प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले पाथीभरामा केबलकार निर्माण प्रक्रियालाई सहजीकरण गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाामा सांसद पौडेलले वार्ता, सहमति र सम्झौताको विधि अपनाएर मुक्कुम्लुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजीकरण गर्न अनुरोध गरेका हुन्। साथै अहिले भएको भनिएको वार्ताको प्रगतिबारे पनि प्रश्न गरेका छन्।
उनले मुक्कुम्लुङमा सरकारले गरिरहेको दमनको बाटो गलत रहेको पनि बताए।
तर, सरकारले गर्न नसकेको कार्यहरू निजी क्षेत्रहरूले गर्दै आएको र ऊर्जा पर्यटन कृषिजस्ता क्षेत्रहरूमा अझ बढी लगानीको आवश्यकता भएको कुरामा हामी सबै प्रष्ट हुनुपर्ने उनले बताए।
'निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो। निकै कमजोर आर्थिक अवस्थाबाट अगाडि बढिरहेका चन्द्र ढकालजस्ता व्यवसायीहरूलाई प्रोत्साहन गर्न र केबलकार निर्माण प्रक्रियालाई सहजीकरण गर्न सरकारसँग आग्रह छ' उनले भने।