मन्त्री पदबाट राजीनामा दिए पनि सरकारी गाडी प्रयोग गर्दै आएका लुम्बिनी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले डेढ महिनापछि मंगलबार गाडी फिर्ता गरेका छन्।
गत माघ २८ गते लुम्बिनीको सामाजिक विकास मन्त्री बनेका गुप्ताले चैत १२ गते राजीनामा दिएका थिए। त्यसपछि उनले सरकारी गाडी भने फिर्ता गरेका थिएनन्।
गुप्ताले मंगलबार दिउँसो मन्त्रालय पुगेर गाडी फिर्ता गरेको मन्त्रालयका सूचना अधिकारी लक्ष्मण ज्ञवालीले जानकारी दिए।
पूर्वमन्त्री गुप्ताले मन्त्री भएको समयमा मन्त्रालयबाट लगेको लु १ झ ७४१ नम्बररको गाडी मंगलबार मन्त्रालय ल्याएर बुझाएको ज्ञवालीले बताए।
'माननीयज्यूले आजै मन्त्रालयमा ल्याएर गाडी फिर्ता गर्नुभएको छ,' सूचना अधिकारी ज्ञवालीले सेतोपाटीसँग भने।
जनमत पार्टीको तर्फबाट रूपन्देही क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित सांसद गुप्ता तत्कालीन मुख्यमन्त्री लिला गिरी नेतृत्वमा सामाजिक विकास मन्त्री बनेका थिए। मन्त्रीबाट राजीनामा दिए पनि उनले मन्त्रीको हैसियतमा बुझेको सवारीसाधन फिर्ता गरेका थिएनन्।
गएको उपनिर्वाचनमा पिएसओ र सरकारी गाडीसहित बारा पुगेर निर्वाचन प्रचारप्रसारमा खटिएका गुप्ताले लु १ झ ७४१ नम्बरको स्कारपियो गाडीलाई सेतो नम्बर प्लेटको बनाएर आफैं प्रयोग गरिरहेका थिए।
लुम्बिनी प्रदेशमा तीन जना सांसद रहेको जनमत पार्टीबाट गुप्ता मन्त्रीका प्रमुख दाबेदार हुन्।