सत्ता साझेदार दुई दलका शीर्ष नेताहरूबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल तथा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकबीच कुराकानी भएको हो।
उक्त छलफलमा महान्याधिवक्ता रमेश बडाल पनि सहभागी थिए।
छलफलको मुख्य एजेन्डा बागमती प्रदेश सरकारमा देखिएको विषय हो। यहाँ कांग्रेसका ५ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् भने बुधबार मुख्यमन्त्री लामाले ३ जना मन्त्री नियुक्त गरे पनि शपथ भएको छैन। प्रदेश प्रमुख बिरामी भएर काठमाडौं आएपछि नवनियुक्त मन्त्रीहरूको शपथ रोकिएको अवस्था छ।
साथै बागमती कांग्रेस संसदीय दल नेता परिवर्तन भएको छ।
मुख्यमन्त्री बहादुर सिं लामा तामाङलाई हराएर प्रदेश सभापतिसमेत रहेका सांसद ईन्द्रबहादुर बानियाँ संसदीय दल नेता बनेका छन्।
११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७ जना सांसद छन्। बुधबार संसदीय दल नेता चुनाव हुँदा बानियाँका पक्षमा २२ र लामाका पक्षमा १४ जना र एक मत बदर भएको थियो।
बानियाँ संसदीय दल नेता बनिसके पनि उनी मुख्यमन्त्री हुन पाउने वा नपाउने अझै प्रष्ट भइसकेको छैन।
मुख्यमन्त्री लामाले आफूले संसदीय दल नेताको हैसियत गुमाए पनि मुख्यमन्त्रीमा निरन्तर रहन कानुनी व्यवधान नरहेको भन्दै राजीनामा नदिने अडान राखेका छन् तर उनले नदिए विधि र प्रक्रियाअनुसार बिदाइ गरिने अभिव्यक्ति बानियाँले दिएका छन्।
बागमतीमा संसदीय दल नेता परिवर्तन भएपछि सभापति देउवाले यस विषयमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीसहित नेताहरूसँग छलफल गरेका हुन्।
बागमतीमा २७ सांसद रहेको एमालेको सहयोगमा कांग्रेस नेतृत्वमा सरकार छ। मुख्यमन्त्री बहादुर सिं लामा तामाङले अब राजीनामा नदिए एमालेले समर्थन फिर्ता लिन सक्छ र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वास मत लिनुपर्ने हुन्छ। उनले विश्वास मत पाउन सके निरन्तर रहनेछन् भने नसके पदमुक्त हुन्छन् र बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुला हुनेछ।
बानियाँ संसदीय दल नेता चुनिएकोले उनैलाई मुख्यमन्त्री बनाउने प्रयासमा कांग्रेस सभापति देउवा देखिएका छन्। त्यसैले उनले प्रधानमन्त्री ओलीसँग यसबारे कुराकानी गरेका हुन्। संसदीय दलमा अल्पमतमा परेका मुख्यमन्त्री लामालाई सभापति देउवाले यसअघि नै राजीनामा दिन सुझाव दिए पनि उनले अस्वीकार गरेका थिए।
सभापति देउवाले प्रधानमन्त्री ओलीसँग बागमतीको विषय कांग्रेसको आन्तरिक कुरा भएको र यसलाई आफूहरूले नै सेटल (हल) गर्ने बताएका छन्।
‘बागमतीमा नयाँ संसदीय दल नेता चयन भएको अवस्था छ, यो हाम्रो आन्तरिक विषय हो, हामी नै सेटल गर्छौं,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै कांग्रेसका एक नेताले भने, ‘त्यहाँ पनि गठबन्धनको सरकार छ, त्यसैले एमालेको सहयोग भने चाहिन्छ।’
प्रधानमन्त्री ओलीले बागमतीमा कांग्रेसको निर्णयमा एमालेको सहयोग रहने बचन दिएका छन्।
छलफलमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बागमतीको समग्र विषयबारे कुराकानी गरिएको बताए।
‘बागमतीको समग्र विषयबारे कुराकानी भयो, हामीले आफ्ना कुरा राख्यौं र भन्यौं यो विषय हामीले नै मिलाउँछौं, तपाईंहरूले सहयोग गरिराख्नुभएकै छ,’ उपसभापति खड्काले सेतोपाटीसँग भने।
संघीय सरकारका कामकारबाहीलाई अझै प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको उनको भनाइ छ।
‘सरकारका कामकारबाही प्रभावकारी रूपमा अघि बढाउने, विधेयकहरू समितिमा छलफल भइरहेका छन् त्यसलाई अलि बढी बैठक र छलफल गरी विधेयकहरू छिटो अघि बढाउने विषयमा काम गर्ने भन्ने कुरा भएको छ,’ उनले भने।
यसअघि आजै एमाले बागमती प्रदेश ईन्चार्ज राजन भट्टराई, बागमती अध्यक्ष कैलाश ढुंगेललगायत नेताहरूले प्रधानमन्त्री ओलीलाई भेटेर बागमतीको विषय के हो भनेर सोधेका थिए।
जबाफमा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग भेट्ने र त्यसपछि जानकारी दिने बताएका थिए।
साथै बालुवाटारको आजको छलफलमा संघीय सरकारको मन्त्रिपरिषद हेरफेरको विषयमा पनि कुराकानी हुने चर्चा थियो। तर यसबारे आज कुरा नै नउठेको छलफलमा सहभागी नेताहरूको भनाइ छ।
प्रधानमन्त्री ओलीले एमालेबाट सरकारमा सहभागी केही मन्त्री हेरफेर गर्न खोजेका छन्। तर आजको बैठकमा यसबारे कुनै छलफल नभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार केही कानुन संशोधन र विधेयकबारे छलफल गर्न महान्यायाधीवक्ता बडाललाई पनि छलफलमा बोलाइएको थियो।
यो पनि: ईन्द्र बानियाँ संसदीय दल नेता जिते, बन्लान् बागमतीको मुख्यमन्त्री?