नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको निर्वाचन प्रणाली फेरेर गुट भत्काउनुपर्ने बताएका छन्।
विपी नेपाली स्मृति दिवसको सन्दर्भमा कांग्रेस चितवनले भरतपुरमा गरेको विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले नेपाली कांग्रेसको डिजाइन नै गुट बनाउने गरी गरिएको बताए।
‘अहिलेको पार्टीको डिजाइन नै गुट बनाउने खालको छ। त्यसलाई भत्काइदिऊँ। गुट प्रणाली भत्काउन क्रियाशील सदस्यले सभापति छान्ने विधान बनाउन लागौं,’ थापाले भने, ‘विधान संशोधन गरेर दस लाख पार्टी सदस्यले सभापति छान्ने विधि बनायौं भने पार्टीमा गुट केही पनि रहँदैन।’
उनले यसो गर्दा सभापति बन्न चाहने मान्छेले देशभरका कार्यकर्ताको मन जित्ने प्रयास गर्ने बताए। तर अहिलेको नेतृत्व छान्ने पिरामिड जस्तो प्रणालीले केही व्यक्तिको मात्रै मन जिते हुने हुनाले गुट बढेको उनको भनाइ थियो।
‘एकातिर सत्ताको लोभ छ, अर्कातिर पुरै पार्टी कार्यकर्तालाई अधिवेशनमा लगाइएको। यहाँ कसैलाई जित्ने, कसैलाई अर्कालाई हराउने चिन्ता भन्दा केही छैन,’ थापाले भने, ‘वडादेखि नै क्रियाशील सदस्यले प्रत्यक्ष भोट हालेर नेतृत्व चुन्ने विधान बनाइयो भने समस्या हट्छ।’
महामन्त्री थापाले विधान संशोधन गरेर पार्टीमा सुधार गर्ने मौका आएको बताए।
‘अहिलेका सभापतिको यो अन्तिम कार्यकाल हो। उहाँलाई धेरै कुरा भनेर भएन। हामीले यो च्यालेन्ज स्वीकार गर्नुपर्छ। विधान संशोधन गरौं। म तयार छु,’ उनले भने।
महामन्त्री थापाले पार्टीमा अब जो सुकै सभापति भए पनि २०८४ सालको निर्वाचनमा कांग्रेसका कार्यकर्ताले रुख बाहेकका चिन्हमा भोट हाल्न नपर्ने दाबी गरे।
‘यसअघिका चुनावमा ठूलो राजनीतिक अपराध भयो। कांग्रेसमा ठूलो समस्या ल्यायो। चितवनले यसको धेरै मार खेप्यो। यस विषयमा हामीले निर्णय गरिसकेका छौं। महासमितिले पारित गरिसकेको छ। म सभापति बनौंला, नबनौंला तर अबको चुनावमा हाम्रा कार्यकर्ताले रुखबाहेकको चिन्हमा भोट हाल्नपर्दैन,’ उनले भने।