राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले भारतले उसको संसद भवनमा नेपाली भूभागसहित नक्सा राखेको विषय कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्।
भरतपुर विमानस्थलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नक्सा राखिएको विषयमा पार्टीको चासो रहेको बताए।
उनले यही असार ७ गते सातै प्रदेशका ७७ वटा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी बजाउने अभियान रहेको जानकारी पनि दिए।
'सबै जिल्लामा ७७ पटक घन्टी बजाएर ऐक्यबद्धता जनाउने कार्यक्रम छ,' उनले भने।
पार्टीले आवश्यकताअनुसार सदन, टोल, बस्ती सबैतिर काम गर्दै जाने उनले बताए।
लामिछानेले सरकारले ल्याएको बजेटमा आफ्नो असन्तुष्टि रहेको पनि बताए।
उनले भने, 'बजेट जुन ढंगले वितरण हुन्छ, त्यसको असर मेरो निर्वाचन क्षेत्रमा पनि परेको छ। श्रमदान गरेर बजेट खोजेर पनि कैयौं आयोजना निर्माण गर्नेछौं। दीर्घकालीन आयोजनाका लागि स्थानीय सरकारको पनि जिम्मेवारी हुने भएकाले स्थानीय सरकारसँग पनि परामर्श गर्नेछौं।'
लामिछानेले स्थानीय विकासका कतिपय विषयमा संसदको अधिकार क्षेत्रभन्दा बाहिर गएर कुरा राख्न नमिल्ने बताए।
'स्थानीय सरकारको अधिकारको विषयमा संघीय सांसदले बोल्नु हुँदैन,' उनले भने।
चितवन–२ का सांसदसमेत रहेका लामिछानेले रामनगर मात्र नभएर आफ्नो निर्वाचन क्षेत्रमा अन्य परियोजनाहरू सञ्चालन गर्नेबारे तयारीमा रहेको जानकारी दिए।
'अध्ययन गरेपछि आवश्यक पर्ने काम गर्दै जानेछौं। हामी आवश्यकताअनुसार काम गर्दै जानेछौं। युवाहरूले प्रोत्साहन गर्ने ठाउँहरूमा पनि छौं,' लामिछानेले भने।
रामनगरमा खानेपानीको समस्या भएर नै श्रमदानमा पानीको आयोजना निर्माण गरेको उनले बताए।