बंगलादेशका पूर्वप्रधानमन्त्री खालिदा जियालाई श्रद्धाञ्जलि दिन ढाका गएका भारतीय विदेशमन्त्री र अन्तरिम सरकारका प्रमुख सल्लाहकारबीच औपचारिक भेटघाट नभएको विषयलाई लिएर विभिन्न अड्कलबाजी र चर्चा सुरू भएका छन्।
यससँगै, भारत सरकारले पठाएको शोक सन्देशको भाषा र सन्दर्भलाई लिएर पनि बहस भइरहेको छ।
खालिदा जियाको निधनपछि उनलाई श्रद्धाञ्जलि दिन विभिन्न देशका सरकारी प्रतिनिधि छोटो भ्रमणमा बंगलादेश पुगेका थिए।
भारतीय विदेशमन्त्री एस जयशंकरका अतिरिक्त पाकिस्तानको संसदका सभामुख सरदार अयाज सादिक, भुटानका विदेशमन्त्री लेओनपो डिएन ढुंगेल, नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रीलंकाका विदेशमन्त्री विजिता हेराथ तथा माल्दिभ्सका शिक्षामन्त्री अली हैदर अहमद पनि ढाका पुगेका थिए।
अन्तरिम सरकारको प्रेस विङ र विदेश मन्त्रालयका प्रवक्ताका अनुसार ती पाहुनामध्ये बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुससँग पाकिस्तानका सभामुख र नेपालका परराष्ट्रमन्त्रीसँग औपचारिक भेट भएको थियो।
तर भारत, भुटान, श्रीलंका र माल्दिभ्सका प्रतिनिधिसँग कुनै औपचारिक बैठक नभएको बिबिसीले जनाएको छ।
अन्य देशका प्रतिनिधिसँग भेट नभएको विषयले धेरै चर्चा नपाए पनि भारतीय विदेशमन्त्रीसँग प्रमुख सल्लाहकारको भेट नहुनुलाई लिएर विभिन्न व्याख्या र विश्लेषण सार्वजनिक भइरहेका छन्।
बिबिसीका अनुसार, बंगलादेशका विदेश मन्त्रालयका प्रवक्ता महबूबुल आलमले भारतीय विदेशमन्त्रीको छोटो भ्रमण क्रममा प्रमुख सल्लाहकारसँग भेट नभए पनि सल्लाहकार आसिफ नजरुल र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेट भएको जानकारी दिएका छन्।
यसैबीच अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहीद हुसेनले भारतीय विदेशमन्त्रीको भ्रमणलाई द्विपक्षीय सम्बन्ध वा राजनीतिक दृष्टिबाट हेर्न उपयुक्त नहुने बताएका छन्।
उनले खालिदा जियाको अन्त्येष्टिमा भारतीय विदेशमन्त्रीको उपस्थिति 'सकारात्मक संकेत' भएको बताए पनि भारत र बंगलादेशको तनावपूर्ण सम्बन्धमा यसले कति राहत ल्याउँछ भन्ने 'समयले मात्र बताउने' टिप्पणी गरे।
खालिदा जियाको निधनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको शोक सन्देशमा बिएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमानको नेतृत्वसम्बन्धी अभिव्यक्तिलाई लिएर पनि विश्लेषण भइरहेको बिबिसीले लेखेको छ।
धेरै अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञहरूका अनुसार बिएनपी अध्यक्षलाई श्रद्धाञ्जलि दिन भारतबाट उच्चस्तरीय प्रतिनिधिको आगमन र शोक सन्देशले भविष्यका सम्बन्धबारे भारतको धारणा स्पष्ट रूपमा संकेत गरेको छ।
तर यसले वर्तमान अन्तरिम बंगलादेश सरकारसँग भारतको कूटनीतिक दूरी झनै प्रस्ट पारेको उनीहरूको विश्लेषण छ।
बुधबार खालिदा जियाको जनाजा र दफनको दिन भारत, पाकिस्तान, नेपाल र भुटानका प्रतिनिधिले आ–आफ्ना सरकारका तर्फबाट तारिक रहमानलाई शोक सन्देश हस्तान्तरण गरेका थिए।
यस अवसरमा विधि सल्लाहकार आसिफ नजरुल र राष्ट्रिय सुरक्षा सल्लाहकार खलीलुर रहमानलाई भारतीय विदेशमन्त्रीसँग कुराकानी गरिरहेको देखिएको थियो।
उता पाकिस्तानका सभामुख सरदार अयाज सादिकले भने अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुससँग भेट गरेका थिए।
किन भएन जयशंकर–युनुस भेट?
यस विषयमा प्रतिक्रिया दिँदै विदेश मामिला सल्लाहकार तौहीद हुसेनले पत्रकारहरूलाई भने, 'भारतीय विदेशमन्त्रीको भ्रमण छोटो थियो। उहाँ सम्पूर्ण कार्यक्रममा सहभागी हुनुभयो र त्यसपछि फर्कनुभयो।'
उनले आमनेसामने वार्ता नहुनु समय अभाव र कार्यक्रमको व्यस्ततासँग जोडिएको बताए।
बिएनपी अध्यक्ष खालिदा जियाको अन्त्येष्टिमा राष्ट्रिय संसद भवनको दक्षिण प्लाजामा ठूलो संख्यामा सर्वसाधारण, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता र विदेशी प्रतिनिधि सहभागी भएका थिए।
अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषकहरूका अनुसार खालिदा जियालाई श्रद्धाञ्जलि दिन विभिन्न देशका प्रतिनिधिहरूको उपस्थितिले क्षेत्रीय राजनीतिमा बंगलादेशको महत्त्व फेरि उजागर गरेको छ। तर अवामी लिग सरकारको पतनपछि भारत–बंगलादेश सम्बन्ध चाँडै पुरानै अवस्थामा फर्किने सम्भावना कम रहेको उनीहरूको भनाइ छ।
ढाका विश्वविद्यालयकी अन्तर्राष्ट्रिय सम्बन्ध विषयकी प्राध्यापक लैइलुफर यासमीनका अनुसार मोदीको शोक सन्देश र भारतीय विदेशमन्त्रीको भ्रमण दुई देशबीच सम्बन्ध सुधारतर्फको संकेत हो।
उनले बीबीसीलाई भनिन्, 'यसले भारतले अन्ततः बंगलादेशको आन्तरिक भावना बुझ्न थालेको संकेत गर्छ।'
पूर्वराजदूत मुन्शी फैज अहमदका अनुसार भने यो भ्रमणले भारत र वर्तमान बंगलादेश सरकारबीचको दूरी अझ स्पष्ट पारेको छ।
उनको विश्लेषणमा भारत अब भविष्यको राजनीतितर्फ हेर्दै बिएनपीसँग सम्बन्ध सुधार्ने दिशामा अघि बढिरहेको देखिन्छ।
विश्लेषकहरूका अनुसार मोदीको शोक सन्देश भू–राजनीतिक र कूटनीतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ।
सन्देशमा बीएनपीको नेतृत्व र भारत–बंगलादेश ऐतिहासिक साझेदारीलाई उल्लेख गरिनुले 'अतीत बिर्सेर भविष्यतर्फ अघि बढ्ने' भारतको संकेत देखिन्छ।
प्राध्यापक यासमीनले भने नेतृत्वसम्बन्धी शब्द प्रयोगलाई अत्यधिक राजनीतिक अर्थ दिनु उचित नहुने बताएकी छन्।
उनका अनुसार, कुनै दलका नेताको निधनमा नेतृत्व शब्द प्रयोग गर्नु कूटनीतिक औपचारिकता हो, यसलाई चुनावी नतिजासँग जोडेर हेर्नु ठीक हुँदैन।