नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वसभासद आङटावा शेर्पालाई जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्ने अनुमति दिएको छ।
उनलाई अदालतले दुई दिन हिरासतमा राख्न अनुमति दिएको सरकारी वकिल कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।
सोमबार र मंगलबारको मिति कायम हुनेगरी म्याद थप भएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको थाहा पाएको भन्दै शेर्पा सोमबारै जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले उनीविरूद्ध पुर्जी जारी नभएको तर समाचारमा नाम आएपछि उपस्थित भएको बताएका थिए।
'उहाँविरूद्ध पक्राउ पुर्जी जारी भएको थिएन। विभिन्न मिडियामा हल्ला भएको थियो। थाहा पाएर उहाँ आफैं परिसरमा अनुसन्धानलाई सघाउँछु भनेर आउनुभएको हो,' कार्कीले भनेका थिए।
प्रहरीले उनीसँग सोधपुछ गर्दा उनको पनि संलग्नता देखिएपछि नियन्त्रणमा लिइएको हो।
'अनुसन्धान गर्न आवश्यक भएकाले हिरासतमा राख्न अनुमति लिएका हौं,' कार्कीले भने।
यो प्रकरणमा अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन्।
उनीहरू सबैको म्याद मंगलबार सकिने भएकाले बुधबार पुनः अदालत लगिनेछ।
पक्राउ पर्नेहरूमा केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, टेकनारायण पाण्डे, बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, आङटावा शेर्पा, रामशरण केसी र गोविन्द चौधरी छन्।
यस प्रकरणमा इन्द्रजितका छोरा निरज र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनीहरूलाई प्रहरीले फरार सूचीमा राखेको छ।
यो पनि पढ्नुहोस्- शरणार्थी प्रकरण चर्किएपछि पूर्वगृहमन्त्री खाणले बिचौलियालाई फिर्ता गरेका थिए १ करोड