भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले आफूहरूलाई गैरभुटानी बनाउन लागेको भन्दै आशंका व्यक्त गरेको छ।
समितिका कार्यबाहक अध्यक्ष तिलक राईले विज्ञप्ति जारी गर्दै वास्तविक शरणार्थीलाई नक्कली बनाएर गैरभुटानीलाई शरणार्थी बनाउन लागेको भन्दै आशंका व्यक्त गरेका छन्।
अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणले आफूहरूलाई गम्भीर असर पुर्याएको उनले बताए।
यस घटनाप्रति भ्रर्त्सना गर्दै चार बुँदामा उनले सरकारको ध्यानाकर्षण समेत गराएका छन्।
‘स्वदेश फिर्ती र परिवार मिलनको आशामा कष्ठपूर्ण जीवन बिताइरहेका ६५०० भुटानी शरणार्थीहरू र खाट्टी तर पञ्जीकृत हुन बाँकी भुटानीहरूको हितलाई ध्यानमा राखेर नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने।
पहिलो बुँदामा शरणार्थी परिचय पत्र नविकरण गरेको ८ महिना बढी भइसक्दा पनि नयाँ परिचयपत्र नपाएको उनीहरूको गुनासो छ। परिचयपत्र वितरणमा ढिलासुस्ती गरिएकाले खाट्टी भुटानीहरू परिचयविहीन हुने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।
‘सम्बन्धित निकायको यस्तो कार्यले गैरभुटानीलाई भुटानी र खाट्टी भुटानीलाई गैरभुटानी बनाउन सक्ने गम्भीर आशंका पैदा गरेको छ। तसर्थ नविकरण भएर पनि रोक्का गरिएको शरणार्थी परिचय पत्र अविलम्ब वितरण गरियोस्,’ विज्ञप्तिमा भनिएको छ।
त्यस्तै शरणार्थीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न अन्तर्राष्ट्रिय समुदाय, विश्व मान्यता प्राप्त शरणार्थीसम्बन्धी विज्ञ संस्था, भुटानी शरणार्थीको आधिकारिक प्रतिनिधि र भुटान सरकारबीच बहुपक्षीय वार्ताको लागि सहजीकरण गरी वातावरण सिर्जना गर्न पनि भनेको छ।
तेस्रोमा नक्कली भूटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गरी दोषीमाथि कडा कारबाही गर्न भनिएको छ। आयोग गठन गरी विभिन्न कारणले पञ्जीकरणमा छुटेका खाट्टी भुटानीहरूलाई शरणार्थीको दर्जा प्रदान गरी पञ्जीकरणको मुद्दालाई समयमै फर्छ्यौट गर्न पनि माग गरिएको छ।
