिहरूले छलफल अघि बढाउन सक्नेछन्।