नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ३१ वर्षपछि आफू संसदीय राजनीतिमा प्रवेश गरेको जिल्ला फर्किएका छन्।
२०३३ सालदेखि सक्रिय राजनीतिमा लागेका पौडेलको संसदीय राजनीतिको यात्रा २०५१ सालदेखि सुरु भएको थियो। उनी २०५१ सालको मध्यावधि चुनावमा पाल्पा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
त्यसयता भने उनी लगातार पाँच वटा निर्वाचनमा रुपन्देहीबाट निर्वाचन लडेका थिए। ती मध्ये २०५६ सालको निर्वाचनमा तत्कालीन रुपन्देही क्षेत्र नं. ३ बाट ६०० मत अन्तरले पराजित भएका पौडेल त्यस यता २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट लगातार विजयी भए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भने उनी ३१ वर्ष अघि संसदीय राजनीतिको यात्रा सुरु गरेको पाल्पा फर्किएका छन्।
यसअघि पाल्पा क्षेत्र नं. २ बाट पौडेल सहित ठाकुर गैरे लगायत ५ जनाको नाम सिफारिस गरिएको थियो। रुपन्देही क्षेत्र नं. २ बाट भने पौडेलको एकल नाम सिफारिस गरिएको थियो। शनिबार बसेको एमाले सचिवालय बैठकले पौडेललाई रुपन्देही छोडेर पाल्पा क्षेत्र नं. २ बाटै उम्मेदवार बनाउने निर्णय गरेको छ।
यसअघिको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट एमाले नेता ठाकुर गैरे निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा २८ हजार ६ सय ४५ मत लिएर विजयी भएका गैरेलाई हटाएर एमालेले पार्टीका उपाध्यक्ष पौडेललाई पठाएको हो।
त्यसो त विष्णु पौडेललाई २०७० सालको निर्वाचनमा नै रुपन्देहीसँगै नवलपरासीबाट पनि उम्मेदवार बन्ने टुङ्गो लागेको थियो। तत्कालीन नेकपा माओवादीले रुपन्देहीबाट डा. बाबुराम भट्टराईलाई उम्मेदवार बनाएको थियो।
प्रधानमन्त्री समेत भई सकेका र हेभिवेट उम्मेदवारका रूपमा लिइएका भट्टराई रुपन्देहीबाट उम्मेदवार बनेपछि नवलपरासी जान खोजेको भन्दै रुपन्देहीका कार्यकर्ताले रोकेपछि पौडेल रुपन्देहीबाटै उम्मेदवार बनेर विजयी भएका थिए।
तिनै पौडेल यस पटक भने लगातार चार पटक जिताएर पठाएको रुपन्देहीलाई छोडेर पाल्पा जाने भएका छन्। २०७९ को निर्वाचनमा चुनाव जित्न हम्मे हम्मे परेको अवस्थालाई हेरेर पौडेलले यस पटक पाल्पा २ रोजेको हुनसक्ने एमालेका कार्यकर्ता समेत बताउँछन्।
२०७४ को चुनावमा ४४ हजार ९ मत प्राप्त गर्दै विजयी भएका पौडेलले २०७९ सालको निर्वाचनमा भने २७ हजार १६५ मत लिएर चुनाव जितेका थिए। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७ सय ८१ मत लिएका थिए।
२०७४ मा नेपाली कांग्रेसका युवराज गिरीसँग २२ हजार ६३ मतान्तरले विजयी भएका पौडेलले २०७९ मा भने गणेश पौडेललाई जम्मा १ हजार ६६ मतान्तर राखेका थिए।
अघिल्लो निर्वाचनको मत परिणाम र पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रमका कारण रुपन्देही असुरक्षित ठानेर नै पौडेलले पाल्पा रोजेको हुनसक्ने यहाँका मतदाताहरूको आकलन छ।
२०१६ मंसिर ५ गते स्याङ्जाको पुतलीबजारमा जन्मिएका पौडेलले आफ्नो राजनीतिक जीवनको अधिकांश समय भने पाल्पा र रुपन्देहीमा बिताए।
स्कुल पढ्दा पढ्दै भूमिगत राजनीतिमा होमिएर २०३३ सालदेखि राजनीतिमा सक्रिय बनेका पौडेलले २०३७ सालमा ३ वर्ष राजकाजको मुद्दा खेपेका थिए।
राजकाज मुद्दामा ३ हजार रुपैयाँ जरिवाना सहित भैरहवा जेल चलान भएका उनी मोदनाथ प्रश्रितहरू सहित डेढ महिनामै जेल ब्रेक गरेर बाहिर निस्किएका थिए।
पहिलो पटक २०५३ सालमा युवा, खेलकुद तथा संस्कृति मन्त्री बनेका पौडेल २०६५ सालमा जलस्रोत, २०६७ सालमा रक्षा मन्त्री बनेका थिए। त्यसयता २०७२, २०७७, २०७८, २०७९ र २०८१ गरी पाँच पटक अर्थमन्त्री बनिसकेका छन्।
आठौँ पटक मन्त्री र पाँचौँ पटक अर्थमन्त्री बनेका पौडेलले रुपन्देहीको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।