नेकपा एमालेले शुक्रबार घोषणा गरेको नेसनल भोलेन्टियर फोर्सलाई लिएर अघिल्लो दिन सचिवालय बैठकमै नेताहरूले प्रश्न उठाएका थिए।
काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर फोर्स गठन भएको घोषणा गरेका हुन्। यसका कमान्डर नियुक्त गरिएका पुष्पराज श्रेष्ठ आपराधिक पृष्ठभूमिको भनी विवाद उत्पन्न भएको छ।
ओलीले भोलेन्टियर फोर्स भनेको 'पानी बाँड्ने संस्था होइन' भन्दै तामझामका साथ घोषणा गरेका भए पनि यसको गठनलाई लिएर पार्टीभित्रै मतैक्य छैन।
पार्टीका सचिवालय सदस्यहरूले शुक्रबार भोलेन्टियर फोर्स गठनबारे प्रश्न उठाएका थिए।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सात घन्टाभन्दा बढी बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल र सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराईले नेसनल भोलेन्टियर फोर्स घोषणाप्रति प्रश्न उठाएका थिए।
'हामी कुन विधि, पद्धति र नीतिमा टेकेर यो संरचना बनाउँदैछौं। हाम्रो कार्यदिशासँग मेल नखाने संरचना किन चाहियो हामीलाई? यसको तात्पर्य के हो?' सचिवालयमा सदस्यहरूले सोधेका थिए।
यस्ता संरचनाले लोकतन्त्र, लोकतन्त्रप्रति पार्टीको प्रतिबद्धता र इमानदारीलाई कमजोर बनाउने भन्दै यस्ता गतिविधि रोक्न उनीहरूले माग गरेका थिए।
'यस्तो संरचना र गतिविधिले लोकतन्त्र र पार्टीलाई फाइदा पुग्दैन,' सचिवालय सदस्यहरूले भनेका थिए, 'अनावश्यक द्वन्द्व र झैझगडालाई प्रश्रय दिन्छ।'
उपाध्यक्ष विष्णु पौडेलले प्राकृतिक एवं मानवीय विपत्ति बेला स्वयंसेवी संगठन, संरचना बनाउने गरेको भए पनि अहिले आवश्यक नरहेको आसय व्यक्त गरेका थिए।
महासचिव शंकर पोखरेलले भने देशलाई सही दिशामा फर्काउन स्वयंसेवी फोर्स गठन गर्न लागिएको बताएका थिए।
यो संगठनलाई पार्टीको उच्च नेतृत्वले सीधै परिचालन गर्न सक्ने गरी गठन गरिएको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताएका छन्।
उनका अनुसार यो आवधिक अधिवेशनबाट छानिने संरचना होइन। कामको मूल्यांकनका आधारमा नेतृत्व चयन हुनेछ।