‘मिनि संसद्’ मानिएको प्रतिनिधि सभाका १० वटै समितिको बैठक मंगलबार (आज) बस्दैछ।
सबै बैठक एकै समय पारेर बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ। संसदीय समितिहरूको बैठक बिहान ९ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।
जनजीविका र सार्वजनिक सरोकारका विषयमा सबै समिति एकै ठाउँमा छन्, साथसाथै छन् भन्ने सन्देश प्रवाह गर्न बैठक एकै समयमा राखिएको बताइएको छ।
संसद् हिउँदे अधिवेशन सकिँदासम्म पनि संसदीय समिति बनेका थिएनन्। प्रमुख तीन दलबीच नेतृत्व बाँडफाँटमा प्रारम्भिक समझदारी जुटेपछि ती समिति क्रियाशील हुन लागेका हुन्।
प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति छन् ।
समितिका सभापति चयन नभइसकेकाले बैठकको अध्यक्षता हाल समितिका ज्येष्ठ सदस्यले गर्ने परम्परा छ। समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, परिचय कार्यक्रम हुने र कार्यक्षेत्रबारे जानकारी गराइने कार्यसूची तय गरिएको छ।
संसद्मा दर्ता भई प्रतिनिधि सभाले सैद्धान्तिक-दफावार छलफलका लागि पठाएका विधेयकलाई टुंगोमा पुर्याउने जिम्मेवारी समितिको हुन्छ।
संसदीय समितिहरू करिब २५ सदस्यीय छन् ।