नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीले पाँच सदस्यीय अध्यक्ष परिषद बनाएको छ।
अध्यक्ष परिषदमा दुर्गा सोब, सुदन किराँती, सन्तोष परियार, ओजस्वी भट्टराई र अशोक जयसवाल छन्। डा. बाबुराम भट्टराई र जनार्दन शर्मा भने परिषदमा रहने छैनन्।
अध्यक्ष परिषदमा रहेका सदस्यहरूको वरीयता समान रहनेछ भने चक्रीय प्रणालीका आधारमा बैठकको अध्यक्षता गर्ने नेताहरूले बताएका छन्।
सोब साबिक नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की संयोजक हुन्। उक्त पार्टीका संयोजक डा. भट्टराई थिए। जेनजी आन्दोलनपछि आफू कार्यकारी भूमिकामा नबस्ने भन्दै डा भट्टराईले सोबलाई नेतृत्व हस्तान्तरण गरेका थिए।
सुदन किराँती साबिक माओवादी केन्द्रबाट एकतामा नगएका नेता हुन्। उनी जनार्दन शर्मासँगै एकतामा विद्रोह गरेर अलग बसेका थिए।
सन्तोष परियार राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टीमा गाँसिन आइपुगेका हुन्। उनी रास्वपाका निवर्तमान प्रमख सचेतकसमेत हुन्।
ओजस्वी भट्टराई जेनजी आन्दोलनकी एक अगुवा हुन्। उनी भदौ २३ को आन्दोलनको अग्रपंक्तिमा थिइन्।
अशोक जयसवालले पनि माओवादी पार्टी परित्याग गरेका थिए। गत कात्तिक १९ गते १० घटकबीच एकता भएपछि उनले पनि विद्रोह गरेका थिए।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा गरिएको हो।
अध्यक्ष परिषदसहित पार्टीको केन्द्रीय सदस्य तत्काललाई १५१ सदस्यीय हुने सहमति भएको छ। केन्द्रीय समिति चयन गर्दा पूर्वपार्टीको भनेर भागबन्डा नहुने नेताहरूले बताएका छन्।