निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कुल ७९ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्ने सूची बनाएको छ।
त्यसमध्ये नेपालमा उपलब्ध हुने र मुलुक बाहिरबाट आयात गर्नुपर्ने गरी दुई प्रकारका सामग्रीको जोहो गर्न आयोग लागेको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।
निर्वाचनमा मतपेटिका, औंलामा चिह्न लगाउने नउड्ने मसी भएको मार्कर पेन, पित्तलको स्वस्तिक चिह्न छाप, स्ट्याम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची, निर्वाचनसम्बन्धी ऐन, नियम, निर्देशिका, कार्ड, कपडाको थैलो, मतदान कक्षको छेकवारा, फारमलगायत सामग्री आवश्यक पर्ने उनको भनाइ छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री स्थानीयस्तरमै किन्न सकिने सामग्रीको प्रयोग गर्ने बताए।
निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने ७९ मध्ये १४ सामग्री मात्र खुला प्रतिष्पर्धाबाट किन्ने आयोगको तयारी रहेको बताए।
उनले मतपत्र छपाइका लागि आवश्यक पर्ने कागज र मतपेटिकाहरू आयोगसँग स्टक रहेकोले किन्नु नपर्ने बताए। 
भण्डारीले भने, ‘सरकारसँग समन्वय गरेर निर्वाचनको मिति तोकिएपछि बन्द भएको मतदाता नामावली संकलन गर्ने काम सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेशबाट कात्तिक मसान्तसम्म अवधि दियौं। अहिले पनि मतदाता नामावली संकलन गर्ने कार्य जारी छ। जहाँसम्म निर्वाचन व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्रीका लागि ०७९ सालको निर्वाचनमा ९४ प्रकारका सामान प्रयोग गर्ने भनेर हामीले पहिचान गरेका थियौं। तर अहिलेको निर्वाचनमा जम्मा ७९ वटा सामान मात्र प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ।’
उनले गत २०७९ सालको निर्वाचनमा कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको कारण मास्क, स्यानिटाइजर लगायत गरी ९४ सामग्रीको प्रयोग गरेकोमा अहिले केही कम वस्तुको प्रयोग हुने बताए।
‘त्यो बेला कोरोना भाइरसको डर भएको कारण त्यसको सुरक्षार्थ केही सामग्री प्रयोग गर्नुपरेको थियो। अहिले त्यस्ता सामान हामीले प्रयोग गर्नुपर्दैन। त्यसमा पनि अधिकांश सामान स्थानीयस्तरमै किन्न सकिने भएकोले त्यहीबाट किनेर प्रयोग गर्ने व्यवस्था मिलाएका छौं। त्यसका अतिरिक्त आयोगले खुला प्रतिष्पर्धामार्फत खरिद गर्नुपर्ने सामग्री १४ प्रकारका मात्रै छन्। ती पनि स्वदेशी उत्पादनका वस्तुहरूलाई नै प्राथमिकता दिनेगरी र केही सामान मात्र विदेशबाट खरिद गर्नेगरी तयारी गरिरहेका छौं।’
उनले अगाडि भनेका छन्, ‘मतपत्र छपाइका लागि आवश्यक पर्ने कागज विदेशबाट किन्नुपर्नेमा त्यो पनि अहिले स्टक भएकैले पुग्छ। मतपेटिका पनि हामीसँग सुरक्षित छन्। पुरानै मतपेटिका पनि हामी आवश्यक सुधार गरेर प्रयोग गर्छौं। अन्य मसी र कलम लगायत सामान्य प्रकृतिका वस्तुहरु हामीले खरिद गर्नुपर्ने हुन्छ। खरिद गर्नुपर्ने वस्तु हामीले पहिचान गर्ने काम गरिसकेका छौं। अब खुला प्रतिष्पर्धाबाट खरिद गरेर त्यसको व्यवस्थापन गर्ने मात्रै हो।’