नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित हुने एक मात्र महिला पदाधिकारी बनेकी छन्, पद्मा अर्याल।
एमालेको केन्द्रीय समिति चयनका लागि बुधबार बिहानदेखि भएको निर्वाचनमा सचिवमा अर्यालसँगै रचना खड्का तथा उपाध्यक्षमा विन्दा पाण्डे उम्मेदवार बनेका थिए।
तर बिहीबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार खड्का र पाण्डे पराजित भएका छन् भने ९ जना सचिवमध्ये दोस्रो स्थानको मतसहित अर्याल निर्वाचित भएकी छन्।
यसअघि पनि पार्टीको केन्द्रीय सचिव रहेकी अर्याल लुम्बिनी प्रदेशको इन्चार्ज बनेर प्रदेशका १२ वटै जिल्लामा पार्टीका काममा खटिएकी थिइन्।
यसअघि केन्द्रीय पदाधिकारीको टिममा अर्याल सचिव र उपाध्यक्ष अष्टलक्ष्मी शाक्य रहेकामा अब भने पदाधिकारीमा महिलाको नेतृत्व अर्याल एक्लैले गर्ने छिन्।
स्याङजाको थुमपोखरामा २०२५ साल पुसमा जन्मिएकी अर्याल २०३९ सालमै तत्कालीन मालेको सम्पर्कबाट राजनीतिमा लागेकी थिइन्।
उनी २०४० सालमा अनेरास्ववियु पाँचौंमा संलग्न भइन् भने २०४५ मा युवा लिगकी सदस्य बनिन्।
नेपाली कांग्रेसको जगजगी मानिने स्याङ्जामा रहेर उनले निरन्तर संघर्ष गर्दै सामान्य परिवारबाट राज्यको माथिल्लो तहमा पुग्ने महिलाको सूचीमा आफूलाई उभ्याउन सफल भएकी छन्।
२०७० सालमा नेकपा एमालेको सातौं जिल्ला अधिवेशनबाट पुरूष उम्मेदवार पुण्यप्रसाद भुसाललाई पराजित गरेर उनी पार्टीको पहिलो महिला जिल्ला अध्यक्षसमेत बनेकी थिइन्।
जिल्ला अध्यक्षपछि केन्द्रीय तहमा पुगेकी उनले स्याङ्जा जिल्ला र लुम्बिनी प्रदेशको इन्चार्जको भूमिका सफलतापूर्वक पूरा गरिन्।
२०५४ सालमा पहिलो पटक वडा सदस्य बनेकी अर्याल २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट समानुपातिक सभासद बनेकी थिइन्। २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गर्दै स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनको चर्चा चुलिएको हो।
२०६४ सालमा संविधानसभा सदस्य र २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनी यस अवधिमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा कृषि तथा पशुपन्छी विकास मन्त्री बनिसकेकी छन्।
२०७९ सालको निर्वाचनमा भने स्याङ्जा-२ बाटै नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि उनी आफ्नो सम्पूर्ण समय पार्टीको काममा लगाउँदै आएकी थिइन्।
पार्टीको केन्द्रीय पदाधिकारीमा महिलाबाट एक्लै सचिवमा निर्वाचित भएपछि अर्यालले छोटो प्रतिक्रिया दिँदै पार्टीको विधान अनुसार लोकतान्त्रिक विधिबाट नेतृत्व निर्माण गर्ने क्रममा एक्लै निर्वाचित भए पनि निर्वाचन परिणाम स्वीकार गर्नुपर्ने बताइन्।
'पदाधिकारीमा अरू महिला कमरेडहरू पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो। निर्वाचित संख्या कम भयो त्यसमा दु:ख लागेको छ, तर लोकतान्त्रिक प्रक्रियामा गइसकेपछि प्रतिनिधिहरूले दिएको नतिजा स्वीकार गर्नैपर्छ। अब नेतृत्व तहमा महिलाहरूको उपस्थिति बढाउन तल्लो तहबाटै संख्या बढाउने गरी लाग्नुपर्छ,’ उनले भनिन्।