काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सन् २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिएको बताएका छन्।
ब्राजिलको साओ पाउलोमा बुधबारबाट सुरू भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा सहभागी हुन पुगेका मेयर बालेनले उक्त कुरा बताएका हुन्।
बिहीबार भएको 'मेयरल राउन्ड टेबल' कार्यक्रम अन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित मेट्रोपोलिस नीति बहसमा बालेनले उक्त धारणा राखेका थिए।
'हामीले देखेका, भोगेका र अनुमान गरेका समस्या समाधानका उपाय हामीसँगै छन्,' उनले भने, 'ठूला सहर केन्द्रित बसाइँसराइ निरूत्साहित गर्नुपर्छ। स्याटलाइट सहरहरूमा ठूला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीसहितको सुविधा र अवसर दिनुपर्छ। यसले जनसंख्याको एकत्रित चाप रोकिन्छ।'
यस्तै, फरक प्रकृतिको भौगोलिक अवस्थितिमा जनसंख्याको सन्तुलन कायम गराउन मद्दत पुर्याउने उनको भनाइ थियो। जसले सहरी विकास र सुविधा वितरण व्यवस्थापनमा योगदान हुने उनले बताए।
'बसाइँसराइले सहरी चाप बढ्ने मात्र होइन, गाउँठाउँका मौलिक संस्कृति पनि नासिन्छन्,' उनले भने, 'भाषा पनि नासिन्छ। ग्रामीण जीवनसँग जोडिएका विविध आयाम जोगाउन पनि यस्ता नीतिको खाँचो छ।'
नीति बहस सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रित थियो। बहसमा ठूला महानगरपालिकाका मेयरहरूको सहभागिता थियो।
बैठकमा सहभागी हुन बालेन असार ३ गते ब्राजिल गएका थिए। उनी शनिबार स्वदेश फर्किँदै छन्।