गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निर्वाचनमार्फत नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्य अनुरूप बनेकाले चुनावबारे भ्रम नफैलाउन आग्रह गरेका छन्।
'निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनेर भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम कतैबाट पनि गर्नु न्यायोचित हुने छैन,' गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले भने, 'यो सरकार निर्माण नै निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्य अनुरूप बनेको हो।'
राजनीतिक दलहरूले फरार रहेका कैदीबन्दी र लुटिएका हतियारलाई सुरक्षा चुनौतीका रूपमा औंल्याएको भन्दै उनले गृह प्रशासन यसमा गम्भीर रहेको बताए। दलसँगको वार्ता र संवादको विषयमा सरकार जिम्मेवार, संवेदनशील र त्यत्तिकै उत्तरदायी रहेको उनले उल्लेख गरे।
वार्ता र संवादका लागि सरकार खुला रहेको भन्दै उनले फरार कैदीबन्दीमध्ये ७० प्रतिशत फिर्ता आइसकेको र बाँकी पनि आउने क्रममा रहेको जानकारी दिए।
गण्डकी प्रदेशका ११ वटा जिल्लाका सिडिओ, प्रहरी प्रमुख, सशस्त्र प्रहरी र नेपाली सेनाका जिल्ला प्रमुखहरू सहभागी गोष्ठीमा गृहमन्त्री अर्यालले व्यावसायिक स्वतन्त्रता र स्वायत्तता प्रदान गर्ने र मुल्यांकनका लागि निगरानी बढाएको बताए।
स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ स्वीकृत भई सोही अनुसार काम गरिरहेको उनले बताए।
फागुन २१ गते हुन गइरहेको निर्वाचनको कार्यतालिका सार्वजनिक गरी काम गरिरहेको भन्दै उनले तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ रहेको बताए।
सरकार गठन भएको तीन महिनामा स्थिति सामान्यीकरण गरेको भन्दै गृहमन्त्री अर्यालले क्षतिग्रस्त संरचना र कार्यालय पुनर्स्थापना गरी सेवा सुरू गरेको उल्लेख गरे।