कैलालीमा एक जना शिक्षकको मृत्यु भएको घटनामा तीन जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका – ५ घर भइ जानकी गाउँपालिका – ४ को मनुवास्थित जनता माध्यमिक विद्यालयका शिक्षक रहेका ४५ वर्षीय जगदीश पन्तको शनिबार (साउन ३ गते) बेलुकी मृत्यु भएको थियो।
घटनामा त्यस रात उनीसँगै रहेका तीन जनालाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले जानकारी दिए।
शनिबार साँझ टीकापुर नगरपालिका-१ को एउटा रेस्टुरेन्टमा पन्त आफ्ना साथीहरूसँगै एउटा मदिरा पिउँदै थिए। मदिरा पिउँदा पिउँदै पन्त ढलेपछि उनका साथीहरूले परिवारलाई खबर गरेका थिए।
परिवार उपस्थित भएपछि तीनै जना साथीहरु मिलेर पन्तलाई टीकापुर अस्पताल पुर्याएका थिए। उनको उपचारका क्रममा राति ११ बजे मृत्यु भएको एसपी राणाले जानकारी दिए।
कैलालीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार आइतबार शिक्षक पन्तका घर परिवारले तीन जनाविरूद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीमा ती तीन साथीहरू मिलेर विष खुवाएको उल्लेख छ।
घटनास्थलमा ‘सल्फास’ नामक बिषादीको बट्टा फेला परेको डिएसपी सिंहले सेतोपाटीलाई बताए।
परिवारको जाहेरीका आधारमा टीकापुर नगरपालिका– १ चारकठ्ठाका ३२ वर्षीय वीरेन्द्र हमाल, सोही वडाका –३६ वर्षीय लोकेन्द्र रावल र जानकी गाउँपालिका– ९ अमरावतीका ३४ वर्षीय सुनिल रावललाई जोहरी परेकै दिन पक्राउ गरिएको हो।
आइतबार अदालतबाट म्याद थप भइसकेको र पक्राउ परेकाहरुको बयान लिने तथा थप अनुसन्धान सुरु हुने डिएसपी सिंहले बताए ।
डिएसपी सिंहकाअनुसार पोष्टमर्ट रिपोर्ट आउन बाँकी नै छ। त्यसपछि थप कुरा खुल्ने उनले बताए।
यद्यपि विषादी सेवनबाटै उनको मृत्यु भएको आकलन छ।
विषादीको बट्टा भेटिनु र मृतकले मुखबाट फिँज काडेको जस्तो देखिनुले उनले विष सेवन गरेकोजस्तो देखिने डिएसपी सिंहले बताए।
उनले कसरी सेवन गरे भन्ने अनुसन्धानकै क्रममा रहेको उनले बताए।