नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओेवादी एक्लै निर्वाचन लड्ने बताएका छन्।
शनिबार घोराहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न माओवादी सक्षम रहेको बताए।
माओवादीले अहिले सत्ताभन्दा पनि जनतालाई प्राथमिकतामा राखेर देशव्यापी रूपमा सुशासन, समृद्धिको अभियान चलाएको भन्दै अध्यक्ष प्रचण्डले अभियानका क्रममा देखिएका जनता शक्ति भएको बताए।
आगामी निर्वाचनमा कुनै पार्टीसँग सहकार्य वा तालमेल गर्ने अवस्था नरहेको स्ष्पट पार्दै अध्यक्ष प्रचण्डले भने,‘माओवादीलाई एक्लै निर्वाचन लड्न नसक्ने पार्टी भन्ने आरोपलाई चिर्नका लागि एक्लै निर्वाचनमा जान्छ, कसैको साथ लिँदैन। माओवादी अरूको वैशाखी टेक्ने होइन, बरू अरूलाई टेकाउने पार्टी हो।’
अध्यक्ष प्रचण्डले माओवादीले एक्लै निर्वाचन लड्नका लागि गएको उपनिर्वाचनबाट अभ्यास सुरू गरिसकेको र उपनिर्वाचनले राम्रो संकेत गरेको बताए।
अध्यक्ष प्रचण्डले माओवादी सत्ता प्राप्तिको पक्षमा नरहेको भन्दै पार्टीको प्राथमिकता सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि भएको बताए।
देशमा सुशासन, सामाजिक न्याय र र समृद्धिका लागि माओवादीलाई स्पष्ट बहुमत आवश्यक रहेको बताए।
माओवादी अरू पार्टी जस्तो नभएको दाबी गर्दै अध्यक्ष प्रचण्डले भने,‘माओवादी सत्ताका लागि मरिहत्ते गर्ने पार्टी होइन फरक पार्टी हो। कामबाट नै त्यो पुष्टि भइरहेको छ। माओवादीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई मुख्य मुद्दा बनाएर अघि बढेको छ। सत्ताको खेलमा छैन।’
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कार्यहरू पूरा गर्न कांग्रेस र एमालेसँग सहकार्यको आवश्यकता रहेको बताए।
विगतमा सहमति गरेका दलहरू विभाजित हुँदा राम्रो सन्देश नजाने र शान्ति सम्झौताका बाँकी कार्यभार पूरा गर्न अप्ठ्यारो हुने भएकाले एजेण्डाका रूपमा फरक भए पनि शान्ति सम्झौतालाई निष्कर्षमा पुर्याउनका लागि मिल्न आवश्यक रहेको बताए।
पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले विपक्षी दलहरू एकजुट भएर सरकारका गलत कदमविरूद्ध लाग्ने र छिट्टै समाजवादी मोर्चालाई क्रियाशिल बनाएर अघि बढ्ने बताए।