राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीलाई बलियो राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न पुस्तान्तरणसँगै रूपान्तरण अपरिहार्य रहेको बताएका छन्।
बुधबार हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले राप्रपाको आगामी महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रियामा मात्र सीमित हुन नहुने बताए।
महाधिवेशन आगामी स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन, नेतृत्व, कार्यशैली र राजनीतिक कार्यदिशा परिवर्तन गर्ने अवसर बन्नुपर्ने उनको भनाइ थियो।
‘राप्रपाको महाधिवेशन सिर्फ नेता छान्नका लागि मात्र होइन, आगामी निर्वाचन जित्ने रणनीति निर्माण गर्न र पार्टी रूपान्तरणमा केन्द्रित हुनुपर्छ। पुस्तान्तरणसँगै रूपान्तरण गर्न सकेनौँ भने आगामी प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचनमा राप्रपाले अपेक्षित सफलता हासिल गर्न सक्दैन,’ उनले भने।
शाहीले चुनाव आउँदा कहिले एमालेको त कहिले कांग्रेसको राजनीतिक कोटा ताकेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए। राप्रपा अरू राजनीतिक दलको सहारा र कोटामा निर्भर नभई आफ्नै विचार, संगठन र नेतृत्वको बलमा निर्वाचन जित्न सक्ने पार्टी बन्नुपर्नेमा उनले जोड दिए।
‘हामी अरूको राजनीतिक बैसाखी टेकेर होइन, आफ्नै शक्तिमा उभिएर चुनाव जित्ने पार्टी बनाउन चाहन्छौँ। त्यसका लागि पुस्तान्तरणसँगै रूपान्तरण आवश्यक छ। गुट र उपगुट होइन, एकता र संगठन निर्माण हाम्रो प्राथमिकता हुनुपर्छ,’ उनले भने।
शाहीका अनुसार अबको महाधिवेशन पार्टीभित्र पद र नेतृत्व बाँडफाँट गर्ने माध्यम मात्र नभई नयाँ पुस्ताको उदय, नयाँ सोच र नयाँ ऊर्जासहित राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने अवसर हुनुपर्छ।
उनले महाधिवेशनको सफलता नेतृत्व परिवर्तनमा मात्र नभई पार्टीको संगठनात्मक रूपान्तरण, आगामी निर्वाचनको तयारी र आफ्नै राजनीतिक शक्तिमा उभिएर चुनाव लड्ने सामर्थ्य विकास गर्नमा देखिनुपर्ने धारणा व्यक्त गरे।