मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिए पनि मुख्यमन्त्रीमा दाबी पेस हुन सकेको छैन।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि दिएको सात दिनको समय शुक्रबार अपराह्न ४ बजे सकिएको हो।
तर उक्त अवधिमा कुनै पनि राजनीतिक दलले मुख्यमन्त्रीमा दाबी पेस गरेनन्।
समयसीमा सकिएपछि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले प्रदेश प्रमुख कर्णसँग भेट गरी सरकार गठनका लागि थप समय माग गरेका छन्।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले सात दिनको समयमध्ये चाडपर्व र एमालेको महाधिवेशनका कारण राजनीतिक छलफलका लागि पर्याप्त समय नपुगेको बताए।
तीन दलका करिब ६१ जना प्रदेशसभा सदस्यको प्रतिनिधित्व गर्ने नेताहरूले सहमति जुटाउन केही दिन थप समय दिन प्रदेश प्रमुखसँग आग्रह गरेको उनले जानकारी दिए।
यादवले राजनीतिक सहमतिका लागि विभिन्न पक्षमा छलफल भइरहेको भए पनि निष्कर्षमा पुग्न नसकिएको बताए।
थप समय दिने वा नदिने भन्ने निर्णय प्रदेश प्रमुखको तजबिजमा रहेको उनको भनाइ छ।
यता मधेस प्रदेश सभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले भने संविधानको धारा १६८(३) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेको छ।
जसपा नेपालका मधेस प्रदेशसभा सदस्य एवं पूर्वमुख्यमन्त्री लालबाबु राउतले धारा १६८(२) अनुसार सरकार गठनका लागि दिइएको समय सकिएकाले अब स्वतः १६८(३) अनुसार अघि बढ्नुपर्ने बताए।
उनले समयसीमा सकिइसकेको अवस्थामा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका रूपमा आफ्नो पार्टीका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने बताए।
मधेस प्रदेशमा सरकार गठनका लागि दलहरूबीच सहमति जुट्न नसक्दा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अन्योलमा परेको छ।
प्रदेश प्रमुख कर्णले भने थप समय दिने वा संविधानको अर्को व्यवस्थाअनुसार सरकार गठन प्रक्रिया अघि बढाउने भन्नेबारे निर्णय गरिसकेका छैनन्। –न्युज एजेन्सी नेपाल