समाजवादी मोर्चामा आवद्ध तीन कम्युनिस्ट घटकले झापाको सुखानीमा पञ्चायतविरोधी आन्दोलनका क्रममा मारिएका चार सहिदको शालिक तोडफोड गरेकामा आपत्ति जनाएका छन्।
सुखानी स्मृति दिवसका अवसरमा बुधबार विज्ञप्ति जारी गर्दै उनीहरूले सहिदहरूको बलिदान, जनताको आकांक्षा र समाजवाद प्राप्त गर्ने लक्ष्यमा विभिन्न गोलचक्कर, विभाजन, स्वार्थ केन्द्रहरूको योजना र विभिन्न आवरणका दलालीको प्रभावमा परेको बताएका छन्।
नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै ‘सामन्तलाई नगिँडे, सैनिकसँग नभिडे आउँदैन साम्यवाद भाषण ठोकेर’ भन्ने सहिदहरूसँगै अभियानमा हिँडेकाहरु अहिले कम्युनिस्ट आन्दोलनका नाममा कम्युनिस्ट आन्दोलनलाई नै भ्रमित पार्न उद्यत् रहेको आरोप उनीहरूले लगाएका छन्।
विज्ञप्तिमा कम्युनिस्ट आन्दोलनका नाममा कम्युनिस्ट आन्दोलनलाई नै भ्रमित पार्ने पश्चगामी कदमहरू, नयाँ अनुहारको नाममा नयाँ खोजिरहेको समाजलाई पुरानै मान्यता दिएर भ्रमित गर्ने प्रवृत्ति र जनताले अस्वीकृत गरिसकेको साथै इतिहास बनिसकेको राजतन्त्रलाई फर्काउन खोज्ने प्रवृत्ति नेपाली समाजलाई उल्टो बाटो हिंडाउने तथा देशलाई दुर्घटनामा लैजाने प्रवृत्ति भएको ठहर उनीहरुले गरेका छन्।
‘यी प्रवृत्तिहरूलाई राम्रोसँग पहिचान गर्नु, जनतालाई बुझाउनु र समाजलाई सुल्टो बाटो हिंडाउनुनै अहिलेको मुख्य कार्यभार हो र सुल्टो बाटो भनेको समाजवाद नै हो,’ विज्ञप्तिमा भनिएको छ।
उनीह/"ले सुखानीमा उभिएर सहिदहरूलाई सम्झिँदै आफूहरू नेपाली समाजको अग्रगमनको यात्रालाई समाजवादसम्म पुर्याउन जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए।
जनताका महान आन्दोलन र बलिदानहरूलाई दुत्कार्ने, सहिदहरुको शालिक ढाल्ने, जस्ता कुरा गर्ने समाजमा अफवाह फैलाउने, जनविरोधी तत्त्वहरूलाई जनताको निरन्तर अगाडि बढ्ने चाहनाको विरुद्ध आउने जस्तोसुकै षड्यन्त्र र भ्रमहरू ध्वस्त बनाइने चेतावनी उनीहरूको छ।
विज्ञप्तिमा माओवादी केन्द्रका झापा इन्चार्ज रञ्जित तामाङ, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष बेदराज रेग्मी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका इन्चार्ज सुमन सिंहले हस्ताक्षर गरेका छन्।
२०२९ फागुन २१ गते आजैका दिन कम्युनिस्ट आन्दोलनका चार नेताहरू नेत्र घिमिरे, वीरेन राजवंशी, रामनाथ दाहाल, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई इलामको दानाबारी (हाल माई नगरपालिका) स्थित सुखानी जंगलमा गोली हानी हत्या गरिएको थियो ।
उक्त दिनको स्मरणमा कम्युनिस्ट घटकहरुले सुखानी दिवस मनाउने गरेका छन् ।