आपराधिक पृष्ठभूमि भएका पुष्पराज श्रेष्ठलाई नेकपा एमालेले आफ्नो नेसनल भोलेन्टियर फोर्सको कमान्डर बनाएको भनी विवाद उत्पन्न भएपछि हामीले यसबारे श्रेष्ठसँग कुराकानी गरेका छौं।
'तपाईंविरूद्ध विभिन्न अपराधमा मुद्दा चलेको रहेछ नि?' हामीले श्रेष्ठलाई सोध्यौं।
भोलेन्टियर फोर्सका नवनियुक्त कमान्डर श्रेष्ठले हाम्रो प्रश्नको जबाफमा आफूले खेपेको भनिएका मुद्दा सबै राजनीतिक घटनाक्रमसँग सम्बन्धित रहेकाले त्यसलाई 'सामान्य रूपमा लिनू' भने।
उनी माओवादी शान्ति प्रक्रियामा आएपछि गठन भएको योङ कम्युनिस्ट लिग (वाइसिएल) का जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै जिल्ला इन्चार्जसमेत भएका थिए।
नेकपा विघटन भएपछि एमालेमै रहेका श्रेष्ठले तत्कालीन राजनीतिक गतिविधिका क्रममा भएका घटना अहिले उत्खनन् गरिएको टिप्पणी गरे।
'ती सबै तत्कालीन राजनीतिक घटनाक्रममा भएका हुन्। त्यति बेला विभिन्न भूमिकामा संलग्न हुँदा मुद्दामामिला परे,' श्रेष्ठले भने, 'माओवादी जनयुद्ध कालमा कत्रा कत्रा मुद्दा परेका छन्।'
'प्रचण्डलाई पनि १७ हजार मानिस मारेको आरोप छ। उहाँ अहिले पनि संयोजक नै हुनुहुन्छ, कसैले प्रश्न गरेको छैन त!' उनले भने।
श्रेष्ठले भनेको यो कुरा दसवर्षे द्वन्द्व क्रममा राज्य र माओवादी पक्षबाट मारिएका व्यक्तिसँग सम्बन्धित छ। द्वन्द्वको अवधिमा दुवै पक्षबाट गरी १७ हजार जना मारिएका थिए। श्रेष्ठ आफै पनि माओवादी राजनीतिबाट आएका हुन् र त्यही द्वन्द्वसँग जोडिएका व्यक्ति हुन्। उनले १७ हजार जना मारिएका जुन व्यक्ति (प्रचण्ड) विरूद्ध प्रश्न उठाएका छन्, त्यति बेला तिनै व्यक्ति श्रेष्ठका पार्टी अध्यक्ष थिए।
श्रेष्ठले अगाडि भने, 'म राजनीतिको सुरूआतदेखि नै युवा आन्दोलनमा लागेको हुँ। त्यस्तो बेला राजनीतिक मुद्दा लाग्नु स्वाभाविक हो।'
'म युवा आन्दोलनको सिपाही हुँ। आन्दोलनमा मुद्दा, मामिला, हिरासत, जेल हुन्छन् नै,' उनले भने, 'कतिवटा मुद्दा झेलेँ, त्यसको हिसाब मैले राखेको छैन।'
श्रेष्ठले आफूलाई सामान्य प्रकृतिको मुद्दा लागेको बताउँदै ती सबै मुद्दा टुंगिसकेको दाबी पनि गरे।
'मविरूद्ध लागेका सबै मुद्दा सामान्य सामान्य हुन्। कुनै मुद्दामा म भगौडा छैन। मुद्दा बाँकी रहेको, छिनोफानो हुन बाँकी रहेको, त्यस्तो अवस्था केही छैन,' उनले भने, 'अदालत गइरहनुपर्ने, तारेख धाइरहनुपर्ने केही छैन। सफाइ भइसकेको छ।'
विगतमा आफू प्रचण्डको मुद्दा, दृष्टिकोण र विचार मन परेर त्यता आकर्षित भएको पनि उनले बताए। समयक्रममा प्रचण्डले आफ्ना मुद्दा छाडेकाले अहिले एमालेमा रहेको उनको भनाइ छ।
'आन्दोलनले जे–जे माग गर्छ, त्यो पूरा गर्नुपर्छ। हिजोका दिनमा प्रचण्डले केही राम्रै गर्नुहुन्छ भन्ने आस थियो। सर्वहारा, श्रमजीवीहरूको पक्षमा आवाज उठाउनुभएको थियो। उहाँले जुन मुद्दा उठाउनुभएको थियो, आवाज उठाउनुभएको थियो, त्यो ठीक थियो। तर उहाँले आफ्ना एजेन्डा नै छाड्नुभयो। उहाँहरू आफ्नो मुद्दा र एजेन्डाबाट विचलित भएपछि मैले त्यसमा बस्न उपयुक्त छैन भन्ने निष्कर्ष निकालेँ,' उनले भने।
धेरै हन्डर, ठक्कर खाएपछि सही बाटोमा आइपुगेको भन्दै उनले सही विचार र सही पार्टी नै एमाले हो भने। अहिले पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने पनि बताए।
'म पार्टी जीवनप्रति समर्पित छु। अहिले जे टिप्पणी भएको छ, समाजले हेर्दै जाला, मूल्यांकन पनि गर्लान्। तपाईंले आपराधिक पृष्ठभूमि भन्नुभयो, रिपोर्ट पनि होलान् नि त! सजाय कति बाँकी रहेछन्? कतिवटा मुद्दा विचाराधीन छन्? त्यो पनि भन्नुस् न। म भगौडा हुँ कि? त्यसै गुन्डागर्दीमा संलग्न भन्न पाइन्छ? मुद्दा सकिएपछि त म आमनागरिक सरह नै हुँला नि!' उनले भने।
एमाले अध्यक्ष केपी शर्मा ओलीकै उपस्थितिमा शुक्रबार काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा श्रेष्ठलाई नेसनल भोलेन्टियर फोर्सको कमान्डर तोकिएको हो।
तत्कालीन माओवादीको वाइसिएल पृष्ठभूमिका श्रेष्ठ विगतमा थुप्रै आपराधिक गतिविधिमा संलग्न रहेको अभिलेख भेटिएको छ।
नेपाली कम्युनिस्ट पार्टीका नेता राजन दाहालले पनि श्रेष्ठको आपराधिक पृष्ठभूमि पुष्टि गर्दै उनी अपहरण तथा शरीर बन्धकको कसुरमा दुई वर्षभन्दा बढी समय सिन्धुली कारागारमा बसेको र उनको छवि अहिले पनि नसुध्रिएको बताएका छन्।
सिन्धुलीका निवर्तमान सांसदसमेत रहेका दाहालले नै श्रेष्ठलाई वाइसिएलमा भित्र्याएका थिए।
'त्यति बेला सिन्धुलीमा विभिन्न समूहको आपराधिक आतंक थियो। तिनैमध्ये एकमा संलग्न पुष्पराज श्रेष्ठलाई सुधार्न हामीले संगठनमा ल्याएका थियौं। तर उनका गतिविधि सुध्रने किसिमका थिएनन्,' उनले सेतोपाटीसँग भने।
कमलामाई नगरपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा श्रेष्ठ तत्कालीन वाइसिएल केन्द्रीय सदस्य र सिन्धुली इन्चार्जसमेत भएका थिए।
दाहालका अनुसार माअोवादी केन्द्र र एमालेबीच एकता हुँदा उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल' सँग निकट रहेर काम गरेका थिए। पछि नेकपा विघटन हुँदा उनी बादलसँगै एमालेमै रहे।
एमालेमा रहँदा पोलिटब्युरो सदस्य महेश बस्नेतसँग निकट सम्बन्ध बनाएका श्रेष्ठको विगत निकै आपराधिक भेटिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
२०६३ देखि २०७५ सालसम्म उनले सातवटाभन्दा बढी फौजदारी अभियोगमा संलग्न रही मुद्दा खेपेका थिए। उनले ज्यान मार्ने उद्योग, अपहरण तथा शरीर बन्धक, सार्वजनिक अपराध, अभद्र व्यवहार मात्र नभई जुवाताससँग सम्बन्धित अपराधका मुद्दासमेत खेपेको प्रहरी स्रोतले बतायो।
प्रहरी स्रोतका अनुसार उनीमाथि २०६३ र २०६४ सालमा ज्यान मार्ने उद्योग, २०६७ मा सार्वजनिक अपराध, २०७० मा शरीर बन्धक तथा अपहरणका मुद्दा परेका थिए। त्यस्तै, २०७५ सालमा सार्वजनिक अपराधका दुईवटा मुद्दा परेका थिए भने २०७६ मा ज्यान मार्ने उद्योगमा मुद्दा परेका थिए।
हामीले यस्तो विवादित र आपराधिक पृष्ठभूमिसमेत भएका श्रेष्ठलाई किन भोलेन्टियर फोर्सको कमान्डर बनाएको भनेर एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलाई सोध्यौं।
उनले कसैको पनि बहीखाता हेरेर पार्टीमा नभित्र्याउने बताए।
'एमाले विशाल कार्यकर्ता भएको पार्टी हो। यहाँ हजारौं कार्यकर्ता सक्रिय छन्। काम गर्ने इच्छाशक्ति, जोश–जाँगर भएकाले जिम्मेवारी पाउने हो। पार्टीमा लाग्दा कसैको पनि बहीखाता हेर्ने गरिएको छैन,' उनले भने।
'अपराधिक पृष्ठभूमि प्रमाणित भए के गर्नुहुन्छ?' भन्ने सेतोपाटीको प्रश्नमा प्रचार विभाग प्रमुख गौतमले गल्ती गरेको भए जान्छन् भन्ने शैलीको उत्तर दिए।
'हामीले कसैको पनि पृष्ठभूमि, विगत हेरेर ल्याएका हुँदैनौं,' उनले भने, 'क्षमताले जिम्मेवारी पाउने हो, गल्ती गरेका रहेछन् भने जान्छन्।'
***