नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा युवाको संख्या घट्दै जानु सुखद नरहेको बताएका छन्।
शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासंघको स्थापना दिवसका अवसरमा आयोजित 'राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला २०८०' को समापन समरोहलाई सम्बोधन गर्दै नेता कोइरालाले युवाले खोजिरहेको कुरा बुझ्न आवश्यक रहेको बताए।
'युवाले पार्टी र देशबाट के खोजिरहेको छ भन्ने बुझ्न जरूरी छ। उनीहरू देशमै नरहनु राम्रो संकेत होइन। युवालाई कांग्रेसमा कसरी आकर्षित गर्ने विषयमा महासंघले समेत भूमिका खेल्न जरूरी छ,' उनले भने।
पछिल्लो समय पार्टी जनतासँग टाढा भएको र सहर केन्द्रित भएको स्वीकार गर्दै उनले पुरानो बाटोमा पुनः यात्रा गर्न सुझाव दिए।
नेता कोइरालाले सांस्कृतिककर्मीलाई पार्टीले चिन्न नसकेको समेत स्वीकार गरे।
'कलाकारलाई चिन्ने र बुझ्ने गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) हुनुहुन्थ्यो। अहिले त चुनावका बेलामा सहयोग चाहिँदा मात्र सम्झिने गरेका छौं,' उनले भने, 'समयानुकूल परिमार्जित गर्दै महासंघलाई अगाडि बढाउन जरूरी छ। यहाँ कांग्रेस नभए पनि लोकतान्त्रिक विचार राख्ने कलाकर्मीलाई समेट्न अझै मेहनत गर्नुस्।'