प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्य सचिव नियुक्तिको विषयमा प्रश्न उठाएकी छन्।
मन्त्रिपरिषदको बुधबारको बैठकले स्वास्थ्य सचिवमा डा.विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो।
बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले सिफारिस र वरिष्ठताका आधारमा पहिलो नम्बरमा भएकी डा. संगीता कार्कीलाई पन्छाएर नियुक्ति गरिएको भन्दै प्रश्न गरेकी हुन्।
'क्याबिनेटले यस्तो निर्णय किन गर्यो। पुरूष मन्त्रीले महिला सचिवसँग कामै गर्न नसक्ने हो? कि महिला नेतृत्व स्वीकार नगरिएको?,' उनले भनिन्।
उनले यस विषयमा प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र सामान्य प्रशासन मन्त्रीले जबाफ दिनुपर्ने बताइन्।
कार्कीले संविधानको धारामा राखिए पनि महिलामाथि हेर्ने राज्यको दृष्टिकोण परिवर्तन हुन नसकेको बताइन्।
'आमाको नाममा नागरिकता दिइने प्रावधान त राखियो तर विधेयक ल्याउँदै गर्दा बुवाको ठेगाना नभएमा, लापता भएमा, स्वघोषणा गरिएमा भन्ने शर्तहरु राखियो,' उनले भनिन्।
२५ सदस्यीय मन्त्रिपरिषदमा पनि ३३ प्रतिशत नपुग्नेगरी तीन जना मात्रै महिला मन्त्री रहेको उनले बताइन्।
'निर्वाचनहरूमा महिलाहरूमा जानाजान उप र सहपदमा टिकट दिइन्छ, प्रत्यक्षबाट नभई समानुपातिकबाट महिलाको संख्या पुर्याउनका लागि मात्र महिलालाई सांसद बनाइन्छ,' उनले भनिन्।