लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट आह्वान गरेका छन्।
प्रदेश प्रमुख कार्यालयबाट आज जारी विज्ञप्तिमा प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नका लागि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट मङ्गलबार सिफारिस भई आएकाले सभाको दोस्रो अधिवेशन आह्वान भएको जनाइएको छ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ १२ गते शुक्रबार दिनका १ बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी) मा प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
यस्तै, प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले संविधानको धारा १८३ को उपधारा १ र धारा १६६ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेको लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम १ बमोजिम सूचना जारी गरिएको उल्लेख गरेका छन्।