उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगमा बयान दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सिंहदबार पुगेका छन्।
आयोगले रविसँग जेनजी आन्दोलनका क्रममा भएको गतिविधि, सरकारी संयन्त्रको भूमिका र आन्दोलनका क्रममा उठेका विवादका विषयमा जानकारी लिने तयारी गरेको छ।
सरकारले जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको थियो।
सहकारी बचत रकम अपलचन मुद्दामा लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा छन्।
भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा लामिछाने जेलबाट निस्केका थिए। केही समयपछि लामिछाने फेरि नख्खु कारागार फर्केका थिए।
पूर्वन्यायाधीश कार्की अध्यक्षतामा रहेको जाँचबुझ आयोगले लामिछानेसँग बयान लिन लागेको हो। मंगलबार कार्की आफैं नख्खु कारागार पुगेर निरीक्षण समेत गरेका थिए। उक्त आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग, कारागारमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग घटनाकेन्द्रित बयानसमेत लिइसकेको छ।
भदौ २४ गते जेलबाट निस्कँदा लामिछानेले कारागारले आफूलाई पत्रसमेत दिएको बताएका थिए।
तर बयानका क्रममा नख्खु कारागार प्रमुख जोशीले उक्त पत्र लामिछानेलाई आफूले नदिएको बताएका छन्।