निर्वाचन आयोगमा कायम रहेका १२१ वटा दलहरूमध्ये ८९ वटा दलले मात्रै समयमै लेखापरीक्षण प्रतिवेदन बुझाएका छन्।
अन्य ३२ दलले अहिलेसम्म पनि प्रतिवेदन बुझाएका छैनन्।
लेखा परीक्षण प्रतिवेदन समयमै नबुझाउने ती दलहरूलाई आयोगले काराबाहीको तयारी गरेको थालेको छ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आयोगकी प्रवक्ता निता पौडेल अर्यालले दलहरूले लेखा परीक्षण प्रतिवेदन समयमै बुझाउनुपर्नेमा ३२ वटाले अहिलेसम्म नबुझाएको बताए। उनकाअनुसार समयमै त्यस्तो प्रतिवेदन नबुझाउने दललाई कारबाहीको तयारी समेत गरिएको छ।
उनले भनिन्, ‘निर्वाचन आयोगले अडिट रिपोर्ट नबुझाउने दलहरूलाई जरिवाना गर्न काराबाहीको प्रक्रिया अघि बढाउँदैछौं। अहिलेसम्म काँग्रेस, एमाले, माओवादी सहितका ८९ दलले मात्रै विवरण बुझाएको देखिन्छ।’
उनकाअनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र दलहरूले आयव्ययसहितको अडिट रिपोर्ट निर्वाचन बुझाएर सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था छ।
अहिलेसम्म दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ वर्षको आय—व्यय विवरणअनुसार नेकपा एमाले सबभन्दा धनी मात्र नभएर नाफामा रहेको एक मात्र पार्टीका रूपमा देखिएको छ।
निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण हेर्दा अन्य दलहरूको तुलनामा एमाले सबभन्दा धनी देखिन्छ।
एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख ५ हजार आम्दानी गरेको छ।
आयोगकाअनुसार एमालेले ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ भने करिब ७ करोड रुपैयाँ बचत गरेको छ।
यस हिसाबले एमालेले यो वर्ष ६ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ। एमालेको मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क हो।
एमालेले यो शिर्षकमा आर्थिक वर्ष २०८०/८१ मा कार्यकर्ताहरूबाट ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ संकलन गरेको छ।
त्यस्तै, संसदको दोस्रो ठूलो पार्टी नेपाली कांग्रेस भने आम्दानीका हिसाबले नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पनि कमजोर देखिएको छ।
कांग्रेसले २ करोड ३२ लाख रुपैयाँ घाटा निर्वाचन आयोगमा पेस गरेको छ। उसको गत आर्थिक वर्षको आम्दानी जम्मा २ करोड ५९ लाख रुपैयाँ छ। खर्च ४ करोड रुपैयाँ देखाएको छ। कांग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा हो। चन्दाबाट मात्रै उसले १ करोड ७३ लाख ९४ हजार ४३९ रुपैयाँ संकलन गरेको थियो।
त्यस्तै, संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र आम्दानीको हिसाबले पाँचौंमा देखिएको छ। माओवादी केन्द्रको गत आर्थिक वर्षको आम्दानी १ करोड ८६ लाख ५३ हजार रुपैयाँ रहेको निर्वाचन आयोगले जनाएको छ। माओवादीले ५३ हजार घाटाको हिसाब देखाएको छ।
त्यस्तै, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले गत आर्थिक वर्षमा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गर्दा खर्च भने ६ करोड ५० लाख भएको लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गरेको छ। रास्वपाको भने आम्दानीभन्दा झन्डै दोब्बर घाटामा छ। —न्युज एजेन्सी नेपाल