अमेरिकी र युक्रेनी उच्च अधिकारीहरूबीच अर्को साता भेटवार्ता हुने निश्चित भएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्को साता अमेरिकी र युक्रेनी उच्च अधिकारीहरूबीच भेटवार्ता हुने निश्चित भएको बताएका छन्।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार जेलेन्स्कीले बिहीबार वक्तव्य जारी गर्दै चाँडै नै दुई देशका उच्च अधिकारीबीच भेटवार्ता हुने बताएका हुन्।
'युक्रेनी र अमेरिकन टोलीले फेरि काम सुरू गरेका छन्। अर्को साता सार्थक वार्ता हुनेछ भन्नेमा आशावादी छौं,' जेलेन्स्कीले भनेका छन्।
उनले वार्ता मंगलबार नै हुने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकफले बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा युक्रेनसँग वार्ताको पहल भइरहेको बताएका थिए।
'वार्ताको तयारी गर्दैछौं। त्यो रियाद वा जेद्दामा हुनसक्छ,' उनले भने, 'वार्ताले शान्ति सम्झौता र प्रारम्भिक युद्धविरामको खाका तयार गर्नेछ।'
विटकफले ह्वाइट हाउसको चर्काचर्कीपछि जेलेन्स्कीको पहिलो पत्रले नै वार्तालाई पुनः सुरु गर्न भूमिका खेलेको बताए।
'राष्ट्रपति जेलेन्स्कीले त्यो सद्भावपूर्ण बाटोमा फर्कने चाहना राखेको देखाउनुभयो, आत्माआलोचना गर्नुभयो, उहाँले शान्तिको लागि काम गर्न चाहेको बताउनुभएको छ,' विटकफले भने।
विटकफले जेलेन्स्की खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार भएको पनि बताए।
राष्ट्रपति जेलेन्स्कीले उक्त बैठकमा रूसबाट धेरै प्रतिबद्धताहरूमा जोड दिने बताएका छन्।
'युक्रेनीहरू वास्तवमै शान्ति चाहन्छन्। तर आफ्नो भूभाग गुमाएर होइन,' जेलेन्स्कीले भने,' तर रूस साँच्चै युद्ध त्याग्न तयार छ कि छैन भन्ने प्रश्न मूल हो,' जेलेन्स्कीको भनाइ उद्धृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ।
ह्वाइट ह्वाइसमा चर्काचर्की भएको ७२ घन्टामै ट्रम्पले युक्रेनलाई दिँदै आइको सैन्य सहायतालाई अस्थायी रूपमा रोक लगाएका छन्।
मंगलबार अमेरिकी संसदलाई सम्बोधन गर्ने क्रममा पनि ट्रम्पले सम्झौताका लागि आफू तयार रहेको ब्यहोरासहितको पत्र पठाएको बताएका थिए।
'युक्रेनको सुरक्षा र खनिज सम्झौता विषयमा जुनसुकै बेला पनि गर्न तयार छु। युक्रेनमा युक्रेनीहरूभन्दा बढी शान्ति अरू चाहँदैनन्। त्यसैले सक्दो चाँडो फेरि छलफलमा बस्न तयार छु भनेर जेलेन्स्कीले पत्राचार गरेका छन्,' ट्रम्पले कंग्रेसमा भनेका थिए।
पत्रमा जेलेन्स्कीले युक्रेनको सार्वभौम सत्ता र स्वतन्त्रता सुनिश्चित गर्न अमेरिकाले गरेको सहयोगको प्रंशसा गरेको पनि ट्रम्पले बताएका थिए।
'ट्रम्पको बलियो नेतृत्वसँग काम गर्न तयार भएको भनेका छन्। पत्र पठाउनू प्रंशसायोग्य,' ट्रम्पले भनेका थिए।
सँगसँगै रूससँग पनि वार्ता गरिरहेको ट्रम्पले बताएका थिए।
'उनीहरू पनि शान्तिका लागि तयार छन् भन्ने प्रष्ट संकेत मिलिरहेको छ। यो भन्दा राम्रो के हुन्छ?,' ट्रम्पले भनेका थिए।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका कर्मचारी प्रमुख एन्ड्री यर्मार्कले पनि बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सुरक्षा सल्लाहकार माइकल वाल्जसँग टेलिफोन वार्ता गरेका थिए।
टेलिफोन संवादपछि उनले दुई देशका अधिकारीबीच चाँडै वार्ता हुने बताए।
टेलिफोन संवादमा युक्रेनमा शान्ति स्थापनाका लागि आगामी कदमहरूबारे कुराकानी भएको थियो।
'हामीले सुरक्षाका सवाल र दुई देशबीचको सम्बन्धबारे एकअर्कको दृष्टीकोण राख्यौं। शान्ति स्थापना गर्ने महत्त्वपूर्ण विषयमा काम गर्न दुई देशका अधिकारीहरूबीच चाँडै भेट्ने विषयमा सहमत भएका छौं,' उनले त्यतिबेला भनेका थिए।