नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले समिति सञ्चालनका लागि आचारसंहिता बनाउनुपर्ने बताएका छन्।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समिति सचिव र सभापतिबीच छलफल भइसकेपछि समितिको बैठक बोलाइहाल्ने परम्परा रहेको भन्दै समितिको बैठक कति समयअघि बोलाउने र विषय वस्तुहरू कस्ता राख्ने भन्नेबारेमा आचारसंहिता बनाएर अघि बढ्न जरूरी रहेको बताए।
उनले समितिको बैठक आकस्मिक समय बाहेक अन्य समयमा बोलाउन निश्चित समय अवधि तोक्नुपर्ने बताए।
उनले समितिको विषयवस्तु छनोटको बारेमा पनि सोच्न जरूरी रहेको बताए। उनले समितिको बैठकमा प्रयोग हुने भाषाका सन्दर्भमा पनि आचारसंहितामा राख्न आवश्यक रहेको बताए।
उनले भने, ‘समितिले बैठक राख्दै गर्दा हाम्रो कस्तो खालको चलन बस्यो भने कुनै एउटा विषय आयो, सभापतिज्यूले बैठक राख्ने भन्नुभयो, भोलि यति बजे बैठक भनेर खबर पठाइदिनुभयो। सामान्यतया २४ घण्टाको समय पनि नराखिकन। सभापति र सचिवालयको बीचमा छलफल भइसकेपछि सबै सांसदहरू यो बैठकमा अनिवार्य उपस्थित हुन्छन् जस्तो गर्ने, यस्तै कारणले कतिपय योभन्दा अघि हामीले बैठकमा नै सहभागी हुँदैनौं भन्नुपरेको थियो।’
उनले भने, ‘आकस्मिक समयबाहेक अरू अवस्थामा सचिवालयले पहिलो बैठकमा नै कति घण्टा समय राखेर बैठकको बारेमा प्रस्ताव गरोस्। विधेयकबाहेक विषयवस्तु छनोट गर्ने सन्दर्भमा पनि सोच्नुपर्छ। समितिको बैठकमा जुन भाषा प्रयोग गर्न पनि पाउँछौं, जे बोल्न पनि पाउँछौं, भन्नेगरी बोलाइएको हुन्छ, कस्तो बोल्ने भन्ने, कसरी प्रस्तुत हुने भनेर आचारसंहिता बनाउनुपर्छ।’
सांसद थापाले समितिमा विधेयकको छलफलका लागि पनि कार्यतालिका बनाएर अघि बढ्न सुझाव दिए।