आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको सूचीमा रूपन्देहीबाट भने एक जना पनि समावेश गरिएको छैन।
५ वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीबाट विघटित प्रतिनिधि सभामा तीन जना सांसद जितेकोमा आगामी निर्वाचनमा भने समानुपातिकबाट एक जना पनि समावेश नगरिएपछि कार्यकर्ताहरूमा व्यापक असन्तुष्टि सुरू भएको छ।
रूपन्देहीबाट सिफारिस पठाइएका एक जना पनि समानुपातिक सूचीमा समावेश नभएको सूचना प्राप्त गरेको एमालेका एक नेताले बताए।
'नेकपा एमालेले रूपन्देहीबाट कसैको नाम समावेश गरेन, यसरी पार्टी चलाउन खोजिएको छ जुन एमालेका लागी सबभन्दा घातक हुनेछ, नेकपा एमाले रूपन्देहीका एक पदाधिकारीले भने, 'रूपन्देहीलाई कमजोर बनाएर पार्टी नेतृत्वले आफ्नो बलियो जग भत्काउने काम गरेको छ।'
ती पदाधिकारीले अन्य पार्टीले एमालेका कार्यकर्ता लगेर आफ्नो सूचीमा राखे पनि एमालेले भने रूपन्देहीलाई बेवास्ता गरेको बताए।
'एमाले यो हिसाबले अगाडि बढ्न सक्दैन,' उनले भने।
एमाले रूपन्देही स्रोतका अनुसार समानुपातिक तर्फबाट खस आर्यमा नन्दिकेशर ढकाल, भूमिलाल सापकोटा, बुद्धिसागर भट्टराई, महिलामा गोमा आचार्य, मधेसीमा सुनिता ठटेर, मुस्लिममा एजाज आलम, थारूमा खुसीराम चौधरी, दलितमा एकराज विश्वकर्मा र जोगलाल विश्वकर्मा, आदिवासी जनजातिबाट खेमराज गुरूङ, जनजाति महिलामा हिरामाया थापा र अपांगता भएकाबाट सावित्रा घिमिरे सिफारिस भएका थिए।
तर जिल्लाले पठाएका कुनै पनि नाम समानुपातिक सूचीमा परेका छैनन्।
एमाले रूपन्देही अध्यक्ष यज्ञ गैरेले समानुपातिक सूचीमा कसैको नाम नपर्ने कुरा दुखद् भएको बताए।
'रूपन्देहीबाट कसैको नाम परेन भन्ने सूचना मलाई सत्य हो जस्तो लाग्दैन, अहिले पनि बुझ्ने प्रयास गरी रहेको छु यदि कसैको नाम पनि नराखेको भए त्यो दुखद् हो यसले पार्टीलाई ठिक गर्दैन,' उनले भने।
यता नेकपा एमाले लुम्बिनी पूर्व प्रदेश कमिटी सदस्य मञ्जु भुसाल र युवा संघ पूर्वकेन्द्रीय सदस्य श्रद्धा कुँवर लगायतलाई भने रास्वपाले समानुपातिक सूचीमा राखेको छ।
युवा संघमा काम गरेकी श्रद्धा कुँवर भदौ २३ र २४ गतेको जेनजीहरूको आन्दोलनपछि युवा संघ छोडेको घोषणा गरेकी थिइन्।