काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते राजावादीहरूको प्रदर्शन क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनाका लागि दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सकिएपछि अहिले मध्यरात उक्त आदेश आएको हो।
इजलासले उक्त हिंसात्मक घटनामा संलग्न भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई कारागार पठाएको छ। बाँकी ३२ जनालाई भने धरौटीमा छाड्न आदेश दिएको छ।
थुनछेकका लागि तीनकुने घटनाका 'जनकमान्डर' भनिएका प्रसाईंसहित ३९ जना प्रतिवादीलाई इजलास बाहिर राखिएको थियो।
चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर प्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो। त्यस्तै निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो।
त्यस घटनामा सरकारी वकिलको कार्यालय काठमाडौंले ६१ जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा जेठ ११ गते मुद्दा दायर गरेको थियो।
५० जनाविरूद्ध आपराधिक उपद्रव, राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो। त्यसमध्ये दुर्गा प्रसाईंसहित ८ जनाविरूद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग समेतमा मुद्दा दायर भएको थियो।
त्यसबाहेक ११ जनाविरूद्ध आपराधिक उपद्रवमा मात्रै मुद्दा दायर भएको थियो। उनीहरू सबै जना धरौटी बुझाएर छुटिसकेका छन्।
५० जनामध्ये ३९ जना मात्रै प्रहरीको सम्पर्कमा रहेकाले उनीहरूको प्रक्रिया अघि बढाइएको थियो। उनीहरूको जेठ १२ गतेदेखि २० गतेसम्म बयान लिइएको थियो। त्यसपछि सुरू भएको थुनछेक बहस बिहीबार सकिएपछि आदेश आउन लागेको हो।