प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण संयुक्त रूपमा उद्घाटन गरेका छन्।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय वार्तापछि आयोजित कार्यक्रममा दुई प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट पाइपलाइनको दोस्रो चरण उद्घाटन गरेका हुन्।
उनीहरूले झापामा निर्माण हुने नयाँ पेट्रोलियम भण्डारण टर्मिनलको शिलान्यास पनि गरेका छन्।
सोमबार उद्घाटन गरिएको पाइपलाइनको दोस्रो चरण नयाँ आयोजना होइन। यसको निर्माण करिब दुई वर्षअघि नै सम्पन्न भइसकेको थियो।
दोस्रो चरणअन्तर्गत विस्तार गरिएको पूर्वाधार प्रयोग गरेर सन् २०२५ फेब्रुअरीदेखि नियमित रूपमा पेट्रोल समेत आयात हुँदै आएको छ।
नेपाल र भारतबीच पेट्रोलियम पदार्थको ढुवानी सहज बनाउन मोतिहारी–अमलेखगन्ज पाइपलाइन निर्माण गरिएको हो। सन् २०१९ सेप्टेम्बर १० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले यसको पहिलो चरण उद्घाटन गरेका थिए।
दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रूपमा निर्माण गरिएको यो आयोजनाबाट सुरूमा डिजेल मात्र आयात हुन्थ्यो। भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म पाइपमार्फत डिजेल ल्याउन थालेपछि ट्यांकरबाट हुने ढुवानीको लागत र समय घटेको थियो।
त्यसपछि पेट्रोल र मट्टीतेल समेत पाइपबाट ल्याउन आवश्यक पूर्वाधार निर्माण गर्ने गरी दोस्रो चरण अघि बढाइएको थियो।
दोस्रो चरणमा अमलेखगन्ज डिपोमा पेट्रोल भण्डारणका लागि ४१ लाख लिटर क्षमताका ट्यांक, मिश्रित इन्धन राख्ने छुट्टै ट्यांक, २४ वटा स्वचालित ट्यांकर भर्ने प्रणाली र अग्नि नियन्त्रण लगायतका संरचना थपिएका छन्।
यससँगै अमलेखगन्ज डिपोमा पेट्रोल र डिजेलको भण्डारण क्षमता पनि बढेको छ। दोस्रो चरण विस्तारपछि डिपोको डिजेल भण्डारण क्षमता २ करोड ४८ लाख ४० हजार लिटर र पेट्रोल भण्डारण क्षमता १ करोड ६६ लाख ३० हजार लिटर पुगेको छ।
पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा ट्यांकरको तुलनामा ढुवानी खर्च कम हुन्छ। बाटोमा इन्धन चुहिने, चोरी हुने वा मिसावटको जोखिम पनि घट्छ। यसले पेट्रोलियम आपूर्ति व्यवस्थापनलाई थप व्यवस्थित बनाउँछ।
झापामा टर्मिनल केन्द्र
सोमबार शिलान्यास गरिएको झापाको नयाँ पेट्रोलियम टर्मिनल भारतको सिलिगुडीबाट पाइपलाइनमार्फत इन्धन ल्याएर भण्डारण गर्ने परियोजनाको हिस्सा हो।
सिलिगुडीबाट झापाको चारआलीसम्म करिब ५० किलोमिटर पाइपलाइन निर्माण गर्ने योजना छ। यसमध्ये करिब ३५ किलोमिटर भारतमा र १५ किलोमिटर नेपालमा पर्छ।
सन् २०२६ मा सार्वजनिक वातावरणीय प्रभाव मूल्यांकन विवरण अनुसार झापाको टर्मिनलमा प्रारम्भिक रूपमा १ करोड ८९ लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्ने संरचना प्रस्ताव गरिएको छ। यसमा ६६ लाख लिटर पेट्रोल र १ करोड २३ लाख लिटर डिजेल भण्डारण गर्ने योजना छ। यसअघि भने झापामा ४ करोड २० लाख लिटर क्षमताको टर्मिनल निर्माण गर्ने लक्ष्य सार्वजनिक गरिएको थियो।
यो परियोजना सम्पन्न भएपछि पूर्वी नेपालका जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ। अहिले भारतबाट ट्यांकरमा ल्याइने इन्धनको ठूलो हिस्सा भविष्यमा पाइपलाइनबाट सिधै झापाको भण्डारण केन्द्रमा पुर्याउन सकिनेछ।
करिब साढे २४ अर्बको परियोजना
यी पूर्वाधार निर्माणका लागि नेपाल र भारतबीच सन् २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमण क्रममा समझदारी भएको थियो। त्यसपछि सन् २०२४ अक्टोबर ३ मा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच कार्यान्वयनसम्बन्धी सम्झौता भएको थियो।
समग्र योजनामा झापाको टर्मिनल र सिलिगुडी–झापा पाइपलाइनसँगै अमलेखगन्जबाट चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने तथा लोथरमा अर्को पेट्रोलियम भण्डारण केन्द्र निर्माण गर्ने परियोजना पनि समावेश छ।
यी चार परियोजनामा करिब २४ अर्ब ५० करोड रूपैयाँ लगानी हुने अनुमान छ। यसमध्ये भारतले करिब १५ अर्ब रूपैयाँ अनुदान दिने र नेपाल आयल निगमले करिब ९ अर्ब ५० करोड रूपैयाँ लगानी गर्ने व्यवस्था छ।
भारतीय अनुदानबाट दुई पाइपलाइन र झापाको टर्मिनल निर्माण गरिनेछ। चितवनको भण्डारण केन्द्रमा भने नेपाल आयल निगमले लगानी गर्नेछ।
चितवनमा प्रस्तावित भण्डारण केन्द्रको क्षमता ९ करोड लिटरभन्दा बढी रहने पछिल्लो परियोजना विवरणमा उल्लेख छ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनका अधिकारीहरूबीच हालै भएको बैठकले यी परियोजनाको कार्यान्वयन अघि बढाउने सहमति गरेको थियो।
नेपालको पेट्रोलियम आपूर्ति प्रणाली लामो समयदेखि भारतीय डिपो र सडकमार्फत हुने ट्यांकर ढुवानीमा निर्भर छ। नयाँ पाइपलाइन र भण्डारण केन्द्रहरूले ढुवानी लागत घटाउनुका साथै आकस्मिक आपूर्ति अवरोध हुँदा इन्धन व्यवस्थापनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।