नेकपा एमालेका नेता बृजेशकुमार गुप्ताले पार्टी परित्याग गरेका छन्।
एमाले पूर्व केन्द्रीय सदस्य समेत रहेका गुप्ताले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि नै पार्टीबाट राजीनामा दिएको बताए।
गुप्ता कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ मा प्रभावशाली नेता मानिन्थे।
गुप्ताले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा रहेको बेला जेनजीका जायज मागलाई बेवास्ता गर्दा भदौ २३ र २४ गतेको घटना भएको तर पनि नेतृत्व नसुध्रिएको भन्दै परित्यागको घोषणा गरेको बताएका छन्।
जेनजी आन्दोलनको क्रममा आफू भारतमा रहेको र भारतमा रहेकै बखत पार्टी छोड्ने निर्णयमा पुगिसकेको उनले बताए।
‘यति ठूलो आन्दोलन भयो कसैले पनि जिम्मेवारी लिएन, नेतृत्वमा रहेकाहरूले राम्रो कामको जस लिनुहुन्छ भने नराम्रो कामको पनि जिम्मेवारी लिनुपर्छ। तर, जिम्मेवारी लिने नैतिकता बोध भएन। गल्ती कमजोरी हुन्छन्। गल्ती कमजोरीलाई सुधार गरेर जान्छौं भन्नुभन्दा मैले गल्ती नै गरेको छैन भनेर दम्भ देखाउने काम भयो,’ गुप्ताले भने।
उनले पार्टीमा पछिल्लो समय निराश भएर बसेको भन्दै निराश भएर बस्नुभन्दा पार्टी नै परित्याग गर्नु उपयुक्त लागेर छोड्ने निर्णयमा पुगेको बताए।
‘मैले आज होइन पहिले नै पार्टी छाडेको हुँ। जेनजी आन्दोलन पछि नै म पार्टीमा सक्रिय थिइनँ। ११ औं महाधिवेशनमा पनि म सहभागी भइनँ, त्यति बेला पार्टीमा भएको भए त आयोजक कमिटीमै थिएँ। जाने थिएँ नि,’ उनले सेतोपाटीसँग भने।
गुप्ताले आफूले लिखित रूपमा राजीनामा नदिए पनि पार्टी छोडेकोबारे जिल्ला र केन्द्रका पार्टी नेतृत्वलाई पहिलेदेखि नै जानकारी रहेको बताए।
गुप्ता इन्जिनियरको स्थायी जागिर छोडेर राजनीतिमा होमिएका थिए। २०५६ मा पहिलो पटक राप्रपाबाट संघीय सांसद जितेका गुप्ताले २०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए।
२०७० सालमा एमाले प्रवेश गरेर दोस्रो संविधान सभा र २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका गुप्ता यसअघिको २०७९ सालको निर्वाचनमा भने पराजित भएका थिए। गुप्तालाई पराजित गरेर नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले प्रतिनिधि सभा सदस्यमा जितेका थिए।
आफ्नो क्षेत्रमा मात्र नभई जिल्लामै प्रभावशाली मानिने गुप्ता र जिल्ला पार्टी नेतृत्वसँग पछिल्लो समय सम्बन्ध राम्रो नभएको एमालेका नेता कार्यकर्ताहरू बताउँछन्।
‘जिल्ला र केन्द्रमा पनि उहाँ अलि रेस्पोन्स खोज्ने मान्छे हो। कतैबाट पनि रेस्पोन्स नभएपछि झन्डै १ वर्षदेखि उहाँ जिल्लामा पार्टीका कार्यक्रममा देखिन छोड्नुभएको थियो,’ एमाले कपिलवस्तुका एक सचिवालय सदस्यले भने।
जिल्लाको पछिल्लो नेतृत्व आएपछि नै गुप्ता पार्टी छोड्ने भन्दै आफू निकटका नेता कार्यकर्ताहरूलाई भन्दै हिँडेको ती सदस्यले बताए।
‘उहाँले पार्टी छोड्दै हुनुहुन्छ भन्ने जिल्ला नेतृत्वलाई पहिलेदेखि नै थाहा थियो तर, पार्टीमा रोक्नेबारे कुनै पहल गरिएन,’ उनले भने।
पार्टी गतिविधिमा निष्क्रिय जस्तै बनेको कारण एमालेले आगामी निर्वाचनमा उनको नाम उम्मेदवारमा सिफारिस गरेको थिएन। गुप्ताले पनि एमालेबाट उम्मेदवार बन्न इच्छा देखाएका थिएनन्। पार्टी परित्याग गरेपछि भने तत्काल कहीँ जाने निर्णयमा नपुगिसकेको र आफू निकटका नेता कार्यकर्ताहरूसँग छलफल गरेर निर्णय गर्ने गुप्ताले बताए।
’म एक्लैले केही गर्न सक्दिन म एक्लै पनि छैन मेरो पछाडि साथी र शुभेच्छुकहरूको ठुलो पङ्क्ति छ, उहाँहरू सँग सल्लाह गरेर कहाँ जाने कसरी अगाडी बढ्ने भन्ने बारे निर्णय लिन्छु,’ गुप्ताले भने।